८ वैशाख २०८१ शनिबार
राजनीति

भूकम्पपीडितको गुनासो सुन्न समिति

काठमाडौं– भूकम्पपीडितको पुनर्निर्माणसम्बन्धी गुनासो सुन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच तहको समिति रहनेगरी गुनासो सुनुवाइ कार्यविधि पारित गरेको छ।
प्राधिकरणले भूकम्पका कारण क्षति भएका संरचना निर्माणमा ढिलाइ, त्यहाँभित्रका पारदर्शिताका समस्या, बैंक खाता खोल्नेदेखि राहत वितरण गर्ने क्रममा देखिएका गुनासा सुनुवाइ गर्न वडा, गाविस, जिल्ला, उपक्षेत्रीय कार्यालय र केन्द्रीय गुनासो सुनुवाइ समिति रहनेगरी कार्यविधि पारित गरेको हो।
प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाका अनुसार गुनासो सुनुवाइका लागि गाविसमा गाविस अध्यक्ष र नगरपालिकामा नगरपालिका प्रमुख वा निजको जिम्मेवारी तोकिएको व्यक्तिको संयोजकत्वमा गुनासो व्यवस्थापन समिति हुनेछ। जसअनुसार गाविस, नगरपालिका र वडास्तरबाट आएका गुनासोको फछ्र्योट गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहनेगरी जिल्ला गुनासो सुनुवाइ समिति रहने व्यवस्था छ। जिल्ला गुनासो सुनुवाइ समितिमा स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख र जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख सदस्य रहने जनाइएको छ । जिल्ला समन्वय उपसमितिको सदस्य सचिव गुनासो सुनुवाइ समितिको पनि  सदस्य सचिव रहने व्यवस्था छ।
प्राधिकरण प्रवक्ता थपलियाले जिल्लास्तरीय गुनासो सुनुवाइ समिति तथा उपक्षेत्रीय कार्यालयबाट राय प्रतिवेदनसहित प्राधिकरणमा आएका र दर्ता भएका गुनासो सुनुवाइ गर्न कार्यकारी समितिले तोकेको सदस्य संयोजक रहनेगरी केन्द्रीय गुनासो सुनुवाइ समितिको पनि व्यवस्था गरिएको छ । कार्यविधिअनुसार भूकम्पपीडितले आफ्नो सर्वेक्षण छुटेको, सर्वेक्षण गरिएको विवरण त्रुटिपूर्ण रहेको, एकभन्दा बढी व्यक्ति घरधनी रहेको, आवश्यक कागजात पेस गर्न नसकिएको, भत्केको घरजग्गा आफ्नो नाममा नरहेको, बस्ती स्थानान्तरण वा पुर्नस्थापना गर्नेलगायत गुनासा सुनुवाइ समितिमा दर्ता गराउन सक्नेछन्।
त्यसैगरी बैंक खाता खोल्न समस्या भएको, खातामा रकम जम्मा नभएको, घरको जाँचपासमा समस्या भएको लगायत गुनासो समेत पीडितले दर्ता गराउन सक्नेछन् । गुनासो दर्ताका लागि आफू बसिरहेको नगरपालिका, वडा कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय र प्राधिकरणलाई तोकिएको थपलियाले बताए। गुनासो दर्ता भएपछि सम्बन्धित समितिमार्फत गुनासो सुनुवाइ अघि बढाइने थपलियाले जानकारी दिए।

 

प्रकाशित: १७ असार २०७३ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App