पेरिस– लियोनल मेसीलाई पछि पार्दै सोमबार विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीको पुरस्कार बालन डी’अर चौथोपटक जितेपछि क्रिस्टियानो रोनाल्डोले ‘फेरि सपना पूरा भएको’ बताएका छन् ।
तीन सिजनमा रियाल मड्रिडका लागि दोस्रोपटक च्याम्पियन्स लिग उपाधि जित्नुका साथै पोर्चुगललाई पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिताउने क्रममा युरो २०१६ को च्याम्पियन हुँदा नेतृत्व प्रदान गरेका रोनाल्डोका लागि बालन डी’अर जित्नु वर्षको सुखद अन्त्य थियो । फ्रान्समा जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फाइनलमा चाँडै घाइते भएर रोनाल्डो बाहिरिनुका बावजुद पोर्चुगलले धेरैको अपेक्षा विपरीत उपाधिमा कब्जा जमाएको थियो ।
झन्डै एक दशकदेखि विश्वको सर्वोत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा ३१ वर्षे रोनाल्डोलाई मेसीले चुनौती दिइरहेका थिए । तर बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टारका लागि बितेको वर्ष सुखद हुन सकेन । उनको प्रचुर क्षमताका बावजुद उनको क्लब र देश दुवैले मुख्य प्रतियोगिताहरूमा उपाधिको यात्रा गर्न सकेको थिएन । सोमबारको जितपछि रोनाल्डो मेसीभन्दा एक बालन डी’अर उपाधि टाढा छन् । पाँचपटक बालन डी’अर जितिसकेका मेसी यसपालि रोनाल्डोपछि दोस्रो स्थानमा सीमित भए भने फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा थिए ।
‘चौथोपटक बालन डी’अर पुरस्कार जित्नु मेरा लागि ठूलो सम्मानको विषय हो । भावनात्मक रूपमा भन्दा मलाई पहिलोपटक जिते जस्तो लागिरहेको छ । फेरि एकपटक सपना पूरा भएको क्षण हो यो मेरा लागि,’ क्लब विश्वकपका लागि रियाल मड्रिडको टोलीसँगै जापानमा रहेका रोनाल्डोले भने, ‘मैले चारपटक बालन डी’अर जित्छु होला भनेर कहिल्यै सोचेको पनि थिइनँ ।
त्यसैले म अत्यन्तै खुसी छु । मैले यो उपलब्धिका लागि पोर्चुगल र रियाल मड्रिका आफ्ना टिम सहयात्री, मलाई माया गर्ने सबै समर्थक र यो व्यक्तिगत उपाधि जिताउन सहयोग गर्ने सबै खेलाडीलाई धन्यवाद दिन चाहन्छु । चौथोपटक यो पुरस्कार पाउनु सहज कुरा होइन । त्यसैले म यो क्षणको भरपूर आनन्द दिन चाहन्छु ।’
रोनाल्डो, मेसी र ग्रिजम्यानपछि उत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा बार्सिलोनाका स्टारद्वय लुइस स्वारेज चौथो भए भने नेइमार पाँचौं भए । रोनाल्डोका रियाल मड्रिड टिम सहयात्री वेल्सका स्टार गारेथ बेल छैटौं स्थानमा रहे ।
रोनाल्डो यसपालि उत्कृष्ट खेलाडी पुरस्कारको सबैभन्दा बलियो दाबेदार थिए । तर कर छलीको आरोपमा पछिल्ला साताहरूमा चरम विवादमा फसिरहेका बेला बालन डी’अर जस्तो प्रतिष्ठित पुरस्कार जिते पनि रोनाल्डोले त्यसको भरपूर खुसी मनाउन सकेनन् । आफूले कुनै गल्ती नगरेको दाबीका साथ रोनाल्डोले गत साता आयव्यय सार्वजनिक गरेका थिए । जसमा गतवर्ष उनले २२ करोड ७० लाख युरो कमाएको देखाइएको थियो ।
‘म कति पनि चिन्तित छैन । गल्ती नगरेको मानिस कसैसँग डराउनुपर्दैन,’ रोनाल्डोले भने, ‘तर अनावश्यक रूपमा विवादमा तानिएकोले मलाई दुःख लागेको छ । मैले कुनै गल्ती गरेको छैन । आज पक्कै पनि मैले ठूलो उपलब्धि हासिल गरेको छु । तर यसको खुसीमा विवादले असर गरेको छ ।’
विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी रोनाल्डोले २००८ मा पहिलो पटक बालन डी’अर जितेका थिए । त्यति बेला म्यानचेस्टर युनाइटेडबाट इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग जित्दा महŒवपूर्ण भूमिका निर्वाह गरेवापत उनलाई विश्वको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो । त्यसपछिका सबै वर्ष मेसीले यो पुरस्कारमा कब्जा जमाइरहेका बेला रोनाल्डोले २०१३ मा दोस्रोपटक पुरस्कार जिते । २०१४ मा तेस्रोपटक रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
रोनाल्डोलाई बालन डी’अर जितेकोमा सबैभन्दा पहिला उनकै पूर्व क्लब म्यानचेस्टर युनाइटेडले ट्विटरबाट बधाई दियो । गत महिना थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका खेलाडीलाई उनको क्लब रियालले पनि ‘सनसनीपूर्ण वर्ष’ भन्दै बधाई दियो । १९५६ मा सम्पन्न बालन डी’अरको पहिलो संस्करणमा अल्फ्रेडो डी स्टेफानोलाई पछि पार्दै ब्ल्याकपुलबाट खेल्ने स्टानली म्याथुजले उपाधि जितेका थिए । बालन डी’अरको निर्णय १ सय ७३ पत्रकारको मतका आधारमा गरिने गरिन्छ ।
प्रकाशित: २९ मंसिर २०७३ ०५:२६ बुधबार