८ वैशाख २०८१ शनिबार
समाज

धुलिखेल अस्पताल २४औं वर्षमा

बनेपा – धुलिखेल अस्पताल मंगलबारबाट २४औं वर्षमा प्रवेश गरेको छ। सन् १९९६ मा धुलिखेल स्वास्थ्य सेवा संघ, धुलिखेल नगरपालिका र नेपाली मेड अस्ट्रियाको सहयोगमा अस्पतालको स्थापना भएको हो। ‘गुणस्तरीय स्वास्थ्य सेवा सबैका लागि’ भन्ने मूल मन्त्रसहित डा. रामकण्ठ माकजू श्रेष्ठको प्रयासमा स्थापना भएको ५० शड्ढयाको जनरल अस्पताल नै आजको विशाल धुलिखेल अस्पताल रहेको धुलिखेल नगरपालिकाका पूर्वमेयर बेलप्रसाद श्रेष्ठले बताए। ‘धुलिखेल खानेपानीका लागि पाइप लिन जर्मनी जाने क्रममा डा. रामकण्ठलाई नेपाल फर्कन अनुरोध गरेको थिएँ,’ उनले भने, ‘त्यहाँको सुविधा सम्पन्न अस्पताल छाडेर धुलिखेलमा अस्पताल खोल्ने डा. राम आज सबैको प्रिय बन्नुभएको छ।’

धुलिखेल अस्पतालले यतिखेर मुलुकका २१ स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र (आउटरिच सेन्टर) हरूमार्फत स्थानीय समुदायलाई सबै खालको स्वास्थ्य सेवा दिँदै आएको अस्पताल निर्देशक डा. रमेश माकजूले जानकारी दिए। ‘आउटरिच सेन्टरहरूमा मेडिकल अफिसर, नर्स, अल्ट्रासाउन्ड, फिजियोथेरापीलगायत सेवाहरू दिइरहेका छौं। ६ वटामा फिजियोथेरापी र केहीमा डेन्टलका सेवाहरू दिन थालेका छौं,’ उनले भने, ‘यहाँका नागरिकहरूलाई आयआर्जनमा सघाउन माइक्रो फाइनान्स पनि सञ्चालन गरेका छौं।’

सन् २००३ मा स्वास्थ्य विज्ञान पढाइका लागि काठमाडौं विश्वविद्यालयसँग ५० वर्षका निम्ति सम्झौता गरेपछि यो अस्पताल धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय अस्पतालका रूपमा परिचित हुन थालेको हो। हाल पौने चार सय शड्ढया रहेको धुलिखेल अस्पतालले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप, भक्तपुरलगायत जिल्लाका करिब ३७ लाख नागरिकलाई स्वास्थ्य सेवा दिइसकेको अस्पतालको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २५ मंसिर २०७६ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App