दोलखा
घटना १
जिल्लाको एउटा विकासे अड्डामा गत असार अन्तिममा मसान्तको चटारो थियो। चटारोकै एक दिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले मसान्तअघि नै आफूलाई भेट्न आउन कार्यालयका प्रमुखलाई निर्देशन दिए।
कामको चटारोले भेट्न जाने तयारी हुँदै थियो। कार्यालय प्रमुख अचानक एउटा मुद्दामा तानिए। सिडिओ रिजालले त्यसपछि त्यहाँका प्राविधिक कर्मचारीलाई भेट्न आउन खबर पठाए। प्रायः हाकिमले नै गर्ने कारण सिडिओसँगको ‘डिल’बारे अनुभव नभएका ति प्राविधिक कर्मचारी भेट्नै गएनन्।
मसान्तमा भेट्न नआएको झोंकमा प्रजिअ रिजाल आफैं साउनको पहिलो साता कार्यालयको छड्के अनुगमनमा निस्के र कर्मचारीको हाजिर पुस्तिका नियन्त्रणमा लिएर जिल्ला प्रशासन फर्किए। प्रायः सरकारी अड्डाको छड्केमा खरदार सुब्बा पठाउने गरेका सिडिओले त्यसदिन आफैं कार्यालयको हाजिरकपी उठाएर ल्याएपछि जिल्ला प्रशासनका कर्मचारी अचम्मित परेका थिए।
प्रायः सानातिना गतिविधि पनि पत्रकारलाई भाइबर मेसेज गरेर पठाइहाल्ने प्रजिअ रिजाल आफैंंले छड्के गरेर हाजिरी पुस्तिका नियन्त्रणमा लिएको यो घटना गोप्य राखे। असार मसान्तको कमिसनवापतको रकम सिडिओलाई बुझाउन नगएको रिसको झोंकमा यो सब भएको उक्त कार्यालयका कर्मचारी स्रोत बताउँछ। त्यसपछि कार्यालयका एक वरिष्ठ कर्मचारीले सिडिओलाई कार्यकक्षसँगैको गोप्य कोठामा भेटेपछि हाजिर पुस्तिका फिर्ता भएको थियो।
घटना २
पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले बनाएको जिल्ला प्रशासन कार्यालयको एउटा नयाँ भवनको गत जेठमा निर्माण सम्पन्न भयो। असार तेस्रो साता पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भवनको भव्य उद्घाटनसमेत गरे।
पुनःनिर्माण सम्पन्न भएर उद्घाटन भएको उक्त भवन जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालयले जिल्ला प्रशासनलाई हस्तान्तरण गरेर फराम भरी बुझाउनुपथ्र्यो। कार्यालयका कर्मचारी चिठी बोकेर सिडिओलाई भेट्न गए। उनले भवन तुरुन्तै नबुझ्ने भन्दै फर्काइदिए। झण्डै एक महिनासम्म भवन बुझ्न नमानेका उनले कार्यालयसँग ‘बार्गेनिङ’ गरेका रहेछन्। कार्यालयका कर्मचारीले सिडिओसँग कार्यकक्षमा गोप्य भेट त गरे तर उनले भवनमा झ्याल ढोका पुनः बनाउनुपर्ने फेरि सर्त तेर्साए। सिडिओको स्वार्थका कारण उक्त भवन जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म बुझेको छैन।
अख्तियारको समेत प्रतिनिधि रहेको जिल्लाको सबैभन्दा ठूलो र शक्तिशाली पद प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सरकारी कर्मचारी र मालदार अड्डाका हाकिमलाई त्रासमा राखेर कसरी पैसा असुल्थे भन्ने माथिका दुई घटना प्रतिनिधि मात्र हुन्।
२०७६ वैशाख २ गते दोलखा सरुवा भएर आएका रिजाल आएदेखि नै सबै कर्मचारी र कार्यालय प्रमुखलाई त्रासमा राखेका थिए। कर्मचारीका सामान्य गल्ती वा कमजोरी देखिए उनी सिधै आफ्नो कार्यकक्षमा बोलाइहाल्थे। हप्काएर कार्यकक्षमै घुस लिन्थे। अख्तियारको प्रतिनिधिसमेत भएका कारण सिडिओसँग कर्मचारी डराउनु स्वभाविक नै हुन्थ्यो। गाउँमा कार्यरत सामन्य कर्मचारीको समेत केही कमजोरी भेटे रिजाल सिधै आफ्नो कार्यकक्षमा आउन आदेश दिन्थे।
