coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजनीतिक आडमा हुने भ्रष्टाचारलाई छुट दिइँदैन: उपप्रम पोखरेल

काठमाडौं- अख्तियारद्वारा आज यहाँ आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७६ कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक आडमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारलाई छुट नदिइने दृढता व्यक्त गरेका छन्। उनले भने, 'जुनसुकै पद र ओहोदामा बसेको भए पनि उनीहरुले कुनै पनि प्रकारको छुट पाउनु हुँदैन। उनीहरुलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउनैपर्छ।'

ठूला र साना माछाको गोश्वारा टिप्पणी हुने गरेको भन्दै उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याएर आयोगले व्यवहारतः नै साना र ठूलाका बीचमा रहेको भेदको खण्डन गर्नुपर्नेमा जोड दिए। उनले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्नसमेत भ्रष्टाचारको नियन्त्रण नै पहिलो सर्त भएको बताए।

सदाचारी समाज निर्माणका लागि व्यक्ति, घर तथा समाजबाटै सुरु गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले गरिरहेको प्रयास सकारात्मक र सार्थक रहेको टिप्पणी गरे। उनले आयोगले अगाडि सारेको संस्थागत रणनीतिक योजनाले पनि भ्रष्टाचार नियन्त्रणमा सघाऊ पुर्‍याउने विश्वस व्यक्त गरे।

मुख्य सचिव लोकदर्शन रेग्मीले सामाजिक विचलनमा पर्ने प्रवृत्ति समाज सुधार र विकासका लागि समेत घातक रहेको भन्दै त्यसलाई निरुत्साहन गर्न सबैको साथ र सहयोग जरुरी रहेको बताए। उनले नेपालको संकल्प पूरा गर्ने अभियानमा आफूहरु लागेकाले पनि त्यसलाई सफल बनाउन भ्रष्ट आचरणमा नियन्त्रण हुनुपर्ने बताए।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष खेमराज रेग्मीले बढी भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल पर्नु दुःखद रहेको भन्दै कानूनी सुधार एवम् संस्थागत जवाफदेहितालाई बढावा दिनुपर्ने बताए। उनले विकास निर्माणको काममा हुने अनियमितता, मेडिकल कलेजले विद्यार्थीमाथि गरिरहेको ज्यादती नियन्त्रण तथा सरकारी कार्यालयमा हुने भ्रष्ट आचरणको नियन्त्रणमा सरकार र आयोगले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्र संघले भ्रष्टाचार नियन्त्रणका लागि अभिसन्धि पारित गरेको दिनको स्मरणमा आज संसारभर नै भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ।

प्रकाशित: २३ मंसिर २०७६ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App