coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

नक्सा निकाल्न किन नहुने ?

नेपालले भारतबाट धेरै विप्रेषण (रेमिट्यान्स) भित्र्याउँछ भन्ने सोच धेरै पहिलेदेखि व्याप्त छ। तर यो भ्रम हो, भ्रम पनि ठूलो भ्रम हो भन्ने सत्यतथ्य अर्थशास्त्रीहरूबाट प्रशस्त मात्रामा आउनुपर्ने हो। त्यसरी नआएकाले यसो यो एउटा जमर्को गरेको हुँ। नेपालका लागि भारतीय पूर्वराजदूत तथा भारतका पूर्वविदेश सचिव श्यामशरणले अलि दिनअघि भारतको इन्डियन एक्सप्रेस दैनिकमा एउटा लेख लेखी भारतमा ६० देखि ८० लाख जनासम्म नेपाली काम गर्छन् भन्ने अंक नै किटेर एउटा नयाँ स्थिति देखाउन खोजेका छन्। त्यो आलेखमा नेपालमा पनि कति लाख जना भारतीय काम गर्छन् भन्ने अंक उल्लेख गरिदिएको भए सन्तुलित एवं स्वतन्त्र विचार निर्माणमा सहयोग पुग्थ्यो र दुई देशको मैत्री एवं भातृत्व उजागर हुन्थ्यो। तर एक पक्षको कुरा मात्र दिएका हुँदा यसको धेरैथरी अर्थ लाग्न थाल्यो।

मसँग औपचारिक तथ्यांक त छैन, तर सरसर्ती हेर्दा खेती गर्ने र इँटा पार्ने समयम करोड हाराहारीमा भारतीय नेपालमा काम गर्न आउँछन्। नेपालमा कपाल काट्ने (सैलुन व्यवसाय), अझ काठमाडौंमा त लगभग ९५ प्रतिशत भारतीय नै छन्। चिया चमेना, चना चटपटे, पानीपुरी बिक्री, प्रायः ठूला मिठाई पसल, साइकलमा सामान राखेर गरिने खुद्रा व्यापारमा सबै भारतीय छन्। प्लम्बिङ, विद्युतीय सामान जडान, प्लास्टर गर्ने, कोल्ड स्टोरमा मेसिन चलाउने प्राविधिक काम सबै भारतीयले नै गर्छन्। कबाडी सामान जम्मा गर्ने पनि भारतीय नै छन्। काठमाडौं खाल्डो र अन्य बाक्लिँदै गएका बस्ती, नयाँ सहरका रेस्टरुम, शौचालयलगायत काममा उडिसाका उडियाहरूकै झन्डै एकाधिकार छ। हिमाली तारे वा गैरतारे होटेलका रेस्टरुम र पानीको आपूर्ति काममा पनि ९५ प्रतिशत मान्छे उतैका छन्। हुँदाहुँदा सडकका माग्ने पनि प्रायः उतैका छन्। २००७ साललगत्तै त नेपालका पहाडी मात्र होइन, हिमाली जिल्लाका पनि प्रधानाध्यापकदेखि अध्यापकसम्म भारतीय नै हुन्थे। यो हो– वास्तविक चित्र।

मेरो गम्भीर प्रश्न– ‘चुच्चे नक्सालाई कसले बुच्चे बनायो ?’ तिनलाई खोजेर कारबाही गर्न जरुरी छ।

चामेमा पनि नास्ता पसलवाला उतैका
अर्को यथार्थ चित्र– नेपालमा सुनचाँदीका गहना र अन्य सामग्री, पञ्चपाला, सप्तपाला, नवपाला, विवाहका निम्ति आवश्यक गोडधुवा–खड्कौंलीलगायत सामग्री बनाउने कारखाना÷ज्यासलहरूमा काम गर्ने सीप भएका भारतीय केही लाख छन्। यी कुशल र दक्ष सुनचाँदी कालिगढहरू तलब पनि मनग्गे हात पार्छन्। उता भारतमा काम गर्ने नेपाली भने अधिकतर अदक्ष छन्। होटेल, रेस्टुराँ, चमेनागृह आदिमा तल्लो तहमा काम गर्ने नेपालीको संख्या पनि धेरै छ, तर उनीहरूले पारिश्रमिक भने अत्यन्त कम पाउँछन्। घरबाट भागेर वा सल्लाहमै भारत पसेका नेपाली राम्रो पारिश्रमिक आउने काममा हँुदैनन् वा अत्यन्त कम हुन्छन्। त्यहाँ नेपाली चौकीदार, स्कुलको पाले, घरको ढोके, कारखानामा भए पाले, चमेनागृहमा भए बेयराजस्ता कम ज्याला पाइने काममा हुन्छन्।

