coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चार महिनामा साढे ३४ लाख नाफा

रसुवा- रसुवाको स्याफ्रुमा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चार महिनामा साढे ३४ लाख नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा शाखाले ३४ लाख ५७ हजार नाफा आर्जन गरेको हो ।

शाखाले सोमबार धुन्चेमा आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमको अवसरमा आम्दानी बढेको तथ्य सार्वजनिक गरेको हो । संस्थाले ७५ लाख १० हजार आम्दानी गरेकोमा ४० लाख ५३ हजार खर्च भएको छ । शाखाले चार महिनामै ६ करोड ३८ लाख ७५ हजार लगानी गरिसकेको छ । संस्थाले दिएको जानकारी अनुसार आठ करोड ७६ लाख ३० हजार साँवा बाँकी छ भने पाँच करोड ५९ लाख ९७ हजार बचत छ ।

शाखामा एक हजार चार सय २५ सदस्य पुगेका छन् । जसमा आठ सय ५९ ऋणी छन् । २०६७ पुस २२ गते स्थापना भएको शाखाले गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ । गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ पनि आगामी आवदेखि कार्यक्रम विस्तार गर्ने योजना रहेको शाखा प्रबन्धक लोकनाथ पौडेलले बताए । त्यहाँ हालसम्म वित्तीय पहुँच पुग्न सकेको छैन ।

कार्यक्रमका अवसरमा तीनवटा केन्द्रलाई सम्मान गरिएको छ । जसमा थाम्बुचेत महिला समूह पहिलो, गोसाइँकुण्ड महिला समूह दोस्रो र लिङलिङ महिला समूह तेस्रो भएका छन् । त्यसैगरी संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बढी अंक ल्याएर पास हुने नितेश घलेलाई सम्मान गरेको छ । संस्थाले आफ्ना सदस्यका छोराछोरीमध्येबाट एसइईमा राम्रो अंक ल्याउनेलाई सम्मान गर्दै आएको छ ।

यो वित्तीय संस्थाको अधिकृत पुँजी १ अर्ब र जारी तथा चुक्ता पुँजी ७७ करोड ३४ लाख रहेको छ ।

वित्तीय संस्थाले लघुवित्त सेवा विस्तार गर्ने क्रममा ७२ जिल्लामा १ सय २० वटा शाखा स्थापना गरिसकेको छ । शाखा मार्फत २ लाख ४ हजार ८ सय ७४ सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको प्रदेश प्रतिनिधि मधुराम खत्रीले बताए ।

उनका अनुसार काठमाडौं, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा शाखा विस्तार गर्न बाँकी छ । चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको संस्थाले भक्तपुरमा सम्पर्क कार्यालय स्थापना गर्नुका साथै ७ वटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरेको छ ।

१२ अर्ब २६ करोड १९ लाख साँवा बाँकी रहेको संस्थाले जनाएको छ । संस्थामा सदस्यहरूले ४ अर्ब २२ करोड ३१ लाख भन्दा बढी बचत गरेका छन् । संस्थाले ७३ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने, सदस्य संख्या वृद्धि गर्ने, शाखा विस्तार गर्ने लगायतका योजना अघि सारेको छ ।

 

प्रकाशित: २५ मंसिर २०७६ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App