गत भदौ पहिलो साता बिगु गाउँपालिका १ लामावगर स्वास्थ्य चौकीमा कार्यरत अहेव रामनरेश यादव र सहयोगी राजु श्रेष्ठको गाउँकै एक महिलासँग झगडा परेको थियो। गाउँलेले यो समस्या गाउँमै मिलाइसकेका थिए। अचानक कसैले यो विषय सिडिओ रिजालको कानमा पारिदिए। तुरुन्तै प्रशासन आउनु भनेर आदेश पाएलगत्तै यादव र श्रेष्ठ चरिकोट आए। जागिर गएर जेल कोचिदिने चेतावनीपछि रिजालले १÷१ लाख रुपैयाँ धरौटी जम्मा गरेर तारेखमा बस्न आदेश दिए। दुवैले रकम सिडिओसमक्ष दिए। तर सिडिओले अर्को तारेखमा आउनु भनेर पठाए पनि रसिद दिएनन्।
असोज पहिलो साता सिडिओले बोलाएको दोस्रो तारेखका लागि सिडिओ कार्यकक्षमा पुगे। रिजालले दुवै कर्मचारीसँग पुरानै शैलीमा फेरि १÷१ लाख रुपैयाँ मागे। श्रेष्ठले सहकारीबाट ऋण काढेर फेरि २ लाख रुपैयाँ लगेर सिडिओलाई बुझाए। उही शैली दोहोरिएपछि दुवै कर्मचारीले गाउँपालिका अध्यक्षलाई घटना सुनाए। अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जीव ओली सहित दोलखाका केही सांसद गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटना सुनाए। ओलीका अनुसार त्यतिबेला थापाले रिजाललाई फिर्ता बोलाएर कारबाही गर्ने आश्वासन दिए पनि त्यसो भएन।
हक्की स्वभावका रिजाल सार्वजनिक कार्यक्रममा सुशासनका चर्का भाषण गर्थे। गैरसरकारी संस्थाका कार्यक्रममा कर्मचारी थर्काएर त्रासमा राख्न खोज्थे। सरकारी अड्डाका हाकिमसँग रिजालले व्यक्तिगत डिल गरेका भेटिन्थे। ‘प्रत्येक महिनाको २ गते कार्यालय प्रमुखको बैठक हुन्छ,’ जिल्लाका एक कार्यालय प्रमुखले भने, ‘त्यो बैठकमा समेत सिडिओसापले विकासे अड्डाका प्रमुखलाई गोप्य भेटघाट कक्षमा लगेर व्यक्तिगत डिल गरेको देखिन्थ्यो।’
सरकारी कर्मचारीबाहेक क्रसर साहु र ठेकेदार पनि सिडिओको मुख्य निसानामा पर्थे। तामाकोसी नदीमा जथाभावी बालुवा उत्खननको अनुगमन गर्न रिजाल आफैं जान्थे। एकपटक तामाकोसी क्षेत्रमा बालुवा उत्खनन गर्ने ठेक्का पाएको ठेकेदारका डोजर नियन्त्रणमा लिएपछि ठेकेदारसँग मोटो रकम बार्गेनिङ गरेको घटना जिल्लामा चर्चा थियो। ती ठेकेदारले ठूलो रकम दिनुपरे आफूले पेसै छाडिदिने र घटना बाहिर ल्याउने धम्की दिएपछि सानै रकममा कुरा मिलेर ठेकेदारका डोजर छुटेका थिए।
त्यसबाहेक रिजालको असुलीको स्रोत जिल्ला प्रशासनमा आउने मुद्दा नै हुन्थे। थुनछेक बहसमा धरौटीको आदेश दिएबापत सवा लाख रुपैयाँ असुली गरेको घटना सार्वजनिक भएपछि दोलखाबाट हटाइएका रिजाल हाल मन्त्रालय तानिएका छन्। यसअघिका थुप्रै मुद्दामा उनले घुस असुल्ने गरेको भन्दै पीडितहरू धमाधम खुल्न थालेका छन्। घ्याङसुकाठोकर गाउँका अर्का पीडितले यसअघि सिडिओ रिजालले २५ हजार धरौटी तोकेको मुद्दामा आफूसँग ५० हजार रुपैयाँ घुस मागेको बताएका छन्।
प्रकाशित: २३ मंसिर २०७६ ०३:५५ सोमबार