coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ट्विनअटरका तीनथान इन्जिन साट्न ग्लोबल टेन्डर आह्वान

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साढे दुई महिनाभित्र अर्को ट्विनअटर जहाज थपेर उडान गर्न तीनथान इन्जिन साट्ने उद्देश्यले ‘ग्लोबल टेन्डर’ आवह्वान गरेको छ । त्यसपछि निगमसँग आन्तरिक उडान गर्न तीनथान  ट्विनअटर जहाज हुनेछन् ।

यसका लागि निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नो जहाज राख्ने ‘ह्यांगर’ मा तीन वर्षदेखि ‘ग्राउन्डेड’ एउटा ट्विनअटर जहाजलाई पुनः उडानमा फर्काउन तीनथान इन्जिन साट्न लागेको हो । इन्जिन साट्नका लागि निगमले ग्लोबल टेन्डर आह्वान गरेको हो । निगमसँग रहेका ट्विनअटर जहाजका तीनथान जगेडा इन्जिन सम्बद्ध कम्पनीलाई दिएर ‘ओभरहल’ (पूर्णमर्मत) गरिएका इन्जिन ल्याई जहाज थप्न लागेको हो ।

‘आन्तरिक उडानलाई अझ चुस्त र विश्वसनीय बनाउन तथा बढिभन्दा बढी उडान गर्न अर्काे ट्विअटर थप्न लागेका हौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘तीनवटा जगेडा इन्जिन साट्छौं र दुईथान इन्जिन ग्राउन्डेड जहाजमा जडान गरी अर्को ट्विनअटर सञ्चालन गर्छौं, त्यही भएर इन्जिन साट्न टेन्डर मागेका हौं ।’

निगमसँग १९ सिट क्षमताका चारथान ट्विनअटर जहाज भए पनि अहिले एउटामात्र उडिरहेको छ । एउटा दुई सातादेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छ भने अर्को एकथान तीन वर्षदेखि त्यहीँ थन्किएको छ । चौथो ट्विअटर भने निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले १० वर्षका लागि भाडामा लिएर उडाइरहेको छ । त्यसबाहेक चीनमा निर्मित ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) र १८ सिटे ‘वाई१२–ई’ सिरिजका एक–एकथान जहाज सञ्चालनमा छन् ।

यी जहाजबाट निगमले २६ आन्तरिक गन्तव्यमा उडान गरिरहेको छ । यिनमा अधिकांश दुर्गम भेगका गन्तव्य छन् । अब थप्न खोजिएको ट्विनअटर तीन दशकभन्दा बढी उमेरको हो । यो क्यानडामा बनेको जहाज हो ।

‘तीनथान इन्जिन साट्न १५ दिनको म्याद राखेर ग्लोबर टेन्डर आह्वान गरेका छौं,’ शर्माले भने, ‘सबैभन्दा सस्तोमा इन्जिन साट्न प्रस्ताव गर्ने कम्पनीले हाम्रो काम गर्न पाउने छ । टेन्डर जितेको बढीमा ७५ दिनभित्र ओभरहल गरिएका इन्जिन ल्याएर अर्को ट्विनअटर उडाउने योजना छ ।’

आफैंले इन्जिन ओभरहल गर्न ६ देखि आठ महिना लाग्ने भएका कारण इन्जिन साट्न लागिएको उनले बताए । आफ्ना पुराना इन्जिन दिएर सम्बद्ध कम्पनीले मर्मत गरी तयारी अवस्थामा राखेका इन्जिन लिने गरी टेन्डर मागिएको उनले  जानकारी दिए ।

निगमले साट्न खोजेका तीनथान इन्जिन चालु हालतमा भने छैनन् । यिनलाई ओभरहल गरे चल्छन् । निगमले ट्विनअटरका इन्जिन एउटालाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ ।  

निगममा सूचीकृत इन्जिन मर्मतसम्भार ओभरहल एजेन्सीहरूका लागि टेन्डर आह्वान गरिएको हो । ‘पिटिए६ए–२७’ इन्जिन एउटै दरमा साट्नुपर्ने सर्त निगमको छ । टेन्डर हाल्ने कम्पनीसँग यस्तो इन्जिन मर्मत÷ओभरहल गर्ने क्षमता र सुविधा हुनुपर्ने पनि निगमले जनाएको छ । निगमले इएसएनपिसिइ–४०४४३, पिसिइ– ४१८४८ र पिसिइ–४२२५३ कोर युनिटका तीनथान इन्जिन साट्न लागेको हो ।
सम्बद्ध अधिकारीका अनुसार एउटा इन्जिन साट्न २ लाख ५० हजारदेखि ३ लाख ५० हजार अमेरिकी डलर खर्च लाग्छ । एक पटक इन्जिन साटेपछि करिब तीन वर्षसम्म उडान गर्न सकिन्छ । त्यसपछि पनि यसैगरी इन्जिन साटिने छ । निगमले आफैं इन्जिन मर्मत गर्ने हो भने पनि यही परिमाणबराबरको खर्च लाग्ने छ ।

निगमले यसअघि २०७० जेठमा पनि यसैगरी ६ थान इन्जिन साट्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । तीमध्ये चार इन्जिन भारतको बर्मन एभिएसन प्रालिले तथा दुई थान अमेरिकाको साउथवेस्ट एयर मोटिभ कम्पनीले साटेका थिए ।

त्यसबेला निगमको टेन्डर सूचनामा इच्छुक कम्पनी अमेरिकाको फेडेरल एभिएसन अथोरिटी (एफएए) वा युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) र स्थानीय राष्ट्रको नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त हुनुपर्ने, जति परिमाणको वित्तीय प्रस्ताव पेस गर्ने हो, प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकबाट कुल प्रस्तावको शून्य दशमलव १ प्रतिशत ग्यारेन्टी र काउन्टर ग्यारेन्टीवापत नेपाली वाणिज्य बैंकमा धरौटी राख्नुपर्ने उल्लेख थियो ।
 

प्रकाशित: २९ मंसिर २०७३ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App