८ वैशाख २०८१ शनिबार
राजनीति

गाउँ कार्यपालिका अध्यक्षको मनोमानीविरुद्ध जनप्रतिनिधि

सुशासन (पारदर्शिता) का लागि एक महिनादेखि चरणबद्ध आन्दोलनमा उत्रिएका नरहा गाउँपालिकाका जनप्रतिनिधि र पदाधिकारीहरू। तस्बिर : मिथिलेश/नागरिक

सिरहा – दैलोमै सिंहदरबार आएपछि विकासले गति लिने आशा जनताले राखेका थिए। तर विकास र सुशासनका लागि जनता मात्र होइन, जनप्रतिनिधिले नै संघर्ष गर्नुपर्ने स्थिति आएको छ। सुशासनको वकालत गर्ने अधिकांश स्थानीय तहमा सूचना अधिकारी नै छैनन्। स्थानीय तहको आम्दानी र खर्चबारे जनता त परको कुरा जनप्रतिनिधि स्वयं नै बेखबर हुन थालेपछि स्थानीय सरकारप्रति घृणा र आक्रोश बढ्न थालेको छ।

नरहा गाउँपालिका यसैको एउटा उदाहरण बनेको छ। उक्त गाउँ कार्यपालिकामा १३ सदस्य छन्। तीमध्ये वडाध्यक्षसहित पाँचजना सदस्य गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। २९ गाउँसभा सदस्यमध्ये एकको मृत्यु भइसकेको छ। २८ मध्ये १७ जना परदर्शिताको माग राखी एक महिनादेखि चरणबद्ध आन्दोलनमा छन्। तर गाउँपालिका अध्यक्षले टसमससम्म गरेका छैनन्। वडा २ का अध्यक्ष ज्ञानदेव सिंहसहितका जनप्रतिनिधिले चरणबद्ध घेराउ र धर्ना कार्यक्रम गर्दै आएका हुन्। कार्यपालिका सदस्य संगीताकुमारी यादवको संयोजकत्वमा गत कात्तिक २७ गतेबाट पाँचवटै वडामा भण्डाफोरसहितको विरोध ¥याली भएको थियो। दोस्रो चरणअन्तर्गत आइतबारबाट गाउँकार्यपालिकामा घेराउ र धर्ना सुरु भएको संगयोजक यादवले बताइन्। ‘हाम्रो मुख्य माग सुशासन बहाल होस् भन्ने हो,’ कार्यपालिका सदस्य यादवले भनिन्, ‘गाउँपालिकाले हालसम्मको आम्दानी खर्चको पूर्ण विवरण सार्वजनिक गरोस्, गाउँपालिका प्रमुखको मनोमानी हटोस्।’ आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्म गाउँपालिकाले कार्यसम्पादन गरेका योजनाहरूको आयव्यय सार्वजनिक गर्न माग गरे पनि सुनुवाइ नगरेकाले विरोधमा उत्रिन बाध्य भएको वडाध्यक्ष सिंहले बताए ।

स्थानीय सरकार प्रमुखको मनोमानीविरुद्ध जनप्रतिनिधिको आक्रोश आन्दोलनमा मात्रै सीमित छैन, आक्रोश पनि देखिन थालेको छ। वडास्तरीय बजेटमा मनोमानी नचलेपछि लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्षले आइतबार विशेष गाउँसभा डाके। जसमा वडा ४, ५ र ६ का वडाध्यक्षसहित नेकपा र नेपाली कांगे्रसका नेता–कार्यकर्ता विरोधमा उत्रिए। विरोधका क्रममा दुईतर्फी झडप हुँदा ६ का अध्यक्ष राजेश्वर यादवको टाउकोसमेत फुट्यो। गाउँ कार्यपालिका भवनका झ्यालका सिसा फुटे। प्रहरीले अवस्था नियन्त्रणमा लिन चार सेल अश्रुग्याँस प्रहार गर्नुप¥यो। विशेष गाउँसभाबारे वडाध्यक्षहरू नै बेखबर थिए। वडा ४ का अध्यक्ष विद्यानन्द साहसहित तीन वडाध्यक्षले सोमबार मात्र हुलाकबाट पठाएको विशेष गाउँसभाको निमन्त्रणापत्र औपचारिक रूपमा प्राप्त गरे।

विशेष गाउँसभाको विपक्षमा उभिएका वडा ४, ५ र ६ का वडाध्यक्षहरु क्रमशः विद्यानन्द साह, देवकुमार यादव र राजेश्वर यादवसहित १७ जना गाउँसभा सदस्य सोही दिन विशेष गाउँसभा स्थगित गर्न गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराएका छन्। असार २५ गते सम्पन्न गाउँसभाबाट पारित नीति तथा कार्यक्रम लागू गर्नगराउनसमेत उक्त निवेदनमा उल्लेख छ। वडाबाट पारित भइआएको नीति तथा कार्यक्रमलाई नकाट्नसमेत निवेदनमा उल्लेख छ। निवेदन दर्ता गराउन गएका वडा ५ का अध्यक्ष देवकुमार यादवका अनुसार १७ जना गाउँसभा सदस्यको हस्ताक्षरसहित निवेदन गर्दा गराइएको हो। ३३ सदस्यीय गाउँसभामा १७ सदस्यसहितको निवेदन विशेष गाउँसभाको विपक्षमा दर्ता भएको छ।

यस गाउँपालिकामा वडा ४ का अध्यक्षले वडास्तरबाटै छनोट गरेर ल्याएको दलित बस्तीमा पाहुनाघर (सामुदायिक भवन) निर्माणको योजना गाउँपालिका अध्यक्ष रामबलव साहले हटाएपछि विवाद बढेको हो। गाउँपालिका अध्यक्ष साहले पाहुनाघरको योजना काटेर त्यो रकम (१५ लाख) विद्यालयमा हाल्न भनेपछि विवाद बल्झियो। गाउँसभा असार २५ गते सम्पन्न भए पनि वडाहरूको योजना बाँडफाँड भएको थिएन। जुन योजना मंसिरमा गाउँपालिमा छलफलका लागि पेस भयो। सोही क्रममा विवाद बल्झेपछि विशेष गाउँसभाको अवस्था आएको हो।

प्रकाशित: २६ मंसिर २०७६ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App