६ वैशाख २०८१ बिहीबार
राजनीति

‘भ्रष्टाचारमा संलग्नले छुट पाउँदैनन्’

काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि भ्रष्टाचारमा संलग्न राजनीतिक नेताले छुट नपाउने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार संयुक्त रूपमा आयोजना गरेको ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रय दिवस’को उद्घाटन गर्दै मन्त्री पोखरेलले भ्रष्टाचार गर्नेले राजनीतिक संरक्षण नपाउने दाबी गरेका हुन्। ‘जुनसुकै ओहोदामा बसेपनि, राजनीतिक माथिल्लो तहमा संलगन भए पनि छुट हुने छैन’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘भ्रष्टाचारको दुश्परिणामले वर्तमानलाई मात्रै नभएर भावी पीडिलाईसमेत तहसनहस बनाउँछ।’ घरपरिवारबाटै असल संस्कार सिकाउँदै पारदर्शिताको पक्षपोषण गर्नुपर्ने बताए।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले राजनीतिक नेतृत्व सहभागी भएका भ्रष्टाचारमा अख्तियार कतै अल्मिलिएको टिप्पणी गरे। ‘स्थानीय तहमा आफैं निर्णय गर्ने आफै लाभ लिने काम भइरहेको छ,’ उनले भने, ‘राजनीतिक दलका कार्यकर्ता बिचौलिया, दलालको रूपमा बढ्दो छ। केन्द्रीय तहबाट निर्देशन, नियन्त्रण हुन जरुरी छ।’

नेपालमा भ्रष्टाचार व्याप्त भएको अन्तर्राष्ट्रिय सूचंकाकले समेत देखाएको बताए। ‘ओँठे प्रतिवबद्धताले मुलुकमा सुशासन हुन सक्दैन,’ अध्यक्ष रेग्मीले भने।

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरले सेवाग्राही र सेवा प्रदायकबीचको तस्बिर हेर्दा आयोग सन्तुष्ट हुन नसक्ने बताए। उनले विगतमा शिक्षातर्फको उजुरी आयोगमा बढी भएको र यसपटक भने स्थानीय तहका उजुरी बढेको तथ्यांक बताए।

अख्तियारले साउनयता १ सय ५० वटा मुद्दा दर्ता गरिसकेको छ। आयोगले १ हजार ५ सय मुद्दामा अनुसन्धान गरिरहेको प्रमुख आयुक्त घिमिरेले बताए। अख्तियारका दर्ता मुद्दामध्ये ८८ प्रतिशत मुद्दामा सफलता हासिल गरेको छ। आयोगले चलाएको ‘स्टिङ अपरेसन’ र ‘-यापिड टाक्सफोर्स’ को प्रारम्भिक परिणामबाट प्रशासनको अवस्था सन्तोषजनक नरहेको बताए। अख्तियारले जनतालाई दिने सेवामा घुस लेनदेन बढेको भन्दै कार्यालय प्रमुखलाई जिम्मेवार बनाउनेगरी छलफल गरिरहेको बताए। ‘भ्रष्टाचारलाई साना ठूलो नभनौं, एक रुपैयाँ भए पनि अर्ब भए पनि भ्रष्टाचार नै हो,’ प्रमुख आयुक्त घिमिरेले भने।

सोमबार ‘भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’ भन्ने नाराका साथ मनाइएको दिवसमा रक्षामन्त्री पोखरेलले ‘आयोगको आगामी ५ वर्षे संस्थागत रणनीति’को विमोचन गरे। सरकारले महासन्धि कार्यन्वयनका लागि नीतिगत तथा संस्थागत व्यवस्थापन गर्दै आएको बताए।

कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचारमुक्त समृद्ध राष्ट्र निर्माणमा प्रतिबद्धता जनाए। अख्तियारका सचिव महेश्वर न्यौपानेले नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र र भ्रष्टाचारविरुद्धको पक्ष राष्ट्रसमेत भएकोले भ्रष्टाचार नियन्त्रणमा सक्रिय सहभागिता हुनुपर्ने बताए। मुलुकमा खस्कँदो प्रशासनिक संस्कारलाई सुदृढ गरी जनतामा प्रभावकारी सार्वजनिक सेवा दिन नसक्दा राज्यको सार्थकतामाथि प्रश्न उठ्नसक्ने स्पष्ट पारे।

‘मह’ जोडी सम्मानित
त्यसैगरी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ‘राजनीतिक सदाचारमा पार्टी नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया गरेको छ। हरेक वर्ष डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइने गरिएको छ। गीत, संगीत, प्रहसन र टेलिश्रृंखलाको माध्यमबाट मुलुकमा व्याप्त अनियमितताविरुद्ध चोटिलो प्रहार गरी जनचेतना फैलाएर भ्रष्टाचारविरद्ध सहयोग गरेको भन्दै ‘मह’जोडीलाई ‘राष्ट्रिय सदाचार सम्मान’द्वारा सम्मानित गरिएको हो।

प्रकाशित: २४ मंसिर २०७६ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App