८ वैशाख २०८१ शनिबार
राजनीति

खेलकुदले मित्रता बढायो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) ले सार्क देशबीच मित्रता बढाएको बताएका छन्। उपचारपछि प्रधानमन्त्री निवासमा आराम गरिरहेका ओलीले मंगलबार साग समापन समारोहलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने सागको ठूलो महत्व भएको बताए। उनले खेल सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भूकम्पबाट ध्वस्त भएका संरचना तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको पनि बताए।

यसपल्टको खेलमा विगतमा भन्दा बढी खेलाडी, बढी स्पर्धा र बढी नै पदक रहेको उल्लेख गर्दै उनले भने, ‘समग्रतामा यो सफल र ऐतिहासिक खेलकुद रहेको छ।’

सागले दक्षिण एसियाली देश र जनताबीच एकता र मित्रता अभिवृद्धि गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै ओलीले त्यो अपेक्षा यसपटकको तेह्रौं दक्षिण एसियाली खेलकुदले सफलतापूर्वक पूरा गरेको बताए। ‘यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। काठमाडौं, पोखरा र जनकपुरधाममा एकैसाथ खेलकुद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकुदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो। यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाललगायत सबै सहभागी देशका सरकार, खेल क्षेत्र, खेलाडी र प्रशिक्षक सबैलाई म धन्यवाद भन्न चाहन्छु ,’ उनले भने। प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन योगदान पु¥याउने विश्वास लिएको पनि बताए। उनले खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्ने अपेक्षा आफूले गरेको पनि बताए।

‘आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु। जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीलाई बधाई भन्न चाहन्छु’, उनले भने।

प्रकाशित: २५ मंसिर २०७६ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App