८ वैशाख २०८१ शनिबार
अर्थ

‘ट्यांकर गायब गर्न चालक कै मिलेमतो’

काठमाडौं - अज्ञात समूहले चालकलाई कब्जामा लिएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेल ट्यांकर लहानबाट गायब पारेको भनिएको घटनामा चालक कै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको अनुसन्धानमा ट्यांकर चालक रामदेव यादव कै मिलेमतोमा अपहरणको नाटक रचेर १९ लाख रुपैयाँको डिजेल चोरी भएको प्रहरीले जनाएको छ।

गत २ गते नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको थियो। उक्त ट्यांकरमा २० हजार लिटर डिजेल थियो। ट्यांकर चालक यादव र सह–चालक उमेश यादवले आफूलाई अज्ञात समूहले कब्जा लिएर अपहरण गरी ट्यांकर लगेको बताएका थिए। चालकले आफू अपहरणमा परेको दाबी गरे पनि उनीहरुकै मिलेमतोमा डिजेल चोरी भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

‘चालकले आफू अपहरणमा परेको बताए पनि उनकै मिलेमतोमा ट्यांकर गायब गरेर तेल चोरी गरेको देखियो,’ उनले सोमबार नागरिकसँग भने, ‘चालक र सहचालकविरुद्ध ठगी मुद्दा दायर गर्ने तयारी गरिरहेका छौं।’ चालकको विगत पृष्ठभूमि पनि राम्रो नदेखिएको चर्तुवेदीले बताए। चालक रामदेवका भाइ विजय यसअघि पनि डिजेल चोरीमा संलग्न देखिएको प्रहरीले जनाएको छ। ‘घटनाको प्रकृति, चालकको बयानलाई विश्लेषण गर्दा डिजेल चोरीमा चालक कै संलग्नता देखिन्छ,’ चतुर्वेदीले भने, ‘विभिन्न बहाना बनाएर हामीलाई नै झुक्याउने प्रयास गरे।’ चालक र सहचालक प्रहरीको नियन्त्रणमा छन्।

डिजेल बोकेको ट्यांकर सिराहाको लहान मूल राजमार्ग हुलाक कार्यालय अगाडि पार्किङ गरी चालकले विश्राम गरेको अवस्थामा ७–८ जनाको समूहले कब्जामा लिई लगेको दाबी गरेका थिए। आफूहरुलाई कब्जामा लिएर बर्दिवास र लालबन्दीको बीच जंगलमा छाडेर गएको उनीहरुले बताएका थिए। चालकले सुरुमा आफूहरु अपहरणमा परेको निगमलाई जानकारी गराएका थिए। अपहरणमा परेको बहानामा झुटो सूचना दिएर घटनालाई अन्यत्र मोड्ने प्रयास गरे पनि प्रहरीले उनीहरुलाई नै केन्द्रमा राखेर अनुसन्धान गरेको थियो।

२ गते हराएको डिजेल बोकेको ट्यांकर धनुषास्थित जनकपुर–ढल्केबर राजमार्गमा भेटिएको थियो। भेट्दा ट्यांकर रित्तो थियो। डिजेल स्थानीय पम्पले खरिद गरेको अनुमान गरे पनि कुन पम्पले खरिद गरेको भने पत्ता लाग्न सकेको छैन। भारत लगेर बेच्ने अवस्था नभएकाले कम मूल्यमा पम्प सञ्चालकले डिजेल खरिद गरेको हुन सक्ने निगमको अनुमान छ। सिराहा, सप्तरी, महोत्तरीका पम्पमा अनुसन्धान गरे पनि पत्ता नलागेको प्रहरीको भनाइ छ।

ट्यांकर गायब बनाएर डिजेल चोरीको विषयमा छानबिन गर्न निगमले विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा प्रहरी, स्थानीय प्रशासन, ढुवानी व्यवसायीका प्रतिनिधि छन्। तेल बिक्री गरेको विषयमा त्यस क्षेत्रका पेट्रोल पम्पमा सोधपुछ भइरहेको छानबिन समितिका संयोजक शाहले बताए। ‘चालकले बयान फेरेकाले बेचेको पम्प पत्ता लगाउन कठिन भएको छ,’ उनले भने।
तेल चोरी प्रमाणित भए चालकले आजीवन पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चलाउन पाउँदैनन्। लकिङ सञ्चालनसम्बन्धी कार्यविधिले यस्तो अपराध गर्ने ट्यांकरसँगै ढुवानी सम्झौता खारेज गर्न सक्ने पनि व्यवस्था छ। चालक मात्र नभएर चोरीको तेल खरिद गर्ने पम्प पत्ता लागे निगमले तीन महिनासम्म उक्त पम्पमा इन्धन आपूर्ति बन्द गर्न सक्छ।

यसअघि भारतबाट इन्धन बोकेर आएका ट्यांकर बीचबाटोमा कब्जा गरेर तेल लुट्ने गरे पनि आफ्नै मुलुकभित्र भएको घटनालाई गम्भीर रुपमा लिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘द्वन्द्वकालपछि ट्यांकर कब्जामा लिएर चोरी भएको घटना पहिलो हो,’ उनले भने, ‘प्रहरी र छानबिन समितिको प्रतिवेदन आएपछि कारबाही गर्छौं।’

प्रकाशित: २४ मंसिर २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App