६ वैशाख २०८१ बिहीबार
शिक्षा

एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

सुम्सेन थापाको नाममा काटिएको चेक। तस्बिर : नागरिक

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ।

किर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैंकमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। सोही अभियोगमा आरोपित प्रतिष्ठानका डाक्टर रोशन यादव भने फरार छन्।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन्। उनीहरूले ६ महिनाअघि लेखा शाखाको ड्रबाट चेक चोरी गरेको बयान दिएका छन्। चेकमा अस्पताल निर्देशक डाक्टर गौरीशंकर शाह र तत्कालीन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ। गत भदौ १९ गतेको मितिमा काटिएको सो चेक विद्यार्थीहरूले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका थिए। अस्पताल निर्देशक डाक्टर साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।

चेक किर्ते गरेको अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले चेकमा भएको हस्ताक्षर स्टाम्प हानेको जस्तो देखिए पनि भेरिफाइ गरेकाले बैंकका दुई कर्मचारी पक्राउ गरेको जनाएको छ। ‘अनुसन्धान गर्दा तीनजना मिलेर किर्ते गरेको देखियो, पक्राउ परेका विद्यार्थीले चेक चोरेको बयान दिएका छन्,’ डिएसपी न्यौपानेले भने, ‘चेकमा भएको हस्ताक्षर हेर्दा स्टाम्प हानेको जस्तो देखिन्छ, त्यसलाई पनि भेरिफाइ गरिएको छ।’ चेकमा भएको हस्ताक्षर अस्पताल निर्देशक डाक्टर साह र दाहालको वास्तविक भए नभएको जाँच गर्न प्रहरीले प्रयोगशाला पठाएको छ। साथमा दुवैको आधिकारिक हस्ताक्षर र पटकपटक पुनः हस्तक्षर गर्न लगाएर प्रहरीले प्रयोगशाला पठाएको छ। यो काण्डमा अब प्रहरीलाई प्रयोगशालाको रिपोर्टको प्रतिक्षा छ।

प्रहरीले प्रतिष्ठानको लेखा शाखाका कर्मचारीहरूसँग पनि यो घटनाको विषयमा पटकपटक बयान लिइसकेको छ भने सनराइज बैंकको धरानस्थित शाखाका कर्मचारीहरूलाई पनि अनुसन्धानको दायरामा राखेको छ। प्रतिष्ठानले असार ३१ गते नै बैंकको धरानस्थित शाखालाई पत्र पठाएर चेकमा अस्पताल निर्देशक डाक्टर साह र पूर्व लेखा प्रमुख दाहालको हस्ताक्षर नचल्ने जानकारी गराएको थियो। साउन महिनादेखि चेकमा कार्यबाहक उपकुलपति डाक्टर गुरु खनाल र लेखा प्रमुख रूपा सिंघाचीको हस्ताक्षर चल्नुपर्ने थियो। तर बैंकको सिस्टममा यो कुरा अपडेट नगर्दा भदौ २७ मा चेक साटिएको भन्दै प्रहरीले सनराइज बैंकको धरान शाखाका केही कर्मचारीमाथि पनि छानबिन गरिरहेको छ। ‘ल्याबबाट के रिपोर्ट आउँछ, प्रतिक्षामा छौं,’ डिएसपी न्यौपानेले भने। उनका अनुसार विद्यार्थीहरूको कोठाबाट हस्ताक्षर भएको स्टाम्प बरामद भइसकेको छ।

प्रतिष्ठानको चेक सुम्सेन थापाको नाममा साटिएको थियो। ती व्यक्ति काठमाडौंमा फिजियोथेरापिस्ट भएको खुलेको छ। विद्यार्थीहरूले उनको नागरिकताको फोटोकपी पेस गरेर चेक साटेका थिए। थापाले आफू बिपी प्रतिष्ठान कहिल्यै नआएको र चेक साटिएको बारेमा आफूलाई थाहा नभएको प्रहरीमा जानकारी दिएका छन्। विद्यार्थीहरूले चेक चोरी गरेको बयान दिए पनि लेखा शाखाबाट सजिलै चेक चोरी गर्न सम्भव नहुने प्रतिष्ठानकै एक कर्मचारी बताउँछन्। ‘चेकजस्तो कुरा दराज वा ड्रमा सुरक्षित राखिएको हुन्छ, विद्यार्थीले सजिलै कसरी निकाल्न सक्छ ?,’ ती कर्मचारी भन्छन्, ‘पहिला पनि यस्तो घटना भएको हो, मिलेमतोबिना त सम्भवै हुन्न।’

प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनालले यो विषयमा प्रहरी अनुसन्धानसँगै प्रतिष्ठानले आन्तरिक छानबिन पनि गरिरहेको बताए। ‘प्रहरीले नियमअनुसार कार्वाही गरिरहेकै छ, हामीले पनि आन्तरिक रूपमा छानबिन गरिरहेका छौं,’ उनले भने।

प्रतिष्ठानबाट बिनाआधार र बिनाटिप्पणी अनधिकृत व्यक्तिको नाममा चेक साटिएको यो पहिलो घटना भने होइन। यसअघि गत वैशाखमा पनि तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र लेखा प्रमुख रूपा सिंघाचीको हस्ताक्षर भएको पाँच लाख ५० हजारको चेक काटिएको थियो। प्रतिष्ठानले पर्वत जिल्ला घर भएका जीवन पौडेललाई किन त्यो रकम भुक्तानी दिइयो भन्ने केही खुल्न सकेको थिएन। यो विषयमा आन्तरिक छानबिन भए पनि यथार्थ अहिलेसम्म बाहिर आएको छैन। केही समयपछि भने प्रतिष्ठानको खातामा पाँच लाख ५० हजार रहस्यमय तरिकाले जम्मा भएको थियो। उक्त घटनाको सत्यतथ्य बाहिर नआउँदै प्रतिष्ठानमा अर्को चेक काण्ड भएको हो।

प्रकाशित: २३ मंसिर २०७६ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App