८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ सभामुखका लागि अडकलबाजी सुरू

काठमाडौं – संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ। पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन्। सभामुखको उमेदवार कसलाई बनाउने विषयमा पनि सत्तापक्ष र प्रतिपक्षपार्टीमा अनौपचारिक छलफल सुरु भएको छ। नेकपाले सभामुख आफूले लिने भए पनि पार्टीबाट कसलाई उठाउने भन्ने औपचारिक निर्णय गरेको छैन। पार्टी स्रोतले भन्यो, ‘दुई दिनपछि केही हुनसक्छ।’ प्रमुख कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने कि नदिने निर्णय गर्नेछ। सभामुख र उपसभामुखका सम्भावित उमेदवार शक्ति केन्द्रमा धाउन थालेका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सक्रिय देखिएका छन् तर पनि उनले उमेदवार हुने नहुने विषयमा केही बताउँन चाहदैनन्।

नेकपाका देव गुरुङ, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भूषाल तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेको पनि सक्रियता बढेको स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेसँग सरकारको तर्फबाट कुनै मन्त्री भेट गर्न आएका छैनन्। उनी यतिबेला पर्ख र हेरको अवस्थामा छिन्। उनले आफूलाई पार्टी नेतृत्वले अहिलेसम्म कुनै छलफल नगरेको दुखेसो पोख्न थालेकी छन्। पार्टीले राजिनामा दिन भनेमा उनले राजिनामा दिने मनस्थिती बनाएकी छन् तर आफ्नो अपमान हुने गरी पद छोडन उनले चाहेकी छैनन्। उनले आफैलाई सभामुख बनाउन आफ्ना निकट नेतासँग छलफल गरेकी छन्। तर, सभामुख आफूलाई बनाउछन् भन्ने विश्वासमा भने उनी देखिएकी छैनन्। उनले पाए सभामुख बन्ने नपाए संसद्को पहिलो बैठक आफैंले सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहना गरेकी छन्। सभामुखको आफंै उम्मेदवार बन्ने हो भने पनि उनले उपसभामुखबाट राजीनमा दिनुपर्ने हुन्छ। उपसभामुखको राजिनामा विना नेकपाले सभामुखको उम्मेदवारी दिन पाउने छैन। संविधानको धारा ९१ (२) ले सभामुख पुरुष भए उपसभामुख महिला, सभामुख जुन पार्टीको छ उपसभामुख फरक दलको हुनुपर्छ भन्ने व्यवस्था गरेको छ।

उपसभामुख तुम्बाहाम्फेले पहिलो बैठक संचालन गर्ने हो भने उनको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु पर्ने हुन्छ। संसद्को इतिहासमा कार्यव्यवस्थाको अध्यक्षता उपसभामुखले गरेको रेकर्ड छैन। ‘कि सभामुखले वा ज्येष्ठ सदस्यले कार्यव्यवस्थाको अध्यक्षता गरेका छन्,’ स्रोतले भन्यो। पुस ४ गते संसद् बैठक बस्ने भएपछि पुस ३ गते वा ४ गते बिहान कार्यसूची तय गर्न कार्यव्यवस्था बोलाउनुपर्ने हुन्छ। यसमा भएको सहमतिबमोजिम बैठकको कार्यसूची तय हुनेछ। मुख्यगरी सभामुख नभएको अवस्थामा सभाको अध्यक्षता गरेका व्यक्तिले पहिलो बैठकमै सभामुखको निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्नुपर्ने हुन्छ र अर्कोदिन निर्वाचन अधिकृतले निर्वाचनका कार्यक्रम प्रकाशित गर्ने हुन्छ। यस विषयमा छलफल सुरु नभएपछि संसद् सचिवालयले भने कार्यसुचीको प्रारम्भिक खाका तयार गरेको छैन।

यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि गत असोजदेखि संसद्मा सभामुख पद खाली छ। संसद् अधिवेशन नभएकाले सभामुख चयन हुन सकेको छैन।

प्रकाशित: २६ मंसिर २०७६ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App