७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीकाे ज्यादती नागरिककर्मीमाथि कुटपिट

काठमाडौं – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) समापन हुने दिन मंगलबार बिहान नेपाल प्रहरीले सुरक्षाका नाममा ज्यादती गरेको छ। काठमाडौंका तीनवटा वृत्तका डिएसपीले सर्वसाधारण र पत्रकारमाथि लाठी र मुक्का प्रहार गरेका छन्।

कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवर, सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौर र बालाजु वृत्तका डिएसपी बालनरसिंह राणाले खेलकुद प्रतियोगिता हेर्न उपस्थित दर्शकलाई कुटपिट गरेका थिए। त्यो दृश्यको तस्बिर खिचेको निहुँमा डिएसपी राठौरले नागरिक दैनिकका सुमन चापागाईलाई मुक्का र लात्तो प्रहार गरी घाइते बनाए। राठौरको मुक्काले चापागाईंको कानबाट रगत आएको थियो। उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

डिएसपी कुँवरले नेपाल र भुटानबीच हुन लागेको फुटबलको फाइनल खेल हेर्न टिकट किन्न आएका दर्शकमाथि लाठी र लात्ती प्रहार गर्नुका साथै लछारपछार गरेका थिए। त्यसको तस्बिर खिच्दा डिएसपी राठौरले पत्रकार चापागाईमाथि मुक्का प्रहार गरेका थिए। प्रहरी ज्यादतीको रंगशालाभित्रै विरोध भएको थियो। प्यारापिटमै ठाउँठाउँमा ‘प्रहरी दमन बन्द गर’ भनी लेखिएका काला रङका कपडा फहराइएका थिए। ‘साग इज नट पुलिस परेड’ भन्दै प्रहरीको विरोध भएको थियो। कुटपिटको विरोधमा नेपाली पत्रकारका साथै श्रीलंका, बंगलादेशलगायतका मुलुकका पत्रकारले पनि फाइनल खेल बहिष्कार गरेका थिए।

प्रहरी महानिरीक्षक आएर माफी माग्नुपर्ने अडानमा रहेका पत्रकारसमक्ष महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले माफी मागेका थिए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्। ‘केही कमजोरी भएको र पत्रकार साथीमाथि हातपात भएको सुनें। त्यसपछि त्यसमा के भएको हो भनेर मैले डिआइजी थापालाई अनुसन्धान गर्नु भनिसकेको थिएँ’, महानिरीक्षक खनालले भने। डिआइजी थापाले प्रहरीको गल्ती भएको र सम्बन्धित प्रहरीलाई कारबाही गर्ने बताएका थिए। ‘मेरो मातहत रहेका प्रहरीले गल्ती गरेका हुन्। उनीहरुलाई कारबाहीको दायरामा ल्याउँछु’, उनले नागरिकसँग भने। खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि गल्ती भएको भन्दै पत्रकारसँग माफी मागेका थिए।

डिएसपी कुँवरले कुटपिट गरेका व्यक्ति अहिले कहाँ छन् भन्ने जानकारी कसैलाई पनि छैन। उनी को हुन् भन्नेबारेमा पनि प्रहरीले केही बताएको छैन। कुटपिटपछि प्रहरी भ्यानमा राखिएका उनलाई कहाँ लगियो भन्नेबारे प्रहरीले केही बताएको छैन।

समापन समारोह भइरहँदा बालाजु वृत्तका डिएसपी बालनसिंह राणाको नेतृत्वमा गएका प्रहरीले मुखमा मास्क लगाएर पत्रकारले राखेको ब्यानर च्यातेका थिए। पत्रकारले प्रतिकार गर्न खोजेपछि उनीहरु प्रहरीको भ्यानमा गएर बसेका थिए।

चापागाईमाथि भएको कुटपिटको पत्रकार महासंघलगायत संघसंस्थाले विरोध गरेका छन्। ुदेशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल मेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको यस्तो घटनाबाट नागरिक अधिकारका साथै निर्बाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्यूनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको छ,ु नेपाल खेलकुद पत्रकार मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुयस्ता घटनाले नेपाल सरकारले राष्ट्रिय गौरवको रुपमा आयोजना गरेको साग खेलकुदमार्फत अन्तर्राष्टिय जगत्मा देशको प्रतिष्ठा किमार्थ बढाउन सक्दैन।’ मञ्चले घटनाको भत्र्सनाका साथै कुटपिटमा संलग्न डिएसपी राठौरलगायतलाई तत्काल कारबाही गर्न माग गरेको छ।

प्रकाशित: २५ मंसिर २०७६ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App