८ वैशाख २०८१ शनिबार
राजनीति

संशाेधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारू हुन नदिने चेतावनी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने चेतावनी दिएका छन्। बुधबार  रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले संशोधन प्रस्ताव कुनै हालतमा नेपाल र नेपालीहरुको हितमा नभएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे।

उनले भने,‘यो प्रस्ताव संविधानतः गलत छ, त्यतिमात्रै होइन, सर्वोच्च अदालतको पनि बर्खिलापमा छ।’ उनले राजनीतिमा नयाँ द्वन्द्व सिर्जना गर्नकालागि संशोधन प्रस्ताव ल्याइएको आरोप लगाए। उनले थपे,‘अहिले आएको संशोधन प्रस्ताव जस्ताको तस्तै फिर्ता लिनुपर्छ, फिर्ता लिएपछि एमालेले संसद अवरुद्ध गर्दैन।’

उनले संविधान कार्यान्वयन हुन नदिनकालागि सरकारले संशोधन प्रस्ताव ल्याएर षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले भने, ‘सत्तामा भएका तर मन्त्री नभएका मधेशी मोर्चाले त नौटंकी देखायो–देखायो, सत्तामा भएका मन्त्रीहरुलेपनि सौदावाजी गरिरहेका छन् ।’

उनले आफ्नो पार्टीका कारण सदन अवरुद्ध नभएको समेत जिकिर गरे। नेता पोखरेलले थपे,‘अहिले सदन अवरुद्ध भैरहेको छ, यो एमालेका कारण होइन, यो त संविधान र मुलुकलाई जोगाउनकालागि हामीले राष्ट्रघाती संशोधन प्रस्तावको विरुद्धमा खबरदारी गरेको हो, अनुचित प्रस्तावमा छलफल नै हुनुहुँदैन भनेको हो ।’     

उनले संशोधन प्रस्ताव फिर्ता लिएर अन्य प्रस्तावमा छलफल गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय निकाय वा स्थानीय तह जे को भएपनि निर्वाचन हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै त्यसलाई तत्काल अघि बढाउनुपर्ने माग गरे। पोखरेलले भने,‘निर्वाचन भयो भने संविधानको एक तह कार्यान्वयन अघि बढ्छ ।’
 

प्रकाशित: २९ मंसिर २०७३ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App