७ वैशाख २०८१ शुक्रबार
अर्थ

चार महिनामै ५९ प्रतिशत राजस्व संकलन

रसुवा- रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा नै वार्षिक लक्ष्यको करिब ५९ प्रतिशत राजस्व संकलन गरेको छ ।

नाकाबाट सामग्री आयात तथा निर्यात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको कार्यालयले जनाएको छ । पहिलो चार महिनामा नेपालीको प्रमुख चाडपर्व पर्ने भएकाले यो समयमा सामग्री आयात बढेको हो ।

सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण यो नाकाबाट आयात तथा निर्यात बढेको भन्सार कार्यालयको भनाइ छ । कार्यालयका अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा पाँच अर्ब ४० करोड १३ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

कार्यालयले यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । यो लक्ष्यको तुलनामा ५८.७९ प्रतिशत हो । गत वर्ष पनि दिएको लक्ष्य अगाडि नै पूरा गरेपछि पछि लक्ष्य बढाइएको थियो ।

कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्म तीन अर्ब ७४ करोड ३१ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चार महिनाको लक्ष्यभन्दा ४७ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार साउनमा ४६ करोड ७८ लाख ९१ हजार, भदौमा ९३ करोड ५७ लाख ८३ हजार, असोजमा एक अर्ब ४० करोड ३६ लाख ७४ हजार र कात्तिकमा ९३ करोड ५७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।

जसमा साउनमा एक अर्ब तीन करोड पाँच लाख ४८ हजार, भदौमा एक अर्ब ५१ करोड २६ लाख ९० हजार, असोजमा एक अर्ब ३८ करोड ८० लाख ३२ हजार र कात्तिकमा एक अर्ब ४७ करोड एक लाख ११ हजार रुपैयाँ संकलन गरेको हो ।
गएको चार महिनामा फलपूmल तथा चाडपर्वका सामग्री बढी आयात भएकामा अहिले चिसोका लागि आवश्यक तयारी कपडा बढी आउन थालेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात भइरहेको छ ।
 

प्रकाशित: २२ मंसिर २०७६ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App