७ वैशाख २०८१ शुक्रबार
समाज

३५ प्रतिशत विद्यालय भवन अधुरै

धादिङ – भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरूको पुनर्निर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। विद्यालय पुनर्निर्माण नहुँदा अझै अस्थायी टहरामा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ। २०७२ वैशाख १२ गतेको भूकम्पले धादिङ जिल्लामा पाँच सय ८१ विद्यालयका चार हजार चार सय ३८ कक्षाकोठामा क्षति पुगेको छ। क्षति पुगेकामध्ये ६५ प्रतिशत भवन निर्माण भएका छन्।

भूकम्प प्रभावित जिल्लाहरूमा निजी आवाससँगै विद्यालयको पुनःनिर्माण पनि भइरहेको छ। त्यही क्रममा धादिङमा दुई सय ४६ विद्यालयका दुई हजार चार सय ५० कक्षाकोठा निर्माण भइसकेका छन्। निर्माण सम्पन्न विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको छ। तर जिल्लामा अझै ३५ प्रतिशत विद्यालयको पुनःनिर्माण बाँकी छ।

भत्किएका विद्यालय निर्माण कार्य तीन वर्षभित्रमा सक्ने शिक्षा मन्त्रालयको योजना थियो। तर निर्माण सम्पन्न गरिने समय सीमाभन्दा थप डेढ वर्ष बितिसक्दा पनि विद्यालय भवन पुनःनिर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। अहिले दुई सय ७२ विद्यालयका एक हजार दुई सय ५० वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा छन्।

निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमी जस्ता कारणले विद्यालय भवन पुनःनिर्माणमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङका इन्जिनियर निर्मल बोगटीले बताए। ‘अबको डेढ वर्षमा सबै विद्यालयको भवन निर्माण सम्पन्न गरिसक्नेगरी काम भइरहेको छ,’ इन्जिनियर बोगटीले भने, ‘क्षतिग्रस्त सबै विद्यालयमा पुनःनिर्माणको काम भइरहेको छ, कुनै विद्यालयमा कक्षाकोठा थोरै भएका कारण थप भवन निर्माण सुरु गरिएको छ, त्यसले गर्दा पनि केही ढिलाइ भएको हो।’

२०७२ वैशाख १२ गतेको भूकम्पले धादिङ जिल्लामा पाँच सय ८१ विद्यालयका चार हजार चार सय ३८ कक्षाकोठामा क्षति पुगेको छ। क्षति पुगेकामध्ये ६५ प्रतिशत भवन निर्माण भएका छन्।

निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ। विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ। ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयहरूको संरचना निर्माण गरिएको छ। नयाँ भवनले शिक्षक तथा विद्यार्थी पनि फुरुंग छन् भने पठनपाठनमा पनि सहज भएको छ। शिक्षकहरूका अनुसार भवन नहुँदा धेरै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने अवस्था थियो, अहिले त्यो बाध्यता हटेको छ।

जिल्ला कार्यान्वयन इकाई धादिङका अनुसार संघसंस्था, विद्यालय व्यवस्थापन समिति र ठेक्का गरी तीन किसिमले विद्यालय निर्माण भइरहेको छ। संघसंस्थामार्फत ६३ वटा विद्यालयका नौ सय आठ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने दुई सय २८ कक्षाकोठा निर्माणाधीन छन्। त्यस्तै विद्यालय व्यवस्थापन समितिमार्फत एक सय ७६ विद्यालयका एक हजार दुई सय ६१ कक्षाकोठ निर्माण सम्पन्न भइसकेको छ भने एक सय ९४ विद्यालयमा चार सय ६४ कक्षाकोठा निर्माणाधीन छन्। त्यस्तै ठेक्कामार्फत सातवटा विद्यालयमा ६१ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने ५५ विद्यालयमा चार सय ५८ कक्षाकोठा निर्माणाधीन छन्।

केन्द्रीय आयोजनाअन्तर्गत जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोग, एसियाली विकास बैंक (एडिबी) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा धादिङका विद्यालयहरू पुनःनिर्माणको क्रममा छन्। एसियाली विकास बैंकले बनाउने ६ वटा विद्यालय भवनमध्ये सदरमुकामको नीलकण्ठ मावि नमुना विद्यालयको रूपमा निर्माण भइसकेको छ भने अन्य ठेक्का प्रक्रियामा छन्। त्यस्तै जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुने ४९ विद्यालयमध्ये ६ वटा मात्र निर्माण सम्पन्न भएको छ भने भारत सरकारको अनुदान तथा ऋण सहयोगमा निर्माण हुने १० वटा विद्यालय पनि ठेक्का प्रक्रियामा छन्।

भूकम्पले क्षतिग्रस्त विद्यालयमा त्रिपाल र स्थानीय स्रोत–साधनबाट अस्थायी टहरा बनाई, पढाइ सुरु गरेका विद्यालयहरूमा विभिन्न संघसंस्था तथा विद्यालय आफैंले पनि विद्यालय भवन निर्माण गरेका छन्। तर कतिपय विद्यालय निर्माणमा ढिलाइ भएका कारण विद्यार्थीहरू अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन्। पुनःनिर्माण कार्य प्रभावकारी नहुँदा विद्यार्थीहरू हिउँदमा चिसो र बर्खामा घामपानीको कष्टप्रद अवस्थामा पढ्न बाध्य छन्।

हाल निर्माण गरिँदै गरेका विद्यालयको काम छिटो र गुणस्तरीय बनाउन बेलाबेलामा अनुगमनको काम गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) धादिङका प्रमुख युवराज बगालेले बताए। ‘विद्यालय पुनःनिर्माणको काम सुरु भएका ठाँउमा सक्दो छिटो काम सक्न आग्रह गरेका छौं,’ उनले भने, ‘बेलाबेलामा अनुगमन पनि गरिरहेका छौं।’

प्रकाशित: २६ मंसिर २०७६ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App