coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थ्री स्टारद्वारा ६ करोड क्षतिपूर्ति माग

काठमाडौं-सामुदायिक लगानी र आफ्नो मिहिनेतको बलमा पाएको एएफसी कप प्लेअफ खेल्ने अधिकारबाट विमुख भएपछि नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्तिका साथै दोषीमाथि कारबाहीको माग गरेको छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरवाहीका कारण एएफसी कपको प्लेअफ खेल्ने अधिकारबाट वञ्चित भएको थ्री स्टारले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

क्लबले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग पूरा नभएसम्म फुटबल नखेल्ने घोषणा पनि गरेको छ । सहजै एन्फाले माग पूरा नगरे राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबलको सर्वोच्च निकाय फिफासम्म गुहार्ने क्लब अध्यक्ष अरुणमान जोशीले बताए । उनले सम्बन्धित निकायको पहलमा पनि माग पूरा नभए सबै क्लब एकजुट भएर आन्दोलित हुने चेतावनी दिएका छन् ।

भदौमा मंगोलियामा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह ‘बी’ को च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणलाई छानिएको थियो । प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका रूपमा थ्री स्टार छानिएको हो । अन्य सहभागी मंगोलियाको इर्चिम एफसी ३ अंकसाथ दोस्रो तथा कम्बोडियाको नागावल्र्ड क्लब १ अंकसाथ पुछारमा समेटिएका थिए । समूहको शीर्ष टोली स्वतः प्लेअफमा छानिने प्रस्ट प्रावधान भए पनि एन्फाको गल्तीका कारण थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्लेअफ खेल्ने मौका पाएको थियो ।

एएफसीको बारम्बार ताकेताका बावजुद एन्फाले समयसीमाभित्र क्लब तथा टिम दर्ता नगराएका कारण थ्री स्टार प्लेअफ खेल्नबाट वञ्चित भएको थियो । प्लेअफका लागि अर्को मंगलबार एएफसी मुख्यालयमा ‘ड्र’ हुँदा यसैका लागि गरिएको छनोट चरण पार गरेको थ्री स्टारको उपस्थिति थिएन । थ्री स्टारको ठाउँमा समावेश इर्चिम एफसीले प्रारम्भिक चरणको प्लेअफअन्तर्गत पूर्वी क्षेत्रको प्रतिस्पर्धामा चाइनिज ताइपेईको टाटुङ एफसीलाई प्रतिद्वन्द्वीमा पाएको थियो । थ्री स्टारको सहभागिता भएको भए प्रारम्भिक प्लेअफमा दक्षिण एसियाली टोलीबीच राखेर ‘ड्र’ गरिन्थ्यो । जहाँ टोलीले भारतको मोहन बगान, श्रीलंकाको कोलम्बो एफसी, भुटानको थिम्पु सिटी र माल्दिभ्सको क्लब भ्यालेन्सियामध्ये कसैसँग खेल्नु पर्न सक्थ्यो ।

गत साता एएफसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत ‘ड्र’ का लागि उपलब्ध देश र टिमको नामावली सार्वजनिक गर्दा आफ्नो नाम नदेखेपछि थ्री स्टारले सोधीखोजी सुरु गरेको थियो । ‘हामीले लिखित रूपमा जानकारी माग गर्दा एन्फाले आफ्नो सचिवालयको गल्ती भएको स्विकार गरेर जवाफ दिएको छ । एन्फाले हामीसँग माफी माग्दै छानबिनका लागि समिति पनि बनाएको छ । तर गल्ती भएको स्वीकारेपछि समिति बनाउनुको कुनै अर्थ रहन्न । यसले एन्फा दोषीलाई कारबाही गर्न गम्भीर छ भन्ने देखाउँदैन,’ थ्री स्टारका महासचिव सन्जिव सिल्पकारले भने, ‘एएफसीले बारम्बार क्लब दर्ता गराउन पत्राचार गर्दा पनि एन्फाको अकल्पनीय गैरजिम्मेवारी तथा लापरबाही साथ उदासीनता देखाउँदा हाम्रो सहभागिता हुन सकेन ।’

