coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मंसिर २५ देखि किम्फ

काठमाडौं – पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आगामी मंसिर २५ देखि सुरु हुँदैछ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक हिमाल एसोसिएसनले किम्फबारे जानकारी गराएको थियो।

आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको १७ औं संस्करणमा २९ देशका ६६ वटा फिल्महरू प्रदर्शन हुँदैछन्। नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन हुनेछन्। ‘महोत्सवमा नेपाली समाजभित्रको कथावस्तुमा आधारित फिल्महरु प्रदर्शन हुनेछन्,’ महोत्सवका अध्यक्ष बसन्त थापाले भने। महोत्सवमा प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्। नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन्। अस्मिना रञ्जित, माफिल कोट्स, जेक्यु ली र ग्याब्रियला कुह्नसनिणेलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन्।

‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शनी गरिनेछ। एडमण्ड हिलारीको शतवार्षिकीको अवसर पारेर सो फिल्म प्रदर्शन हुन लागेको हो। यस फिल्ममा हिलारी र तेन्जिङ नोर्गेले सन् १९५३ को मे २९ मा सफलतापूर्वक सर्वोच्च शिखरमा पुगेको ऐतिहासिक क्षणलाई समेटिएको छ। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन गरिनेछन्।

महोत्सवमा फिल्म प्रदर्शनीसँगै स्टोरी टेलिङ र छलफलसमेत हुनेछन्। एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन्।

प्रकाशित: २३ मंसिर २०७६ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App