७ वैशाख २०८१ शुक्रबार
समाज

कोही आएनन् सद्भाव र्‍यालीमा

घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी तथा स्थानीय। तस्बिर : अर्जुन/नागरिक

बाँके (कोहलपुर) – स्कुले बालिकालाई ट्रकले किचेर घाइते बनाएपछि बाँकेको कोहलपुरमा उत्पन्न घटनाको निष्पक्ष छानबिन गरिने भएको छ। सुरक्षा निकायका प्रमुखसहित राजनीतिक दल, प्रतिनिधिसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र घाइतेका आफन्तसहित बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरमा कक्षा सात अध्ययनरत प्रकृति चन्दलाई किचेको थियो।

ट्रकले बालिकालाई किचेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा भएका कमी–कमजोरीको छानबिन गर्न गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। ‘प्रहरी–प्रशासनको कुन–कुन ठाउँमा कमी–कमजोरी भए, विद्यार्थी, शिक्षक र प्रहरी कसको कहाँ–कहाँ कमजोरी भयो, सोको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्नका लागि गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो,’ प्रजिअ खड्काले भने।

घटनाको क्रममा भएका तोडफोड, आगजनीबाट भएको क्षतिको लगत संकलन गर्न विज्ञ सरोकारवालासमेतको समिति गठन गरी सो समितिले उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि गरिएको उनले बताए। यस्तै घटनामा घाइते भएका सम्पूर्ण घाइतेको उपचार खर्च राज्यले गर्ने तथा उक्त घटनामा दुवै खुट्टा गुमाएकी पीडित छात्राको शिक्षा दीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छ।

प्रहरीले कति सेल अश्रुग्याँस र कति राउन्ड गोली चलायो भन्ने अहिले एकिन भएको छैन।

प्रजिअ खड्काले थपे, ‘घाइतेहरूको उपचार, क्षतिपूर्ति तथा राहतका लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी, संघसंस्थालगायत सरोकारवाला सबैले आआफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णय गरियो।’ बैठकले सोमबार अपरान्ह कोहलपुरमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो। तर, आन्दोलनरत विद्यार्थी तथा घाइतेका आफन्तको मागअनुसार इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) हेम शाहीलाई प्रमुखको जिम्मेवारीबाट हटाएपछि सद्भाव र्‍याली स्थगित भएको थियो। सद्भावर्‍याली निकाल्ने निर्णय भए पनि कोही पनि सहभागी नभएपछि अन्तिममा स्थगित गर्नुपरेको प्रजिअ खड्काले बताए। शान्ति, सुरक्षा प्रदान गर्नका लागि कोहलपुरको केही ठाउँमा प्रदर्शन तथा हुलदंगा गर्न निषेध गरिए पनि सोमबार बेलुकाबाट निषेधाज्ञा हटाइएको उनले जानकारी दिए।

बैठकपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) बीरबहादुर ओलीले सत्यतथ्य छानबिन गरेपछि मात्र घटनाको यथार्थ कुरा बाहिर आउने बताए। ‘कस्तो परिस्थितिमा प्रहरीले गोली प्रयोग ग-यो भन्ने सन्दर्भमा समितिले छानबिन गरेर मात्र सत्यतथ्य कुरा बाहिर ल्याउँछ,’ उनले भने, ‘प्रहरीले कति सेल अश्रुग्याँस र कति राउन्ड गोली चलायो भन्ने अहिले एकिन भएको छैन।’

ट्रकले किचेर घाइते भएकी बालिकाको काठमाडौंस्थित बि एन्ड बि अस्पतालमा र अन्य १० जनाको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको उनले जानकारी दिए। ‘नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि केही घाइते उपचारमा छन्, एक/दुईजनालाई पनि सोमबार रिफर गरियो भन्ने कुरा आएको छ,’ एसपी ओलीले भने।

प्रहरीतर्फ घाइते भएका १८ जना पनि उपचारकै क्रममा रहेका छन्। पीडित छात्राको न्यायका लागि गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको र अनाहकमा गोली चलाएको भन्दै सोमबार दिनभर विद्यार्थी तथा घाइतेका आफन्तले कोहलपुरमा प्रदर्शन गरे। कोहलपुरका विभिन्न स्थानमा बिहान १० बजेतिरबाट उनीहरूले प्रदर्शन सुरु गरेका थिए। इलाका प्रहरी कार्यालय अगाडि ठुलो संख्यामा भेला भएर उनीहरूले प्रहरीविरुद्ध चर्का नारा लगाएका थिए।

घटनाको विरोध तथा विद्यार्थी र स्थानीयको आन्दोलनका कारण सोमबार कोहलपुरमा यातायात साधन तथा व्यापार–व्यवसाय ठप्प भएको थियो। प्रहरीले विद्यार्थीमाथि गरेको दमन र गोली प्रहार गरिएको घटनाको सत्यतथ्य छानबिन गर्न नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले माग गरेको छ। यस्तै, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले घटनामा संयमता अपनाउन कोहलपुरबासीलाई अनुरोध गरेको छ।

प्रकाशित: २४ मंसिर २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App