coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

कुश र दुबोको महत्व

छाला शरीरको पहिलो तह हो। यसले शरीरको सुरक्षा गर्छ। यसकारण छालाको सुरक्षा सिंगो शरीरकै रक्षा एवं बुढेसकालसम्म आकर्षक देखिनाका लागि महत्वपूर्ण छ। छालामा सूर्यको प्रकाशमा हुने अल्ट्राभायोलेट(युभी) अथवा पराबैजनी विकिरणको अचम्मको भूमिका रहन्छ।

ठिक्क न्यानो महसुस हुने घाममा बस्दा छालाले भिटामिन डी र एन्डोरफिन संश्लेषण गरेर शरीरलाई उपलब्ध गराउँछ। छालाको बाहिरी भागमा मेलानिन नामक तत्व हुन्छ। सामान्य अवस्थामा यसले छालालाई सूर्यको पराबैजनी किरणबाट जोगाउँछ। पोल्ने हदसम्म सूर्यको प्रकाश छालामा प¥यो भने त्यसले मेलानिन जलाउन सक्छ। फलतः छालाका कोषिका मर्ने, छाला कालो हुने र छालाको लचकता गुम्ने हुन्छ। अत्यधिक युभीले छालाका कोषमा रहेको डिएनएमा समेत क्षति पु¥याउँछ। जसले आनुवांशिक त्रुटि वा परिवर्तन र छालाको क्यान्सरसम्म निम्त्याएको पाइएको छ।

सूर्यको प्रकाशमा हुने युभी किरण युभी ए, युभी बी र युभी सी मिलेर बनेको हुन्छ। युभी सी विकिरणलाई पृथ्वीको ओजोन तहले वातावरणमा आउन रोक्छ। युभी बी विकिरण छालाको जलन र युभी ए मानिसलाई समयअघि नै बूढो बनाउन जिम्मेवार मानिन्छन्। पराबैजनी किरणको प्रतिकूल प्रभावबाट छाला जोगाउन तथा छालामा सूर्यको विकिरणको असर कम गर्न बजारमा धेरै प्रकारका सनस्क्रिन पाइन्छ। बजारमा पाइने यस्ता सनस्क्रिन आफ्नो काम गर्न सफल त छन्, तर यिनमा प्रयोग हुने युभी विकिरण रोक्ने जैविक केमिकल छालामा अन्य समस्या थपिदिने प्रकृतिका छन्।

आयुर्वेदिक मान्यताअनुसार मुटु र दिमागको ‘टोनिक’ मानिने दुबोको जुसले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ।

बजारमा रहेका सिन्थेटिक सामग्री समावेश सनस्क्रिनभन्दा प्राकृतिक पदार्थयुक्त सनस्क्रिन धेरै सुरक्षित हुने हुनाले औषधीय बोटबिरुवाबाट सनस्क्रिन बनाउने विकल्प खोजियो। विभिन्न एन्टिअक्सिडेन्ट, फिनेल, ग्लाइकोसाइड(जस्तै ः एस्कुलिन) आदि औषधियुक्त बोटबिरुवाका एक्सट्रेकले पराबैजनी विकिरण सोस्ने क्षमता राख्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पुष्टि भयो। 

लामो समयदेखि कुश– कागज, फिल्टर सामग्री निर्माण तथा आन्तरिक चोटपटक, पिड्का आदिको उपचारमा उपयोग भइरहेकै हो। कुशको एक्सट्रेकमा एन्टिअक्सिडेन्ट, फिनेल, ग्लाइकोसाइड आदि पदार्थ भेटिए। राम्रो, सस्तो र हानिकारक रसायनको सुरक्षित विकल्पका रूपमा सनस्क्रिनमा प्रयोग हुन सक्ने पदार्थमा कुश अब्बल देखियो। राम्ररी कुश भिजाइएको पानीमा ब्याक्टेरिया र ढुसी जीवाणुरोधी क्षमता अध्ययनमा पाइयो। जुन पानी उमालेर काटेको र घाउ भएको ठाउँ सफा गर्न उपयोगी हुन्छ। परम्परागत रूपमा कुशको लेदोबाट बनाइने लेपन घामको विकिरणले छालामा पु¥याउने हानिबाट बच्न प्रयोग गरिएका प्रमाण पनि भेटिएका छन्। कालान्तरमा यसलाई सूर्यको विकिरणलाई छालामा जानबाट रोक्ने क्षमता यकिन नभएको भनी सिन्थेटिक सनस्क्रिन बिक्रेताहरूको दबाबमा प्रयोग हुनबाट रोकिएको बुझिन्छ।

पूजाआजामा हामीले प्रयोग गर्ने दुबोलाई युनानी औषधि प्रणालीमा दिसा खलास गर्ने, शरीर शीतल बनाउने, खोकी निर्मूल पार्ने औषधि तथा दिमाग र मुटुको टोनिकका रूपमा चित्रण गरिन्छ। होमियोपाथिक औषधि प्रणालीमा यो सबै प्रकारका रक्तस्राव र छालाका समस्याको उपचारमा प्रयोग गरिन्छ। आयुर्वेदमा भने दुबो आँखाका समस्या, पिसाब पोल्ने, जीउ बाउँडिने, घाउजस्ता धेरै समस्यामा प्रयोग हुने जडीबुटी मानिन्छ। त्यस्तै दुबोको पेस्ट बनाएर छालामा दल्दा लुतो, दाद, घमौरा र चिलाउने रोग निको हुने मान्यता छ। 

