८ वैशाख २०८१ शनिबार
समाज

सामुदायिक विद्यालयमा सेनेटरी प्याडको प्रयोगले छात्राहरुको उपस्थितीमा वृद्धि

बाजुरा- महिनावारी महिलाको प्रजनन् अधिकारसँग सम्बन्धित विषय हो। महिलाका लागि किशोरावस्थामा हुने परिवर्तनमध्ये महिनावारी पनि एक हो। महिनावारीलाई प्रजनन् क्षमता विकासको संकेत र किशोरावस्थाको परिर्वतनका रुपमा लिएपनि सबैका लागि सहज अवस्था भने अवश्यै होइन।

महिनावारी हुँदा शारिरीक तथा मानसिक तनाव, दुखाइजस्ता समस्या देखा पर्ने गर्दछन्। त्यसैमा विद्यालय उमेरका छात्राहरुका लागि झनै जटिल हुने गर्दछ। नियमित सरसफाइ, गाउँमा रहेको पुरानो चलन अनुसारको रहनसहन, शारिरीक रुपमा हुने समस्याले थप पीडा सहनु पर्ने बाध्यता छात्राहरुसँग छ।

जसका कारण उनिहरुले नियमित विद्यालय जानसमेत सक्दैनन्, भने पठन पाठन कार्यसमेत प्रभावित हुने गरेको देखिन्छ। रगत बग्ने, पेट दुख्नेजस्ता समस्याले नियमित विद्यालय नगएरै घर बस्ने गर्दा प्रत्येक महिनाको ५ दिन बढी समय पढाईबाट वञ्चित हुनुपर्ने समस्या छात्राहरुसँग हुने गर्छ।

तर पछिल्लो समय त्यो समस्या हट्दै गएको भानुदय माविका प्राचार्य मनवीर खाती बताउँछन्। महिनाबारी भएको सुरुको एकदुई दिन अधिकांश छात्रा गलय हुने गरेका थिए, विद्यालयमा छात्रामैत्री शौचालयकको निर्माण र प्याडको प्रयोग कार्य बढेपछि त्यो हटेको खातीको भनाई छ।

सामुदायिक विद्यालयको हकमा विद्यालयमा अलग शौचालय नहुने, दुखाई हुँदा आवश्यक हेरचाह र आरामका लागि विद्यालयले वास्ता नगर्ने र रगत बग्दा त्यसको उचित व्यवस्थापन नगर्दा साथीहरुबाटै हाँसोको पात्र बन्नु पर्ने समस्या धेरै थियो, अहिले त्यो हटेको छ, राजेन्द्र आधारभुत विद्यालयका प्रअ नृगबहाखुर नेपालीले बताए।

प्याड प्रयोग नगर्नु पूर्व अधिकांश छात्रा विद्यालय आउँदैनन् थिए, ४० प्रतिशत हाजिरीसमेत ६ कक्षा माथि पढ्ने छात्राको पुग्दैन थियो, अहिले तीनै छात्राहरु सत प्रतिशत विद्यालय आउने गरेको प्रअ नेपालीले थपे। विद्यालयमा पीसविनले ८ सय थान प्याड सहयोग गरेको छ। भने छात्रामैत्री शौचालय, प्याड व्यवस्थापन गर्ने डम्पीग साइड पनि बनाइएको छ।

प्याड प्रयोगपछि सजिलो भएको भानुदय मावि कक्षा ११ मा पढ्ने छात्रा रामदेवी धामीले बताइन्। २र३ दिनसम्म त घरमै बस्ने गथ्र्ये, विद्यालय आउँदा कुर्ताबाट रगत बगेर बस्ने बेञ्चमा लाग्थ्यो, साथीहरु गिज्याउने गथ्र्ये, कक्षा ९ सम्म त्यही समस्या भोगेँ हाल त्यो समस्या छैन, महिनावारी भएपनि नियमित विद्यालय आउने गरेको भन्छिन्, मैना रावत।

छात्राहरुलाई प्याड निर्माणको तालिम पनि दिइएको छ। भने बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका १० वटा मावि र निमाविमा प्याड सहयोग गरिएको पीसविन सामुदायिक विकास परियोजना अधिकृत टेकबहादुर थापाले बताए। प्रत्येक विद्यालयमा ८ सयका दरले प्याड वितरण गरिएको छ। भने कक्षा ९ र १० का छात्राहरुलाई आफै निर्माण गर्ने तालिम पनि दिइएको छ।

प्याड प्रयोग नगर्दा प्रष्टै रगत बग्ने, बेञ्चमा समेत चिनारी देखिने समस्याकै कारण चाहेरपनि छात्राहरु विद्यालय आउँदैन थिए, उपस्थिति दर पनि कम थियो, गएको वर्षदेखि कम हुँदै गएको मालिका मावि गाँज्राका शिक्षक दाताराम जोशीले बताए। छात्राहरुको विद्यालय उपस्थितदर बढेसँगै पठन पाठनमा समेत सुधार आएको जोशीले थपे।

सरकारले पनि यो वर्षबाट सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड अनिवार्य भनेको छ। त्यो लागू भईसकेको छैन। तर गुड नेवर्स इन्टरनेशनल र पीसविनको सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजना, सम्बन्धीत स्थानीय तहको सहकार्यमा सञ्चालित हुँदा प्रभावकारी हुँदै गएको खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष दिपक रावतले बताए।

छात्राका समस्या हामीलाई थाह हुन्थ्यो, तरपनि मौन बस्नु पर्ने अवस्था थियो, जब सेनेटरी प्याडको सहयोग भयो, र छात्राहरुले आफै निर्माण गर्न थाले, उनीहरुलाई मात्र सहज भएन, विद्यालयकै नियमित उपस्थित हुने दर र शैक्षिक गुणस्तरमा सुधार भयो, शिक्षिका सत्य खातीले बताइन्। छात्राहरु खुसी मात्र छैनन्, महिनावारीको समय हुने तनावबाटसमेत मुक्त भएको सुनिता धामीले बताइन्।

भानुदय मावि, मालिका मावि, त्रिशक्ती मावि, खापरदेवस्थली मावि, काँडा भवानी मावि, मष्टेश्वरी मावि, देवस्थली मावि, राजेन्द्र आधारभुत विद्यालय लगायतमा प्याडसहित आराम कर्नरहरु, विस्तरा, दुखाई मेडिसीयन सहीतको सहयोग गरिएको छ। महिनावारी स्वच्छता कार्यक्रम अन्र्तगत सहयोग गरिएको भानुदय माविका शिक्षक लक्ष्मण जोशीले बताए।

 

प्रकाशित: २३ मंसिर २०७६ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App