१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिजेल बिक्री दुई करोड लिटर बढ्यो

काठमाडौं–नेपाली बजारमा डिजेलको माग एक्कासि वृद्धि भएको छ । पछिल्ला महिनामा करिब २ करोड लिटर (२० हजार किलोलिटर) बढी बिक्री गरिरहेको नेपाल आयल निगमले जनाएको छ ।

भारतमा भन्दा यहाँ पेट्रोलियम पदार्थ सस्तो भएपछि भारततर्फ नै अबैध रूपमा जाँदा माग बढेको निगमको दाबी छ । सस्तो भएकाले नेपालमा ढुवानी गर्ने भारतीय गाडीले फुल ट्यांक गर्ने र सिमा क्षेत्रबाट अवैध ढंगले भारततर्फ चोरी निकासी भएको निगमले जनाएको छ । मंसिर २६ गतेसम्म निगमले १ लाख २ हजार १२ किलोलिटर बिक्री गरेको छ । अघिल्ला महिनाको तुलनामा कात्तिकमा करिब १५ हजार र मंसिरमा करिब २० हजार किलोलिटर धेरै डिजेल बिक्री भएको छ ।

मासिक सरदर करिब ७० हजारदेखि ८० हजार किलोलिटर खपत हुँदै आएकोमा कात्तिक र मंसिरमा माग निकै बढेपछि बिक्री पनि बढेको हो । बिक्री बढाउँदा पनि माग पूरा नभएकाले तेल भारततिरै तस्करी भएको निगमको ठहर छ ।

भारतको तुलनामा वीरगन्जको रक्सौलमा डिजेल प्रतिलिटर १८ रुपैयाँ ४१ पैसा र पेट्रोल ११ रुपैयाँ ६४ पैसा सस्तो भएपछि उता (भारत) का गाडी नेपालको सीमा क्षेत्रमा आएर इन्धन भरेर जाने गरेका हुन् । वीरगन्जमा खुद्रा मूल्य ७१ रुपैयाँ ५० पैसामा बिक्री हुने डिजेल भारतमा ९५ रुपैयाँ ५० पैसामा बिक्री हुन्छ ।

गाडीमा मात्र नभएर डिजेलको तस्करीसमेत हुन थालेको निगमले जनाएको छ । तेल अबैध ढंगले भारततर्फ नै गएकाले माग वृद्धि भएको निगम वितरण विभाग प्रमुख सीताराम पोख्रेलले बताए ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा डिजेल आयात र बिक्रीको तथ्यांक विश्लेषण गर्दा पछिल्ला दुई महिना बिक्री ह्वात्तै बढेको छ । अहिले उपत्यकामा लोडसेडिङ नहुँदा जेनेरेटर चलाउनु नपर्दा डिजेलको खपत घट्नुपर्नेमा माग बढेकोे निगमले जनाएको छ ।

‘अघिल्लो महिनाको तुलनामा डिजेलको बिक्री निकै बढाएका छौं,’ पोख्रेलले भने, ‘तेल बोर्डरबाट उतै गएकाले माग बढेको  हाम्रो ठहर हो ।’ चिसो मौसम, विकास निर्माणका कामले गति लिएकाले तेल खपत बढेपछि लोडसेडिङ घटेको कारण जेटेरेटरमा प्रयोग हुने इन्धनले कभर गर्नुपर्ने उनको तर्क छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्ने गरेको छ ।

साउनमा ७२ हजार ७ सय ५६ किलोलिटर बिक्री गरेको निगमले भदौमा ८१ हजार ५ सय ८०, असोजमा ७४ हजार ४८, कात्तिकमा ९५ हजार ३ सय ९९ र मंसिर २६ सम्म  १ लाख २ हजार १२ किलोलिटर बिक्री भएको जनाएको छ । डिजेलको माग बढेपछि भारतबाट आयात समेत वृद्धि गरेको निगमले जनाएको छ । साउनमा ७४ हजार ३ सय ८१ किलोलिटर, भदौमा ८० हजार ५ सय ९१, असोजमा ७३ हजार ५ सय ६, कात्तिकमा ९० हजार ९२, मंसिर २६ सम्म १ लाख ५ सय ५२ किलोलिटर आयात भएको छ ।

इन्धनको बिक्री बढ्नुलाई भारततर्फ नै अबैध रूपमा गएको निगम र आपूर्ति मन्त्रालयको दाबी छ । अबैध रूपमा इन्धन भारततर्फै पठाउन सघाएको आरोपमा निगमका पूर्वाञ्चल डिपो प्रमुख दिनेश यादवलाई प्रमुखबाट हटाएर काठमाडौं तानेको आपूर्ति मन्त्रालयले जनाएको छ । निगमले यसमा ढुवानीकर्ताको समेत संलग्नता हुनसक्ने भन्दै छानबिन थालेको छ ।

इन्धन तस्करी छानबिन गर्न आपूर्ति मन्त्रालयले सहसचिव सूर्य श्रेष्ठको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी हेमन्त पाल, सशस्त्र प्रहरीका डिआइजी सुबोध अधिकारी, निगमकै विजय सत्यालसहितको छानबिन समिति गठन गरेको छ । समितले छानबिन थालेको छ ।

‘भारतबाट ल्याएको तेल उतै गएको आशंकामा छानबिन थालेका छौं,’ समितिका संयोजक तथा आपूर्ति मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘तथ्यांकको विश्लेषण गरिरहेका छौं । यो सकिएपछि स्थलगत रूपमा पनि अध्ययन गर्छौं ।’ छानबिन प्रतिवेदनका आधारमा कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा डिजेलको माग वृद्धि हुनु स्वभाविक भएको व्यवसायी बताउँछन् । उपत्यकामा दैनिक करिब ८ सय किलोलिटर डिजेलको माग भए पनि करिब ६ सय किलोलिटरमात्र दिएको व्यवसायी बताउँछन् । निगमले मागेजति नदिएपछि आफूलाई चाहिनेभन्दा बढी माग गर्ने गरेको व्यवसायीको तर्क छ ।

भारतबाट आउने गाडीले फुल ट्यांक भरेर जाने कुरा सत्य भएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले बताए । ‘नेपाली बजारमा नयाँ गाडी थपिएकाले डिजेलको माग बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘भूकम्पपछि पुनर्निर्माण वृद्धि र विकास निर्माणले समेत गति लिएको छ ।’
डिजेलको माग वृद्धि भएपछि निगमसँग स्टकसमेत घटेको छ । आयात वृद्धि गरे पनि बजारको माग पूरा गर्न बिक्री बढाउँदा स्टक घटेको निगमले जनाएको छ ।

प्रकाशित: २९ मंसिर २०७३ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App