दुबोमा पाइने नानाकोसेन एउटा यस्तो फिरामोन हो, जुन एन्टिब्याक्टेरियल हुन्छ र यसले मानिसमा रगतको नसा फुलाउन, पिसाबमार्फत रगतमा रहेको अत्यधिक नुन हटाउन सहयोग गर्ने, हर्मोन उपलब्ध गराउने, रगतको रक्तचाप बढ्न नदिने आदि काम गर्छ।

फाइटोलले शरीरमा भिटामिन ई र के–१ बनाउने मुख्य भूमिका खेल्छ। भिटामिन ई र के–१ स्तन क्यान्सर हुनबाट रोक्ने एन्टिअक्सिडेन्ट हो। यो मानिसमा कुनै पनि साइडइफेक्ट वा प्रतिकूलताबिना काम गर्ने प्रतिरक्षा वा इमुनसिस्टम विकास गर्ने प्रभावकारी खोपका रूपमा प्रयोग हुन्छ। फाइटोल क्लोरोफिलको एउटा भाग पनि हो, जसले फाइटोनिक एसिड बनाउँछ। जुन टाइप–टु डाइबिटिजको उपचारमा प्रयोग हुन्छ। फाइटोल छालाका रोगहरू जस्तै ः डन्डिफोर, घमौरा, लुतो, पोल्ने आदिमा मानिसलाई बिरामी पार्न जिम्मेवार स्ट्याफाइलोकोकस औरसप्रतिरोधी हुन्छ।

दुबोमा हुने हेक्जाडिकानोइक एसिड र इथरका इस्टर पाल्मेटिक एसिडमा आधारित इस्टर हुन्, जसको उत्कृष्ट एन्टिअक्सिडेन्ट क्षमताले आन्द्रामा क्यान्सर सेल उत्पन्न हुन र बढ्नबाट रोक्छ। एन्टिअक्सिडेन्ट प्रकृतिको हेक्जाडिकानोइक एसिडले खराब चिल्लो पदार्थ आदि खाँदा रगतमा पैदा हुने कोलेस्ट्रोल शरीरबाट बाहिर फाल्न सहयोग गरेको पाइएको छ। दुबोमा उल्लेख्य मात्रामा पेन्टाडिकेन र पेन्टाकोसेनजस्ता तŒवसमेत पाइन्छन्। जुन इकोली र स्ट्याफाइलोकोकस औरसजस्ता हानिकारक ब्याक्टेरियाप्रतिरोधी हुने हुँदा घाउ र काटेको ठाउँमा निको गर्ने र मधुमेहमा यसले औषधिको काम गर्छ। ३० ग्रामको सानो मुठा हरियो दुबो झारलाई राम्रोसँग सफा गरी एक कप पानी, एक चिया चम्चा कागतीको रस, एक चिया चम्चा अलैंचीको पाउडर र एक टेबल चम्चा शुद्ध महसँग मिसाएर खाने चलन निकै छ।

आयुर्वेदिक मान्यताअनुसार मुटु र दिमागको टोनिक मानिने दुबोको जुसले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ। साथै रजस्वला हुने क्रममा पेटको तल्लो भाग दुख्ने, मुखमा अमिलो पानी आउने, गिजाबाट रगत बग्ने, कब्जियत, एनिमिया, पखाला, नाथ्री फुट्ने, नाक बन्द हुने आदि समस्या हुँदा तथा रगतमा चिनी नियन्त्रण गर्न, बच्चालाई दूध खुवाउने आमाको दूध धेरै आउने बनाउन, डन्डिफोर, पिड्का, घमौराजस्ता छालाका विकार घटाउन, रगत सफा गर्न, मोटोपन घटाउन, दिमाग स्वस्थ राख्न दुबोको जुस पिउने र कतिपय अवस्थामा दुबै चपाउने पनि चलन छ।

अहिले धेरै स्थानमा दुबोको जुस व्यावसायिक रूपमै बिक्री हुने गर्छन्। हरियो दुबो, दुबोको एक्सट्रेकका अलावा सुकेको दुबो र त्यसको धुलो पनि खाने र पायल्स, आँखाको संक्रमण, छालाको बिबिरा, लुतो र घमौरा तथा डन्डिफोर आदिको उपचारमा यो प्रयोग भइरहेको छ। हाल अमेरिकी बजारमा १५ वर्षभन्दा माथि उमेरकाले मात्र दैनिक २५–३० एमएल खान सिफारिस गरिएको छ भने भारतमा दुबोको पाउडर, तुलसीको पाउडर र सोफको पाउडर मिसाएर बनाइएको दुबोको रस, बर्मुडा झारको रस डायटरी सप्लिमेन्ट वा पूरक आहारका रूपमा किन्न पाइन्छ। तर नेपालमा न कुश न दुबो, दुवै व्यावसायिक रूपमा गुमनाम छन्।
खाद्य तथा औषधिविज्ञ

प्रकाशित: २३ मंसिर २०७६ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App