coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समय एक महिना, काम ८० प्रतिशत बाँकी

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको छ।

आयोजनाको प्रगति १५ देखि २० प्रतिशत देखिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका इन्जिनियर माधवेन्द्र चौधरीले बताए। निर्माण कम्पनीका कारण समयमै काम सकिने अवस्था नदेखिएको उनको भनाइ छ। नदीको पानी गाउँ ल्याउने महत्वाकांक्षी योजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सुस्त रहेको पाइएको इन्जिनियर चौधरीले जनाए।

नगरपालिकाका सातवटा वडामा रहेको खानेपानी समस्या टार्न यहाँ ९६ करोड रूपैयाँ लगानीमा काम सुरु गरिएको हो।
दूधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर २, डिकुवाको भुम्जुडाँडा र वडा नम्बर ७, महादेवस्थानको काभ्रेडाँडामा ल्याउने मुख्य लाइनको ठेक्का दिवा–महादेव खिम्ती जेभीले लिएको छ। यसकोे भौतिक प्रगति अहिलेसम्म करिब पाँच प्रतिशत छ। यो आयोजनाको मुख्य काम हो। निर्माण कम्पनीले ३१ करोड ७५ लाख रूपैयाँ लगानीमा आगामी पुस १७ गतेसम्म काम सक्ने गरी २०७४ असार २१ गते ठेक्का सम्झौता गरेको थियो।

दूधकोसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी ल्याउन नदी किनारमा सम्पवेल, महादेवबेसीदेखि काभ्रेडाँडा र लुलिमादेखि भुम्जुडाँडाबीचमा ६–६ वटा लिफ्ट ट्यांकी, ६–६ किलोमिटर पाइपलाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडानलगायत काम गर्नुपर्ने सम्झौता छ।

भुम्जुडाँडा र काभ्रेडाँडामा ३–३ लाख लिटरका चारवटा रिजर्भ ट्यांकी निर्माण गर्नुपर्छ। एक महिना समय बाँकी रहँदा महादेवबेसीमा सम्पवेल र नजिकैको ट्यांकी निर्माण पूरा भएको छैन। महादेवबेसी र काभ्रेडाँडाको ६ किलोमिटरमध्ये करिब २५ सय मिटर सिमलेस पाइप (१६८ एमएमको) जडान गरिएको छ।

लुलिमाबाट भुम्जुडाँडाको ६ किलोमिटरमध्ये तीन किलोमिटर पाइपलाइनको काम पूरा गरिएको दिवा–महादेव खिम्तीका इन्जिनियर गोविन्द झाले बताए। आयोजनाको काममा ढिलो हुँदा पनि दिवा–महादेवका डाइरेक्टर रवि सिंह निर्माणस्थलमा नआउने गरेको कामदारको भनाइ छ। ‘बाँकी महिना दिनमा केही हुन्न,’ इन्जिनियर झाले भने, ‘तर कामलाई तीव्रता दिन्छौं।’

दिवा–महादेव खिम्तीले जिम्मा लिएको मुख्य कामको प्रगति नहुँदा अन्य ठेकेदारलाई पनि बहाना बनाउन सजिलो भएको स्थानीय बताउँछन्। आयोजनाको काम सुस्त भएको भन्दै स्थानीय अगुवाले गत भदौ अन्तिम हप्ता खानेपानी मन्त्री बिना मगरको ध्यानाकर्षण गराएका थिए। यो आयोजनाबाट यहाँका तीन हजार सात सयभन्दा बढी घरधुरीमा खानेपानी वितरण गर्ने तयारी छ।

वितरण लाइन पनि उस्तै
यस आयोजनाको वितरण लाइनतर्फको ठेकेदार लामा कन्सट्रक्सन र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काम पनि सुस्त छ। काभ्रेडाँडामा ल्याएको पानी २०७७ असार ३० गतेसम्म महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी २०७५ असार ३१ मा सम्झौता गरेको ठेकेदार कम्पनीले अहिलेसम्म तीन प्रतिशत मात्रै भौतिक प्रगति गरेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाले जनाएको छ।

यो ठेक्का २६ करोड ७५ लाखको हो। ७३ वटा आरभिटी ट्यांकी निर्माण गर्नुपर्नेमा ६ वटा मात्रै सकिएका छन्। एक सय ७७ किलोमिटर पाइपलाइनमध्ये अहिलेसम्म १६ किलोमिटर सकिएको छ। निर्माण कम्पनीले भने तोकिएकै समया काम सक्ने दाबी गर्दै आएको छ। आवश्यक निर्माण सामग्री आइसकेकाले तोकिएको समयमा काम गर्न कुनै समस्या नरहेको रमन सगरमाथा जेभीका साइड इन्चार्ज रामभक्त मास्केले बताए।

अर्कोतर्फ भुम्जुडाँडामा ल्याएको पानी बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्न ठेक्का लिएको लामा कन्सट्रक्सनले करिब १५ प्रतिशत काम सकेको छ। एक सय २२ वटा ट्यांकीमध्ये १२ वटा निर्माणाधीन अवस्थामा छ। तीन सय किलोमिटर पाइप लाइनमध्ये ४० किलोमिटर पूरा भएको छ। उक्त निर्माण कम्पनीले ३७ करोड ९३ लाखमा २०७७ असार ३० गतेसम्म सक्ने गरी २०७५ असार ३१ मा सम्झौता गरेको थियो।

परीक्षण एउटा, प्रयोग अर्कै
वितरण लाइनको ठेक्का लिएको रमन सगरमाथा जेभीले ल्याब टेस्ट नगरेको बालुवा प्रयोग गर्दै आएको फेला परेको छ। ट्यांकी निर्माणका लागि दूधकोसी किनार जयरामको बालुवा ल्याब टेस्टमा पास गराए पनि सुनकोसीको प्रयोग गरिरहेको फेला परेको इन्जिनियर चौधरीले बताए।

प्रकाशित: २३ मंसिर २०७६ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App