८ वैशाख २०८१ शनिबार
अर्थ

अख्तियारले फाइल लगेपछि रोकियो खरिद प्रक्रिया

काठमाडौं – नेपाल प्रहरीको न्यानो कपडा खरिद प्रक्रिया तथा वितरणमा अनियमितता भएको पाइएको छ। नियम अनुसार नयाँ लुगा खरिदको लागि टेन्डर आह्वान अवधि सकिएपछि १५ दिनभित्र लुगा खरिद गर्न निर्णय भइसक्नुपर्छ। तर, हालसम्म पनि प्रहरी प्रधान कार्यालयले यसबारे कुनै निर्णय तथा टुंगो लगाउन सकेको छैन। लुगा खरिद गर्ने प्रक्रिया अघि बढ्न नसक्नुले प्रहरीभित्रै लुगा खरिदमा अनियमितता भएको स्रोतको भनाई छ।

प्रहरी प्रधान कार्यालयले ज्याकेट, कटनका सर्ट–पाइन्ट, उलन पाइन्ट–स्विटर, टिसर्ट, जुत्ता, मोजालगायत स्केलका सामान खरिदका लागि साउन २६ मा टेन्डर आह्वान गरेको थियो। प्रधान कार्यालयले गरेको टेन्डरको म्याद भदौ २४ मा सकिएको थियो। म्याद सकिएको तीन महिना बितिसक्दा पनि निर्णय हुन सकेको छैन। स्रोतका अनुसार ठेकेदारसँगको मिलोमतोमा प्रहरीले अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो।

उजुरीका आधारमा प्रहरीले पछिल्ला दुई वर्षयता गरेको कपडा तथा अन्य सामान खरिद विवरणको फाइल अख्तियारले मागेको छ। अख्तियारले फाइल मागेपछि प्रहरीले टेन्डर आह्वान गरे पनि प्रक्रिया अघि नबढाएको स्रोतको दाबी छ। ‘प्रहरी प्रधान कार्यालयले गरेको न्यानो लुगा तथा अन्य सामान खरिद प्रक्रियाको फाइल अख्तियारले माग्यो, त्यसपछि प्रहरीले प्रधान कार्यालयले न्यानो कपडा खरिदको निर्णय अघि बढाउन सकेन,’ स्रोतले भन्यो।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता विश्वराज पोखरेलले प्रहरीलाई चाहिने लुगा प्रधान कार्यालयले खरिद गरिसकेको बताए। ‘हामीकहाँ आएको बजेटमा प्रहरीका लागि चाहिने आवश्यक लुगा किनिसकेका छौं,’ उनले भने, ‘सरकार दिएको बजेट समयमै खर्च भएको छ, यो काम प्रबन्ध महाशाखाले गर्छ।’ उनले प्रहरीले न्यानो कपडा खरिदमा खर्च गरेको बजेटबारे बोलेनन्। ‘यसबारे मलाई थाहा छैन,’ उनले भने, ‘हामीकहाँ तथ्यांक आएको छैन।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का एसएसपी श्याम ज्ञवालीले प्रहरीमा नयाँ कर्मचारी भर्ना भएकाले उनीहरूलाई न्यानो कपडा अपुग भएको बताए। ‘सबैलाई नपुगेको होइन, नयाँ भर्ना भएका कर्मचारीलाई समस्या हो, लुगा खरिद प्रक्रियामा लिस्ट पठाउने क्रममा लिस्ट छुटेको हो,’ उनले भने, ‘अरुतिर लगभग पुगेको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको अनुसन्धान भइरहेको जानकारी दिए। ‘अख्तियारमा अहिले २४ हजार उजुरी परेका छन्, त्यसमध्ये केही प्रहरीमा परेका उजुरी पनि छन्, यी उजुरीमा अनुसन्धान भइसकेपछि मात्रै प्रमाणित हुन्छ,’ उनले भने।

प्रहरी प्रधान कार्यालयले मंसिरको पहिलो साता नै सबै मातहतका कार्यालय न्यानो कपडा पु-याउनु पर्नेमा केही सीमित कार्यालयमा मात्रै न्यानो कपडा पु-याएको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले यो वर्ष प्रहरी प्रधान कार्यालयले न्यानो कपडा नपठाएको जानकारी दिए। उनले जाडो सुरु भइसक्दा पनि यो वर्ष न्यानो कपडा वितरणमा ढिलो भएको बताए।

प्रकाशित: २३ मंसिर २०७६ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App