काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चार वर्षमा प्रदान गर्दै आएको पृथ्वी प्रज्ञा पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ। सोमबार राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चार लाख रूपैयाँसहितको पृथ्वी प्रज्ञा पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान गरेकी थिइन्।
‘साहित्य, कला र संस्कृति देशको मुख्य हिस्सा हुन्। भौतिक संरचनासँगै देशका लागि कला साहित्यको उत्तिकै खाँचो हुन्छ,’ सम्मानित शताब्दी पुरुष जोशीले भने। कार्यक्रममा एक लाख रूपैयाँसहितको नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरिएको थियो। त्यस्तै एक लाख रूपैयाँको नेपाल प्रज्ञा भाषा पुरस्कार टंकप्रसाद न्यौपानेलाई प्रदान गरियो।
कार्यक्रममा नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषासाहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरिएको थियो।
राष्ट्रपति भण्डारीले कार्यक्रममा राष्ट्रिय कविता महोत्सव २०७६ का विजयी धादिङका हेम प्रभासलाई ३५ हजार रूपैयाँ, डोटीका सुभाषचन्द्र भण्डारीलाई २५ हजार रूपैयाँ, लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौंका प्रकाश बस्नेतलाई २० हजार रूपैयाँ प्रदान गरेकी थिइन्।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वाङ्मय क्षेत्रको विकासका लागि सम्मानले सहयोग गर्ने बताइन्। ‘राजनीतिक परिवर्तनलाई कला र साहित्यले ऊर्जा प्रदान गर्नुपर्छ। प्राचीन संस्कृति बोकेको मुलुकमा सुदृढ सहिष्णुता छ। त्यसलाई कायम राख्न साहित्य क्षेत्रले योगदान गर्नुपर्छ,’ उनले भनिन्। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वीय सभ्यताले एकताको सन्देश दिएकाले अनेकौं अप्ठ्याराबाट मुलुक जोगिँदै आएको बताए।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई संग्रहालयका रूपमा स्थापित गर्ने अभियान सुरु हुने जानकारी दिए।
प्रकाशित: २५ मंसिर २०७६ ०४:०५ बुधबार