यसैगरी भारतमा नेपाली कोइलाखानीजस्ता जोखिमयुक्त काम गर्छन्। बद्री, केदार, गंगोत्री, जमुनोत्रीजस्ता धाममा तीर्थयात्री तथा भारी बोक्ने, रूख काट्ने, गोल बनाउने, आसामतिर मिजोरमतिर भैंसी गोठालो हुनेजस्ता काममा लाग्ने हुँदा थोरै कमाउँछन्, नेपाली। सीप, बुद्धिको काम नगर्ने हुँदा तलब वा ज्याला साह्रै न्यून हुने। केही वर्षअघिको कुरा हो– आलु, फलफूल सुरक्षित राख्न कोल्डस्टोर चाहिने। त्यस्ता शीतघरको प्राविधिक काम गर्न भने नेपाली नपाइने, भारतीयचाहिँ पाइने। ३४ वर्षअघि मनाङको चामे गएको थिएँ। स्थानीयले भने– त्यहाँ नास्ता पाइन्छ। बिहानै थियो, जिलेबी, पुरी, हलुवा, तरकारी, अचार र चिया खान पाइयो। त्यो पसल भारतीयले चलाएका रहेछन्। लमजुङको बेंसीसहरदेखि हिँडेरै पुग्नुपर्ने बेलासमेत त्यस्तो अनकन्टार ठाउँमा चिया पसल चलाउने भारतीय। फेरि २०५३ सालमा जाँदा पनि नास्ता खाने पसल त्यही एउटा मात्रै। एक दशकमा खोइ प्रगति ?

हो/होइन, भन्नुपरेन ?
नेपाल राम्ररी चिनेका परम मित्र श्यामशरणले नेपालले सुगौली सन्धिअनुसार आफ्नो निर्विवाद भूमि लिम्पियाधुराको कालापानीबाट भारतले एकतर्फी रूपमा जबर्जस्ती बसेको ब्यारेक सरक्क लैजाऊ भन्ने राष्ट्रिय कुरो उठाउँदा ‘मूर्खता’ पो भनेका छन्। अझ अघि बढेर ‘नेपालको मूर्खता महँगो पर्न सक्ने’ धम्कीसमेत दिएका छन्। उनले लेखेका छन्– ‘नेपालीहरू सीमा विवादलाई लोकप्रियता र आन्तरिक खपतको उद्देश्यले मात्रै उठाउँछन्, तर गम्भीर वार्तामार्फत सल्टाउन उनीहरूको रुचि हँुदैन।’ यो कुरा उनको कार्यक्षेत्रभित्र कसरी प¥यो, छक्क परेको छु। त्यति मात्र होइन, उनी अझ अगाडि लेख्छन्– ‘भारतमा करिब ६० देखि ८० लाख नेपाली काम गरेर बसिरहेका छन्, त्यहाँ तिनले असीम ख्याति, सद्भाव एवं मित्रवत् वातावरण पाएका छन्। सदियौंदेखिको शालीन एकताबाट निर्मित असाधारण सम्पत्तिको नेपालले भरपुर उपयोग गरिरहेको छ भन्ने नेपालका राजनीतिक नेताले बुझ्न जरुरी छ।’

भारतले ७१ स्थानमा आधा रोपनीसम्म पनि अतिक्रमण गर्न बाँकी राखेको छैन। त्यो इलामको पशुपतिनगर फाटकको हो। लिम्पियाधुरा क्षेत्रमा त ३९५ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमणमा परेको छ।

