७ वैशाख २०८१ शुक्रबार
राजनीति

भैरहवा–लुम्बिनी सडक चैतसम्म सम्पन्न भइसक्छ : मन्त्री नेम्वाङ

बुटवल— भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्त कुमार नेम्वाङले  ठेक्का हात पार्ने तर काम नगर्ने प्रवृतिको अन्त्य गरीने बताएका छन्। प्रेस संगठन नेपाल रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले आयोजना होल्ड गर्ने तर काम नगर्ने प्रवित्तिकै कारण महत्पूर्ण आयोजनाहरु अलपत्र परेको भन्दै काम नगर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने बताए। ‘पुल र बाटोका रुग्ण आयोजनालाई  हामीले गम्भिर रुपमा लिएका छौं। ती अयोजनामा सरकारी अधिकारीलाई पनि जवाफदेहि बन्न निर्देशन दिइसकेका छौ। लापरबाही गर्ने जोकसैलाई कारबाहीको दायरामा ल्याइने छ’ मन्त्री नेम्वाङले भने।

मन्त्री नेम्वाङले रुपन्देही र नवलपरासीमा निर्माणाधिन सडक तथा पुलहरुको स्थलगत निरीक्षण गरी द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका  बताए। पप्पुले बिगत तीन बर्षदेखि अलपत्र छाडेको भैरहवा–लुम्बिनी सडक खण्डका दुई वटा पुलको ठेक्का सम्झौता तोड्ने तयारी भइरहेको पनि उनले जानकारी दिए। तिनाउ र दानव नदिमा निर्माणाधिन पुलको पुरानो सम्झौता खारेज गरेर चार लेन सडकको मापदण्ड अनुरुपकै पुल निर्माण गरीने जानकारी मन्त्री नेम्वाङले दिए। पर्यटकीय मार्गको रुपमा रहेको भैरहवा– लुम्बिनी ४ लेन सडकको एकतर्फी कालोपत्रे यही डिसेम्बर महिनाभित्रै गरीसक्ने पनि दावी गरे। भ्रमण बर्ष २०२० सुरु हुँदा भैरहवा–लुम्बिनी सडकको धुलो हटीसक्ने र पर्यटकको लुम्बिनी यात्रा सहज हुने उनको भनाइ थियो। आगामी बैशाख भित्रै यो सडक निर्माण सम्पन्न भइसक्ने दावी मन्त्री नेम्वाङले गरेका छन्।

 त्यस्तै शिद्धार्थराजमार्गको शिद्धबाबामा निर्माण गर्ने भनिएको सुरुङमार्गको डिपिआर तयार भइसकेकाले अर्को महिना टेण्डर आह्वान गरीने बताए। मन्त्री नेम्वाङले नवलपरासी र रुपन्देहीमा निर्माणाधिन ७० वटा  पुल मध्ये यो बर्ष ३५ वटाको निर्माण सम्पन्न गरी सक्ने दावी गरेका छन्। बुटवल–बेहलहिया व्यापारिक मार्गको बाँकी काम चैत्र भित्र सम्पन्न भइसक्ने, यो आर्थिक वर्षमै पूर्वपश्चिम रेलमार्गको निर्माण कार्य सुरु हुने, तिनाउ–दानव करिडोर सडकको टेण्डर गरीने, बुद्ध परिपथ, बुटवल–नारायणघाट ४ लेन सडक जस्ता महत्वपूर्ण आयोजनाहरु द्रुत गतीमा अगाडि बढ्ने दावी मन्त्री नेम्वाङले गरेका छन्। साना– ठूला पूर्वाधार निर्माण तथा सुधारका कामलाई गती दिएर विकास र समृद्धिको यात्रामा मुलुकलाई अगाडि बढाउन वर्तमान सरकार सफल भइरहेको दावी उनले गरे।

प्रकाशित: २२ मंसिर २०७६ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App