coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पप्पु कन्ट्रक्सनको रिट खारेज

निर्माण अलपत्र परेको रानीघाट पुल। तस्बिर सौजन्य : सडक डिभिजन कार्यालय सुर्खेत

गणेश विशु

वीरेन्द्रनगर – मूलपानी–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ। उच्च अदालत सुर्खेतका न्यायाधीश भानुभक्त (शर्मा) न्यौपाने र नृत्यनन्द पाण्डेको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो।

निर्माण कम्पनीको माग निरपेक्ष हकअधिकारको विषय नभएको र सडक डिभिजन कार्यालयले सम्झौता तोड्ने कुनै नियत नभएको आशयपत्र माग्दा पनि निर्माण कम्पनीले इन्कार गरेकाले उक्त रिट खारेज भएको उच्च अदालतका प्रवक्ता वीरेन्द्रबहादुर मल्लले जानकारी दिए। पप्पु/मल्ल जेभी निर्माण सेवाले सम्झौता हुँदा लिएको रकम फिर्ता नलिन र सम्झौता नतोड्न भन्दै २०७३ असार २५ गते उच्च अदालत सुर्खेतमा रिट दायर गरेको थियो। उक्त निर्माण सेवाले सम्झौता हुँदा लिएको एक करोड ७६ लाख ५० हजार रुपैयाँ सडक डिभिजन कार्यालयले गत साउन ७ गते फिर्ता लिएको थियो। निर्माण कम्पनीले हालसम्म तीन करोड रुपैयाँसम्मको काम भएको दाबी गरेको छ। नेपाल बंगलादेश बैंकमा भएको रकम सडक डिभिजन कार्यालयले फिर्ता लिएको थियो। सोहीअनुसार बैंकले उक्त निर्माण सेवा कम्पनीलाई भुक्तानी नदिएपछि पप्पु÷जेभी जेभी निर्माण सेवाले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको हो।

२०७२ पुस २८ गते सक्नेगरी २०६९ असार २९ गते पुल बनाउने सम्झौता भएको थियो। १४ करोड २९ लाख ८९ हजार रुपैयाँमा योजना निर्माणका लागि सम्झौता भएको सडक डिभिजन कार्यालयका सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए। उक्त योजनाको समयावधी थपका लागि निर्माण सेवाले सडक डिभिजन कार्यालयमा निवेदन दिएको थियो। सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई उक्त पुल थपिने समय एक वर्षमा निर्माण सक्न आधार विश्वस्त हुने आधार माग गर्दै २०७५ फागुन १५ र २९ गते (दुई पटक) पत्राचार गरेको थियो। तर निर्माण कम्पनीले उक्त पत्राचारको वास्ता नगरेको उच्च अदालतलाई जानकारी गराएको थियो। निर्माण कम्पनी पप्पु÷मल्ल जेभी निर्माण सेवाले दुई वर्षलाई म्याद थप्न भनेको थियो तर संशोधित खरिद ऐनअनुसार एक वर्ष मात्र म्याद थप्न मिल्छ।

निर्माण सेवा कम्पनीले सम्झौता भएकै बेला एक करोड ७६ लाख ५० हजार रुपैयाँ पेस्की लिएको थियो। तर काम हुन नसक्दा सडक डिभिजन कार्यालयले फिर्ता लिएको सडक डिभिजन कार्यालयका प्रमुख अधिकारीको भनाइ छ। उक्त रकम माग गर्दै पप्पु÷मल्ल जेभी निर्माण सेवा अदालतसम्म पुगेको थियो। ‘तीनवटा जग बसाल्नुपर्ने हो,’ उनले भने, ‘पुल निर्माणका लागि एउटा मात्र जग पूरा भएको छ।’ अरू दुई जग निर्माण नगरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। एउटा वेल फाउन्डेसन १६ मिटरको हुनुपर्ने भन्दै कार्यालय प्रमुख अधिकारीले एउटाको सात र अर्काको १३ मिटर मात्र जग निर्माण भएको बताए। उक्त पुलमा दुई स्पान हुनेछन्। पुलको कुल लम्बाइ एक सय २० मिटर रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यहाँको भौतिक प्रगति २५ प्रतिशत छ।

पुल निर्माण नहुँदा यहाँका स्थानीय लामो दूरीको यात्रा गर्न बाध्य छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र प्रदेश ५ को बर्दियालाई जोड्न निर्माण गरिएको उक्त पुल निर्माण अलपत्र परेको स्थानीयको भनाइ छ। जग निर्माण गर्दा कडा चट्टान भेटिएपछि निर्माण कम्पनीले काममा आनाकानी गरेको बताइएको छ।

प्रकाशित: २६ मंसिर २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App