coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

छबिमा आयाम थप्दै विनोद

काठमाडौं- विनोद दासले डेढ वर्षअघि कीर्तिपुरमा मैदानमा करिब १२ हजार दर्शकसाक्षी राखेर ब्याट र बल बिसाएका थिए। ब्याट र बल त बिसाए तर क्रिकेटबाट टाढिने उनका लागि सोच्न समेत नसक्ने कुरा थियो। क्रिकेट उनकालागि एउटा खेलमात्र सीमित थिएन, नसा बनिसकेको थियो।

विनोदको खेलजीवनले १८ औं वसन्त पार गरिसक्दा बाटोमा भेटिएका सहयात्रीहरू भने अलप भइसकेका छन्। तर, विनोदलाई क्रिकेटको लतले पथबाट बिचलित हुन दिएन। खेलाडीका रूपमा विनोदले हातमा बल बोकेर रनअप लिएको त्यो अन्तिम दिन थियो। कीर्तिपुरको मैदान, जुन हरेक नेपाली क्रिकेटरका लागि तीर्थस्थलभन्दा बढी महत्व राख्छ, विनोदले त्यहीं पहिलो पटक आफ्ना पितालाई साक्षी राखेर क्रिकेटसँगको नाता जीवनभर नतोड्ने वाचा गरेका थिए।

नेपाल र श्रीलंकाबीचको खेल यहाँ लाइभ भिडियो हेर्न सक्नुहुन्छ

कीर्तिपुर मैदानका घाँससँग विनोद परिचित छ। पिचको धुलोका कणसँग विनोदकोआत्मीयता पोखिएको छ। तर उनका माता–पिता त्यो दिन पहिलोपटक छोराले कैयन कीर्ति राखेको 'तीर्थ' पुगेका थिए। जहाँ विनोदले पूरा परिवारलाई अगाडि राखेर भनेका थिए, 'खेलाडी जीवनमा पनि म सदैव अग्रपंक्तिमा रहेँ । प्रशिक्षणको कोर्स पूरा गरेको छु। त्यसमा पनि अग्रस्थानमै रहेँ। म व्यवस्थापनको विद्यार्थी हुँ। पढाइमा पनि नतिजा राम्रो छ। मेरो अनुभवलाई सराकारले कतै महसुस गरे नयाँ भूमिकामा क्रिकेटमै रहनेछु। त्यहाँ पनि अग्रपंक्तिमै रहन्छु।क्रिकेटबाट टाढा हुने मैले सोचेको छैन।'

२०७१ चैत २८ को त्यो अवस्थाबाट नेपाली क्रिकेटमा धेरै परिवर्तन भइसकेको छ। नेपाल क्रिकेट संघ (क्यान) को अवस्था कहाँबाट कहाँ पुगेको छ। त्यसको भिन्नै अध्याय छ। तर विनोदले आफूलाई नयाँ भूमिकामा उभ्याएका छन्।

बिहीबारबाट श्रीलंकामा हुने एसिसी यु–१९ एसिया कपमा उनी मुख्य प्रशिक्षकको भूमिका लिएर पवेलियनमा हुनेछन्। हुन त उनले युवा टोली हुँदै लामो सयम राष्ट्रिय टोलीलाई नेतृत्व प्रदान गरिसकेका छन्। त्यसैले क्रिकेटमा हुने कुनै पनि जिम्मेवारी उनका लागि नौलो नहुन सक्छ। तर, पहिलोपटक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका विनोदसामु बोलेका कुरा व्यवहारमा उतार्ने अवसर र चुनौती दुवै छ।

‘कप्तान हँुदै बलिङ सहायक प्रशिक्षकका रूपमा काम गरेकाले मलाई नौलो लागको छैन,’ विनोदले भने, ‘बरु थप जिम्मेवार भने बनाएको छ। पहिले मैले बलिङको मात्र योजना बनाउनुपर्थ्यो। अहिले सम्पूर्ण पाटोमाध्यान दिनुपर्छ। अब काम गरेर आफूलाई प्रमाणित गर्ने समय आएको छ। मूल्यांकन गर्ने उपाधिले नै हो तर म खेलाडीमा गुणात्मक परिवर्तन आए सन्तुष्ट हुनेछु।’