यसरी नेपाली नेताहरूलाई अर्ती÷उपदेश दिएका छन्, श्यामशरणले। तर हाम्रा नेपाली नेता कुनै प्रतिक्रिया दिन पनि रुचि राख्दैनन्। यो त अति भो कि ? यत्ति कुरो नेपालका राजनीतिक नेताहरूले साँच्चै नबुझेकै होलान् त ? श्यामशरणको यो टिप्पणी ठूलो राष्ट्र भएकामा अहंकारवादको उच्छवास त होइन कतै ? मित्र श्यामशरणलाई विनम्रपूर्वक स्मरण गराउन चाहन्छु– ‘यस्ता टीकाटिप्पणी कुनै नेपालीलाई पनि मन पर्दैन।’ अझ उनको अर्को प्रहार छ– ‘नेपालले विगतमा कालापानी र सुस्तालाई आफ्नो भूभागका रूपमा दाबी गरेकोचाहिँ सत्य हो। दुवै पक्ष यी मतभेदलाई मैत्रीपूर्ण वार्ताका माध्यमबाट सल्टाउन सहमत भएका पनि हुन् र दुवै देशका विदेश सचिवहरूलाई यसमा काम गर्ने म्यान्डेट दिएको पनि हो। तर नेपाल तदारुक नभएकै कारण ती वार्ता थाँती रहन गएका छन्।’ परराष्ट्रमन्त्रीज्यू ! नेपाल तदारुक नभएकै हो त ? हो भने हो भन्नुप¥यो, होइन भने होइन भन्नु परेन ? खोइ बोलेको ?

सीमा नियमन
हामी जनता पनि कराइरहेका छौं। यी समस्या अविलम्ब सम्बोधन हुनुप¥यो। हाम्रो लिम्पियाधुराको चुच्चो खोइ ? कुखुराको सिउर खोइ ? सुगौली सन्धिले नेपालका राजाले काली पश्चिम दाबी गर्ने छैनन् भनेको छ। त्यो वाक्यअनुसार त सिंगो काली (महाकाली) नेपालको हुन्छ। ‘महाकाली साझा ः पानी आधा– आधा’ भन्ने नारा पनि गलत हुन जान्छ। कसले दिन्छ, यस्ता नारा लगाउन प्रोत्साहन ? त्यो सन्धिको उक्त धाराको व्याख्या तेस्रो पक्षबाट गराउनुप¥यो। संयुक्त राष्ट्रसंघ उपयुक्त थलो हुन्छ कि ? अथवा अन्तर्राष्ट्रिय अदालत हेग उपयुक्त हुन्छ ? राष्ट्र भनेको राष्ट्र नै हो। भारतले ७१ स्थानमा आधा रोपनीसम्म पनि अतिक्रमण गर्न बाँकी राखेको छैन। त्यो इलामको पशुपतिनगर फाटकमा हो। लिम्पियाधुरा क्षेत्रमा त ३ सय ९५ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमणमा परेको छ।

भूगोल जान्नेहरू भन्छन्– ‘३ सय ९५ वर्ग किलोमिटर भनेको तीनवटा भक्तपुर जिल्ला जति हो रे ! नेपालबाट २०२६ सालमा १८ वटा भारतीय सैनिक चेकपोस्ट नेपालको उत्तरी क्षेत्रबाट हटाउँदा कालापानीबाट त्यो विदेशी ब्यारेक किन नहटाएको ? यसको उत्तर आजसम्म कसैबाट आएको छैन। यो त भएन नि ! के श्यामशरणले भनेझैं नेपालले तदारुकता नदेखाएकै हो ? उनको दाबी सही हो ? हाम्रा नेता किन बोल्दैनन् ? अन्ततः नेपाल–भारतका खुला सिमाना नियमन गर्नुपर्ने परिस्थिति अझ बलियो बनेको छ। सीमा नियमन बानी नलागुन्जेल मात्र हो। बिस्तारै यो सहज भएर जान्छ। जसरी उत्तरतर्फ बानी प-यो। तसर्थ आजको परिस्थितिले सीमा नियमनको माग गरेको छ। 

