coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे १६ अर्बको हकप्रद सेयर थपिँदै

काठमाडौं- जलविद्युत्, बिमा र उत्पादनमुलक लगायत नौवटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी कम्पनीले आफ्नो पुँजी बढाउने उद्देश्यले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

बोर्डका अनुसार जलविद्युत्, बिमा र उत्पादनमूलक लगायत विभिन्न नौ कम्पनीले करिब १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको १६ करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि निवदेन दिएका छन् ।

हाल बोर्डबाट हकप्रद सेयर निष्कासनका लागि निवदेन दिएका कम्पनीमा सबैभन्दा बढी हकप्रद सेयर हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को रहेको छ । जलविद्युत् क्षेत्रमा लगानी बढाउने उद्देश्यले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, एचआइडिसिएलपछि अपी पावर कम्पनीले ठूलो मात्रामा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जलविद्युत् आयोजनाका लागि लगानी बढाउन दुई अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको दुई करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

धितोपत्र बोर्डमा निवेदन दिएको लामो समय बितिसक्दा पनि झन्झटिलो प्रक्रियाका कारण अपी पावरले हालसम्म अनुमति पाएको छैन । जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

बोर्डका अनुसार श्रीराम सुगर मिल्सले ८९ करोड तीन लाख ९४ हजार रुपैयाँ बराबरको ८९ लाख तीन हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि निवदेन दिएका छ । उद्योगको क्षमता विस्तारका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णयमा पुगेको सुगर मिल्सले जनाएको छ । त्यसैगरी, नाग्दी गु्रप पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनीले पनि हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

त्यसैगरी, जीवन र निर्जीवन बिमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । बिमा कम्पनीको नियामक निकाय बिमा समितिले जीवन बिमा कम्पनीको हकमा दुई अर्ब र निर्जीवन बिमा कम्पनीलाई एक अर्ब रुपैयाँ पुँजी पु¥याउन निर्देशन दिएपछि यी कम्पनीले पनि हकप्रद सेयर निष्कासन गरी चुक्ता पुँजी बढाउने भएका हुन् ।

बोर्डका अनुसार केही जीवन तथा निर्जीवन बिमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न बोनस, नगद सेयर निष्कासन गरे पनि एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएका छन् ।

चालु आर्थिक वर्ष ०७६/७७ को साउन महिनादेखि हालसम्म विभिन्न पाँच कम्पनीले हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट अनुमति लिइसकेका छन् । यी कम्पनीले एक अर्ब ४६ करोड १२ लाख रुपैयाँ बराबरको एक करोड ४६ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार चालु आवमा तीनवटा अन्य कम्पनीले पनि हकप्रद सेयर निष्कासन गर्न निवेदन दिए पनि अनुमति पाएका छैनन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले हकप्रद सेयर निष्कासन गर्न निवेदन दिए पनि न्यून प्रतिफल भएकाले अनुमति नदिएको बोर्डले जनाएको छ ।

प्रकाशित: २५ मंसिर २०७६ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App