सबै परीक्षामा अब्बल विनोदले नयाँ करियरको परीक्षामा आफ्नै गुरुलाई पनि परास्त गर्नुपर्नेछ क्रिकेट मैदानमा। शुक्रबार नेपालले आयोजक श्रीलंकाविरुद्धको खेलबाट प्रतियोगिताको थाल्नेछ। विनोदको परीक्षा त्यहींबाट सुरु हुनेछ।

श्रीलंका टेस्ट राष्ट्र हो।उसलाई घरेलु मैदानको फाइदा रहनेछ। त्यसो त श्रीलंकाको टोलीलाई रोय डायसले प्रशिक्षण दिइरहेका छन्। डायस तिनै व्यक्ति हुन्, जसले नेपाली क्रिकेटको जगलाई माथि उकासेका थिए। उनै डायसको छत्रछायाँमा विनोदको प्रतिभा उजागर भएको थियो। तर विनोदले शुक्रबार हुने श्रीलंकासँगको भेटलाई मात्र अर्को एउटा खेलका रूपमा लिएका छन्।

‘धेरै पछि उहाँ (डायस) लाई भेट्दै छु। खुसी लागेको छ,’ विनोदले भने, ‘मैले यसलाई अर्को एउटा खेलको रूपमा मात्र लिएको छु। त्यो भन्दा मैले केही सोचिरहेको छैन। हो, मैले उहाँको प्रशिक्षणमा धेरै समय बिताएँ। तर म जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध छु।’

जनवरीमा बंगलादेशको ढाकामा भएको यु–१९ विश्वकपमा श्रीलंकाले चौथो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको थियो। एसिया कपमा लागि पनि श्रीलंकाको टोलीमा एकजना मात्र नयाँ सदस्य छन्, अफ स्पिनर सलिन्दु एस्मान।

नेपाली टोलीमा भने कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सन्दीप सुनार बाहेक सबै नयाँ अनुहार छन्। तथापि नयाँ भए पनि खेलाडीहरू आफ्नो पोजिसनमा खेल्न सक्षम रहेका विनोदको भनाइ छ। श्रीलंका जानुअघि उनले नेपालले दक्षिण अफ्रिका, पाकिस्तान लगायतको टोलीलाई पराजित गरेको उदाहरण दिँदै भारत, श्रीलंकासँग डराउनु नपर्ने बताएका थिए।

‘सबै खेलाडीको रोल उत्तिकै छ। सबैले आफ्नो पोजिसनमा राम्रो गरेका छन्,’ विनोदले भने, ‘बलिङमा नेपाल सधँै राम्रो हो। आसिफ र अनिलको आगमनले ब्याटिङ अझ राम्रो भएको छ।’

ओपनिङमा पनि थुप्रै विकल्प रहेको उनले बताए। आसिफ शेख, सन्दीप, रवीन्द्रजंग शाही, आदिल खान र  अविनाश कर्णले जुनसुकै पोजिसनबाट खेल्न सक्छन्। कप्तान समेत रहेकाले बलिङमा सन्दीपबाट सबैको आशा छ। सिनियर टोलीको समेत अनुभव बटुलेका सन्दीपले यु–१९ विश्वकपमा ह्याटि्रक सहित १४ विकेट लिएका थिए। भारतीय उपमहाद्वीपमा विकेटको अवस्थामा धेरै भिन्नता नहुने भएकाले श्रीलंकाका ब्याट्सम्यानलाई रोक्नेका लागि सन्दीपको भूमिका मुख्य रहन्छ।

श्रीलंकाका कप्तान चरिथ असलंकाले विश्वकपमा ४६ को औसतमा २ सय ७६ रन बनाएका छन्। अभिष्का फर्नान्डो, शम्मु असन र कमिन्दु मेन्डिस पनि लयमा छन्।

प्रकाशित: ३० मंसिर २०७३ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App