क्लब आफैले बारम्बार ताकेता गर्दा एन्फा गम्भीर नभएका कारण नेपाली व्यावसायिक फुटबलकै भविष्य अन्योलमा पर्ने खालको अवस्था आएको उनको भनाइ थियो । ‘हामीले सोध्दा उहाँहरूले एएफसीमा बुझेर खबर गर्छौं भन्नुभयो । सोझै एएफसीमा कुरा गर्न खोज्दा त्यहाँबाट एन्फालाई जानकारी गराउँछौं भन्ने जवाफ आयो,’ सिल्पकारले दुखेसो गरे, ‘एएफसीले आफ्नो सदस्य देशको फुटबल संघबाहेक क्लबहरूसँग डिल नगर्ने रहेछ । उहाँहरूले त्यही जानकारी गराउनुभयो । त्यहीअनुसार एएफसीबाट क्लबको नाम दर्ता गराउन एन्फामा चारपटक इमेल आउँदा पनि त्यसको जवाफ नजानु दुर्भाग्यजनक कुरा हो ।’
एएफसीले बारम्बार ताकेता गर्दा पनि एन्फाले टिम दर्ता प्रक्रियामा उदासीनता देखाएका कारण थ्री स्टारको ठाउँमा इर्चिमलाई समावेश गरेको बताएको थियो ।

एन्फालाई अघिल्लो मंगलबार गरेको इमेलमा एएफसीका प्रतियोगिता विभाग निर्देशक सिन मान गिलले चारपटक ताकेता गर्दा पनि एन्फाले जवाफ नदिएका कारण थ्री स्टारलाई सहभागी गराउने सम्भावना सकिएको प्रस्ट पारेका थिए ।

‘हामीले सेप्टेम्बर २६ मा प्रारम्भिक पत्र पठाएपछि पनि तीनपटक (अक्टोबर ३०, नोभेम्बर २१ र नोभेम्बर २५) मा इमेलमार्फत स्मरण गराउँदा समेत एएफसीले एन्फाबाट कुनै जवाफ पाएन । साथमा सहभागी टिमको सम्झौता, दर्ता फारम र जर्सीको रंग जस्ता डकुमेन्ट पनि एएफसीमा तपाईको संघबाट आएन,’ एन्फा महासचिव धिरेन्द्र प्रधानलाई सम्बोधन गर्दै गिलले पठाएको इमेलमा लेखिएको थियो, ‘नोभेम्बर १४ सम्म समयसीमामा टिम दर्ता नभएपछि हामीले नोभेम्बर २१ मा स्मरण गराउँदै नोभेम्बर २३ सम्मको नयाँ समयसीमा दिएका थियौं । तर त्यसमा पनि दर्ता नभएपछि एएफसीले थ्री स्टार क्लबको दर्ता स्विकार गर्न नसक्ने जानकारी गराउँछौं ।’

छनोट चरणमा मात्र ७० लाख रुपैयाँभन्दा बढी खर्च भएको बताउँदै थ्री स्टारका महासचिव सिल्पकारले त्यसअघिको लिग र खेलाडी अनुबन्धनमा करोडौं रुपैयाँ खर्च भएको विवरण पेश गरे । उनले क्लबको ब्रान्ड इमेजमा परेको असर, प्रायोजक, पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा शुभचिन्तकमा परेको चोट, प्लेअफ खेल्न एएफसीबाट प्राप्त हुने तयारी खर्च तथा प्लेअफ जित्दा पाउने १ लाख डलर पुरस्कारसहितको सम्भावना देखाउँदै ६ करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने जिकीर गरे ।
‘हामीले त्यहाँ दक्षिण एसियाली टोलीहरूसँग खेल्ने थियौं । विगतमा हामीले दक्षिण एसियाका ठूला टिमहरू मोहन बगान र इस्ट बंगाललाई हराइसकेका छौं ।

त्यसैले प्लेअफमा पहिलो हुने हामीसँग व्यावहारिक सम्भावना थियो,’ उनले भने, ‘यस बाहेक पनि अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने ठूलो अवसर हामीले गुमाएका छौं । यही अवसरका लागि क्लबले वर्षौदेखि मिहिनेत र लगानी गरेको थियो । अहिले आफ्नै बलमा त्यो हक पाउँदा पनि एन्फाको नालायकपनका कारण गुमाउनुप¥यो ।’
ताकेताका क्रममा एएफसीबाट आएको एउटै इमेलमा थ्री स्टारको दर्ता र एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरलाई एउटा कार्यक्रममा सहभागी गराउने विषय उल्लेख भएकोमा एन्फाले तुलाधरको विषयमात्र सम्बोधन गरेको सिल्पकारको आरोप थियो । ‘एउटै इमेलको पहिलो प्याराग्राफमा लेखिएको थ्री स्टारको विषयमा एन्फाले केही गरेन । सिइओ भने त्यही मेलका आधारमा विदेश गएर फर्किइसकेका छन्,’ सिल्पकारले भने ।

थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले सहभागिताबाट वञ्चित हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए । ‘हामीले खेल्न नपाउने भइसक्यौं, अब यो विषयमा खेलाडी र प्रशिक्षकको काम सकिइसक्यो । एउटा टिमले सधँै यस्तै अवसरका लागि मिहिनेत गरेको हुन्छ । तर एन्फाको लापरबाहीका कारण छनोट भएको प्रतियोगिता खेल्न नपाउनु दुर्भाग्यपूर्ण कुरा हो,’ केसीले प्रश्न गरे, ‘गल्ती गर्दा खेलाडी, क्लब, प्रशिक्षक, रेफ्री सबैलाई कारबाही हुन्छ । एन्फाले भने बीसौं वर्षदेखि यस्तो गरिरहेको छ । एन्फालाई कारबाही गर्ने कुनै निकाय देशमा छैन ? कि एन्फा सबै कानुनभन्दा माथि हो ?’

प्रशिक्षकहरूको तर्फबाट बोलेका बालगोपाल महर्जनले राम्रो गर्नेलाई पुरस्कार तथा नराम्रो गर्नेलाई सजायको व्यवस्था नभएसम्म फुटबल विकासको अभियान कुरामै सीमित हुने बताए । क्लबलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्नुपर्ने उनको माग थियो ।

यसैगरी ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरूको तर्फबाट बोल्दै जावलाखेल युथ क्लबका अध्यक्ष ठूलोभाइ केसीले थ्री स्टारमाथि भएको अन्यायविरुद्ध क्लबहरू एकजुट भएर प्रस्तुत हुने बताए । थ्री स्टार क्लबको आधिकारिक फ्यान क्लब वी आर स्टार्सका अध्यक्ष कृष्ण कार्कीले माग पूरा नभए एन्फाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।
‘प्रविधिको यो युगमा एउटा इमेल गरेको भरमा हुने काम गर्न नसक्नेले देशको फुटबल हाँक्न सक्दैन । थ्री स्टारमात्र नभई सम्पूर्ण नेपाली फुटबलप्रति ठूलो अन्याय भएको छ,’ उनले भने, ‘यसको क्षतिपूर्ति नभए हामी कडा आन्दोलनमा उत्रन बाध्य हुन्छौं ।’

भदौको पहिलो साता सुरु भएको छनोट चरणमा नेपाली प्रतिनिधि थ्री स्टारले पहिलो खेलमा घरेलु टोली इर्चिम एफसीलाई २–० ले हराएपछि अर्को खेलमा नागावल्र्डसँग १–१ को बराबरी नतिजा निकाल्दै शीर्ष स्थान हासिल गरेको थियो । भदौ ५ मा सम्पन्न पहिलो खेलमा अजायी मार्टिन्स कायोडे र कप्तान विक्रम लामाको गोलमा विजय पाएको थ्री स्टारले दोस्रो खेलमा बराबरी नतिजा निकाल्दा नाइजेरियाका मार्टिन्सले नै गोल गरेका थिए । सँगै भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ बाट किर्गिस्तानको डोर्डोई डाइनामो तथा समूह ‘सी’ बाट चाइनिज ताइपेईको टाटुङ एफसी प्लेअफका लागि छानिएका थिए ।

सन् २००५ मा पहिलोपल्ट प्रेसिडेन्ट्स कप फुटबल हुँदा नेपालको प्रतिनिधित्व गरेको थ्री स्टारले गतवर्षको राष्ट्रिय लिग जित्दै एएफसी कप पनि पहिलोपटक खेल्ने मौका पाएको थियो । त्यति बेला काठमाडौंमा सम्पन्न प्रेसिडेन्ट्स कपको सेमिफाइनलसम्म पुगेर टाई–ब्रेकरमा पराजित थ्री स्टार यसपालि पनि अघिल्लो चरणलाई छानिएको हो । तर एन्फाको गैरजिम्मेवारीका कारण टोली एएफसी कपमा भने दोस्रो चरण खेल्नबाट वञ्चित भयो ।

एन्फाले शुक्रबार बोर्ड बैठकबाट यो विषयमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने म्यान्डेटका साथ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिको सदस्यमा एन्फाका विकास निर्देशक सञ्जिव मिश्र र कार्यकारी सदस्य रमेश रायमाझी छन् ।

प्रकाशित: २९ मंसिर २०७३ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App