६ वैशाख २०८१ बिहीबार
समाज

नेकपा नेतालाई पक्राउ पुर्जी

दमक – किर्ते गरी सरकारी सम्पत्ति हडपेको आरोप लागेका नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरीलाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ल झापाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीले उनी फरार रहेको दाबी गरेको छ। दमक–८ बालुवाटारको सरकारी जग्गा नापी र मालपोतका कर्मचारीसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार गिरीले ११ बिघा जग्गालाई व्यक्तिको नाममा पास गराउन सरकारी छाप र हस्ताक्षर किर्ते गरेका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गिरीविरुद्ध अनुसन्धान जारी राखेको छ। एकजना सामान्य व्यक्तिको नाममा जग्गा पास गर्ने गरी उनले काम गरेको प्रहरीको दाबी छ। गिरीले मोरडको पथरीशनिश्चरे–९ का ओमप्रकाश पौडेललाई प्रयोग गरी काम गर्ने तयारी देखिएको उल्लेख गर्दै एक प्रहरी अधिकृतले भने, ‘पौडेललाई त्यसबापत दुई कठ्ठा जग्गा दिने प्रलोभनमा पारिएको पाइयो।’ पौडेल पथरीमा अटो रिक्सा चालक हुन्। उनलाई प्रहरीले मंसीर १६ गते नै पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने गरी नक्कली हस्ताक्षर र छाप किर्ते गरेको पाइयो। सरकारी जमिन व्यक्तिको नाममा पास गराउने कार्यमा मालपोत र नापीका कर्मचारीको समेत संलग्नता देखिएको तथा नगरपालिकाबाट सर्जमिन गराउन खटिएका व्यक्तिहरूका बारेमा समेत खोजी भइरहेको प्रहरीले जनाएको छ। पुरीले विभिन्न पटक गरी २०७१ सालदेखि ती जग्गा व्यक्तिको नाममा पास गराउने प्रक्रिया सुरु गरेका थिए। रतुवा नदी किनारमा रहेको सो जग्गा पुरीकै पहलमा तटबन्धसमेत गरिएको थियो। उनले सो जग्गानजिकैबाट दमकको चक्रपथसमेत लगेका छन्।

पुरीले सो क्षेत्रमा खोला बाँधेर तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालयका लागि जग्गा दिएका छन् भने इलाका प्रशासन कार्यालय पनि त्यहीं बन्दै छ। पक्राउ परेका पौडेल र पुरी दुवै नेकपा एकता केन्द्र मसालका नेता थिए। दुवै एकता केन्द्रबाट आएका हुन्। पुरी पहिलो संविधानसभाको निर्वाचनमा इलामबाट संविधानसभाको उम्मेदवारसमेत थिए। लगत्तै माओवादीमा प्रवेश गरेका उनी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिए। दमकदेखि रवीसम्म पुग्ने सडक निर्माण समितिका अध्यक्ष पुरी विगतमा रतुवा नदीकै कारण विस्थापित भएर धनकुटासमेत पुगेका थिए।

‘अदालत फेस गर्छु’
आरोपित पुरीले अहिले आफू मुलुकबाहिर रहेको अवस्थामा विभिन्न भ्रम फैलाइएको बताए। फेसबुक म्यासेन्जरमार्फत नागरिकसँगको संवादमा आएका उनले राजनीतिक, सामाजिक जीवनमा प्रतिस्पर्धा गर्न नसक्नेहरूले यस्तो आरोप लगाएको बताए। ‘प्रधानमन्त्रीनजिक रहेर लाभ लिइरहेका केही मान्छेले मलाई फसाउने षड्यन्त्र गरेका हुन्,’ उनले भने, ‘तर हरेक तिकडमलाई परास्त गर्दै म अदालतमा उपस्थित हुनेछु।’ पुरीले तत्कालीन एमालेका केही नेताले आफूलाई फसाउन खोजेको आशंका पनि गरे। यता पुरीकी पत्नी सीमाले पत्रकार सम्मेलन गरेर राजनीतिक पूर्वाग्रह राखेर उनका पतिलाई फसाउन लागेको बताइन्। ‘हाम्रो केही जग्गा–जमिन थियो तर अहिले भनिएको जस्तो कुनै घटना भएको छैन। होइन् पनि,’ उनले भनिन्, ‘केही व्यक्तिले शंकाका भरमा प्रहरी–प्रशासनको दुरूपयोग गरेका हुन्।

प्रकाशित: २४ मंसिर २०७६ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App