coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वाधार अभावले काम गर्न सकस

ताप्ली गाउँपालिकाले बनाउन लागेकाे भवनकाे नक्सा।

उदयपुर – सञ्चालनमा आएको अढाई वर्ष हुँदा पनि स्थानीय तहका कार्यालय छैनन्। कतिपय तहका कार्यालय भए पनि अन्य पूर्वाधार छैनन्। साबिक गाउँ विकास समितिलाई वडामा परिणत गर्दै ०७३ मा पुनर्संरचना भई ०७४ असार १४ गते निर्वाचन सम्पन्न भएपछि ‘गाउँगाउँमा सिंहदरबार’ को नारासहित सञ्चालनमा आएका स्थानीय तह अहिलेसम्म भवनलगायत भौतिक पूर्वाधारविहीन छन्। भवनसहित अन्य पूर्वाधार नहुँदा काम गर्न समस्या भएको स्थानीय तहका अधिकारीले बताएका छन्।

उदयपुरका स्थानीय तहहरु कुनै भाडाका घरमा सञ्चालित छन् त कुनैले पुराना भवन टालटुल गरेर जसोतसो काम चलाउँदै छन्। कतिपय स्थानीय तह बाँसका छाप्रामा कार्यालय भवन चलाउनुपर्ने बाध्यतामा छन्। पहाडी भेगका अधिकतर स्थानीय तहको काम भवन अभावमा बाँसका टाटी बारेर बनाइएका टहराबाट भइरहेको छ।

उदयपुरका ८ स्थानीय तहमध्ये दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले बाँसको टाटी बनाएको छाप्रोजस्तो घरमा कार्यालय सञ्चालनमा गरेको छ। बाँसको छाप्रोमा कार्यालय सञ्चालन गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए। पाँचकोठे छाप्रोमा कोठा अभावमा कर्मचारीले राम्ररी बस्नसमेत नपाएको गाउँपालिकाका लेखाअधिकृत ताराकिरण राई बताउँछन्। उनका अनुसार गाउँपालिका केन्द्र आसपास गतिला घर कसैको नभएकाले पनि दुःखले साँघुरो कोठामा जनप्रतिनिधिदेखि सबै कर्मचारी एकैठाउँ बसेर काम गर्नुपर्ने बाध्यता छ।

गाउँपालिका अध्यक्ष मेजरकुमार राईले संरचना, कार्यालय, जनप्रतिनिधि र कर्मचारी सबै नयाँ भएकाले पनि सेवा प्रवाहमा कठिनाइ भएको बताए। पहिलो वर्ष झोलामै कागजात बोकेर जनप्रतिनिधि र कार्यालय प्रमुखको घरघरबाट काम चलाउनुपरेको अध्यक्ष राईले बताए। स्थानीयले बाँसको छाप्रो बनाएर भाडामा दिएपछि अहिले गाउँपालिकाको सम्पूर्ण काम त्यहींबाट चलाउँदै आएको उनले बताए। गाउँपालिकाको भवन बनाउन बजेट विनियोजन गरेको उनले बताए। चालु वर्षको गाउँसभाबाट भवन बनाउन एक करोड रुपैयाँ जिनियोजन गरी माटो परीक्षणको कामसमेत भइसकेको राईले बताए।

गाउँपालिका उपाध्यक्ष रमिला राईका अनुसार प्राविधिकले माटो परीक्षण गरिसकेकाले अब इस्टिमेट तयार पारी ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ।

जिल्लाका अन्य गाउँपालिका पनि भवन अभावमा विद्यालय, स्वास्थ्यचौकी र पुराना घर भाडामा लिएर कार्यालय चलाउनुपर्ने बाध्यतामा छन्। जिल्लाको अर्को विकट गाउँपालिका ताप्ली रुपाटार माविको चारकोठे पक्की भवन र स्वास्थ्य चौकी रुपाटारको अर्को ६ कोठे भवनमा चलाइएको छ। एउटा भएको पक्की भवन पनि गाउँपालिकाले लिएपछि विद्यालयले पुरानो र जीर्ण भवनमा पठनपाठन गराउनुपरेको छ। ताप्लीले बहुआयामिक र सुविधासम्पन्न ३ तले भवन निर्माण गर्दैछ। रुपाटारस्थित गाउँपालिका केन्द्रमा गत वर्षदेखि निर्माण सुरु भएको आकर्षक डिजाइनको भवन ७ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको हो।

भवन अभावको पीडामा रौतामाई गाउँपालिका पनि छ। साबिक भुट्टार गाविसमा गाउँपालिका केन्द्र तोकिए पनि पुरानो र जीर्ण भवनमा बस्नै नसक्ने भएपछि सुरुदेखि नै सदरमुकाममा सम्पर्क कार्यालय खोलेर सेवा दिइरहेको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बताए। उनले भुट्टारमा सडकसमेत नपुगिसकेको र भवन तथा बैंक नभएपछि गाईघाटमा सम्पर्क कार्यालय खोलेर काम चलाउन बाध्य भएको बताए। रौतामाईले भर्खरै एउटा सभा भवन बनाएको छ। तर, जनप्रतिनिधि र कर्मचारीलाई चाहिने कार्यकक्ष भने अझै अभाव रहेको खड्काले बताए। प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले सभा भवन बनेयता बैठक र गाउँसभा गर्न सहज भए पनि जनप्रतिनिधि र कर्मचारीलाई कार्यकक्ष अभावले काम गर्नै अप्ठेरो भएको बताए। गाउँपालिकामा शिक्षा, कृषि, पशु, स्वास्थ्य, सामाजिक विकास, विपत्, सहकारी, महिला, अपांगताजस्ता थुप्रै विषयगत शाखाका लागि अलग अलग कार्यकक्ष चाहिनेमा भवन नहुँदा अप्ठेरो भएको उनले बताए।

त्यस्तै उदयपुरगढी गाउँपालिकाले पनि साबिक पञ्चावती गाविसको उदयपुरगढीस्थित एकतले भवनमा कार्यालय सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकीमगले भवन भए पनि कर्मचारी र जनप्रतिनिधिलाई कोठा अपुग भएकाले नयाँ भवन बनाउनुपर्ने बताए।

जिल्लाका चार नगरपालिकामध्ये बेलका नगरपालिकाले पनि भवनको अभाव झेल्नुपरेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए। उनका अनुसार नगरपालिकाले बहुवर्षीय योजनाअन्तर्गत भवन बनाउन थालेको भए पनि चालु वर्ष भुइँतला मात्र बन्ने छ। चौदन्डी गढी, कटारी र त्रियुगा नगरपालिकाका भने साँघुरै भए पनि कार्यालय भवन छन्। चौदण्डीगढीले साबिक बेलटार बसाहा नगर भवनबाट काम सञ्चालन गरेको छ। कोठा अभाव भएकाले उसले तीन वटा टहरा थपेको छ। नगरप्रमुख खगेन्द्र राईले नयाँ भवन बनाउने योजना अघि बढाइएको जानकारी दिए। सदरमुकाममा भएकाले त्रियुगाले अरुले जस्तो भवन अभावको समस्या भोग्नुपरेको छैन। कटारी नगरपालिकाले साबिक गाविस भवनबाट कार्यालय चलाएको छ। उसले कार्यालय परिसरमा एउटा टहरा पनि बनाएको छ। कटारी नगरपालिकाले बसपार्कनजिकै गत वर्ष बनाएको एकतले बहुआयामिक भवन भने भाडामा लगाएको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App