विप्रेषणको सातौं स्रोत– नेपाल
नेपालमा काम गर्ने भारतीयहरूले सन् २०१७ मा ३ अर्ब, १ करोड अमेरिकी डलरबराबर विप्रेषण भारत पठाए भने भारतमा काम गर्ने नेपालीले १ अर्ब अमेरिकी डलर बराबर मात्र विप्रेषण नेपाल भिœयाएका छन्। यसबाट छर्लङ्ग हुन्छ– कुन मुलुकका कति मान्छे कहाँ बढी काम गर्छन् र कमाउँछन् ? यसरी  रेमिट्यान्सको दृष्टिबाट नेपाल सातौं मुलुकमा पर्दोरहेछ, भारतका निम्ति। भारतमा विप्रेषण सबभन्दा बढी युएई र संयुक्त अरब इमिरेट्सबाट आउनेरहेछ। दोस्रो अमेरिका पर्दोरहेछ। जसले जे भने पनि नेपाल भारतको ठूलो बजार हो। अन्य देशमा बिक्री नहुने गुणस्तरहीन, सिकारुले उत्पादन गरेका, निम्न श्रेणीका भारतीय सामान बिक्री हुने संसारभरमै एउटै मुलुक नेपाल हो। अरू मुलुकले नकिनेका वस्तु पनि भारतले नेपालमा बेच्छ, नेपालीले किनिरहेका छौं। यस्ता तथ्य अग्रलेख लेख्ने हस्तीहरूले थाहा पाउनुपर्छ। त्यस्ता गाँठी कुरा थाहा पाउँदैनन् भन्ने पत्यार लाग्दैन। यसरी आफ्नो मात्र दूनो सोझ्याउनेहरू जति नै विद्वान् भए पनि कुनै माने रहँदैन। यस्तो स्थिति हुँदाहुँदै ६० देखि ८० लाख जनासम्म नेपाली भारतमा काम गर्छन् भनेर श्यामशरण डुक्रन्छन्। वास्तवमा भारतमा नेपालीले मागेर वा चोरेर खाएका छैनन्, पसिना बगाएर काम गरेरै बसेका छन्। नेपाल र भारतबीच खुला सिमानाका परिणाम हुन् यी।

पढ्दा चुच्चे, पढाउँदा बुच्चे
आजको प्रस्तुति अलि उबडखाबड हुने भो, तर काला बजारियाले खाद्य र पेय पदार्थमा अखाद्य एवं अपेय पदार्थ मिसाएजस्तो भने होइन। केही सचेत र सजग नागरिकले ‘सीमा बचाऔं अभियान’ अगाडि सारेका छौं। त्यो अभियानले भूगोल एवं नापीशास्त्रीहरूद्वारा अत्याधुनिक प्रविधिबाट सिंगो लिम्पियाधुरा क्षेत्र समेटिएको भालेको सिउरजस्तो चुच्चे नक्सा तयार गराइयो। हाल सरकारले प्रयोग गरिरहेको बुच्चे नक्सा विस्थापन गरी अविलम्ब त्यो चुच्चे नक्सा चल्तीमा ल्याइयोस् भन्दै त्यो चुच्चे रंगीन नक्सा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई डा. द्वारिकानाथ ढुंगेलले उनकै सभाकक्षमा गएर गत १९ गते हस्तान्तरण गरे। नक्सा समितिका संयोजक मैले (भैरव रिसाल) हामीलाई कफी होइन, चुच्चे नक्सा चाहियो भन्ने अडान लिएँ। भनें– ‘भारत सरकारले हाम्रो भूमि अतिक्रमण गरी एकतर्फी रूपमा नक्सा निकाल्न हुने, नेपालले आफ्नो नक्सा निकाल्न किन नहुने ? उपप्रधानमन्त्रीसँग सोधें– ‘कि कसैले रोक्यो ? रोकेकै हो भने त्यो शक्ति कुन हो ?’ कफी खाइनँ।

त्यसपछि उपप्रधानमन्त्री पोख्रेलले कसैले रोकेको छैन र कुनै शक्तिले रोक्न सक्तैन, नेपाल आफ्नो नक्सा प्रकाशन गर्ने प्रक्रियामा छ, यसमा अन्यथा नसोचे हुन्छ भन्दै कफी खान जोड गरे। भारतले गत नोभेम्बर २ मा पहिलोपल्ट नक्सा प्रकाशन गरेपछि यो मुद्दा सतहमा आएको पनि १ महिना नाघिसक्यो। सरकार के गर्दै छ ? हो, प्रधानमन्त्री गम्भीर बिरामी हुनुभो, तर देश त बिरामी भएको छैन नि भन्ने सवाल पनि उठाएँ। साह्रै ढिलो भो पनि भनें। एउटा यस्तै छलफलमा नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले भनेका थिए– ‘मैले नेपालको भूगोल पढ्दा चुच्चे नक्सामा पढेथें। मैले पढाउँदा बुच्चे नक्सामा पढाएँ।’ मेरो गम्भीर प्रश्न छ– ‘चुच्चे नक्सालाई कसले बुच्चे बनायो ?’ तिनलाई खोजेर कारबाही गर्न जरुरी छ।

प्रकाशित: २२ मंसिर २०७६ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App