८ वैशाख २०८१ शनिबार
अर्थ

सुन्तला कुरुम्बाको पहिचान, पर्यटनसँग जोड्न महोत्सव

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बास्थित बगानमा फलेको सुन्तला टिप्दै किसान । तस्बिर: गिरिराज/नागरिक

कुरुम्बा (पाँचथर)- कतै टार परेको, कतै भिरालो भूगोल । साना साना चिटिक्क पारेर बनाइएका घरहरु । यहीबीचमा बगानमा लटरम्म सुन्तला फलेका छन् । पूरै गाउँलाई नै शोभायमान बनाउने गरी फलेका पहेला सुन्तलाले किसानाको चेहेरामा चमक ल्याएको देखिन्छ । यो दृष्य दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाको हो । यो ठाउँको विशेष पहिचानको रुपमा सुन्तला रहेको छ ।

प्रायःजसो यहाँका सबै बस्तीमा सुन्तला लगाइएको छ । यतिबेला सुन्तला फलेर बस्ती हेरिरहु लाग्ने भएको छ । कतै सुन्तला टिप्न, कतै हंगान थाम्ने गरी फलेको फल जोगाउन टेको लगाउने तथा कतै व्यापारी सुन्तलाको बोट हेरिरहेका देखिन्छन् । सुन्तलाका लागि साविक कुरुम्बा गाविसको वडा नं २, ३ र ४ निकै चर्चित छ । हरेक घरमा सुन्तला खेती लगाइएको छ । व्यावसायिक रुपमा लगाइएको सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । यतिमात्र हैन सुन्तला खेती बढ्दै गएको छ । यो सुन्तलाको पकेट क्षेत्र हो ।

यहाँका अगुवा किसान तेजबहादुर लावतीले गत वर्ष आफ्नो बगानको सुन्तलाको दाम ६ लाख ५० हजार थापेका थिए । अहिले पनि घरै छेउदेखि फैलिएको बगानमा लटरम्म सुन्तला फलेको छ । ‘यो साल बेचेको छैन । आफैं बजारसम्म लैजाउ भनेर गाडी नै किनेको छु । अब गाउँका केही किसानको सुन्तलासमेत तराई झार्छु,’ उनले भने, ‘यहाँ त बगान नै बिग्छ । गाउँगाउँमा सडक पुगेको छ । अब यहाँ सुन्तलाले आम्दानी लिन थाल्यो । यहाँको सुन्तला हेर्ने र कोसेलीका रुपमा किन्न आउनेको संख्या पनि बढिरहेको छ ।’ २०६० देखि व्यावसायिक सुन्तला खेती लगाएका उनको बगानमा ६ सय सुन्तलाका बोट छन् । केही बोटबाट अझै उत्पादन दिन बाँकी छ ।

तेजबहादुरको जस्तै पहेलो सुन्तलाले कुरुम्बाका किसानको चेहेरामा चमक आएको छ । धान फल्ने खेत र मकै कोदो  छाडेर ६० को दशकको प्रारम्भदेखि यहाँका किसानले व्यावसायिक रुपमा सुन्तला खेती लगाएका छन् । यतिबेला सुन्तला पाकेर हेरिरहु लाग्ने पहेलपुर भएको छ । सुन्तला बेच्ने चिन्ता किसानलाई पटक्कै छैन । केही साताअघि नै व्यापारीले बगानबगान चहारेका रहेका छन् । अन्यत्र सुन्तला खेती गर्ने जमिन मासिँदै गइरहेका बेला यहाँ भने फैलिरहेको छ ।

हरेक घरमा लगाइएको सुन्तलाको आम्दानीले किसानका अनुहारमा खुसी देखिन्छ । यस्तै खुसी सुनाउछिन् इन्द्रकुमारी लावती । सुन्तला खेती गरेबापत नै राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरिसकेकी इन्द्रकुमारी नयाँ बिरुवाबाट पनि फल दिन थाल्दा आम्दानी दोब्बर हुने बताउछिन् । बगानमा पाँच लाख रुपैयाँभन्दा बढीको सुन्तला रहेको उनले बताइन् । सबै बिरुवाले फल दिन थाल्दा १० लाखभन्दा बढी वार्षिक आम्दानी हुने उनले सुनाइन् । सुन्तला खेतीमा मिहेनतका साथ काम गरिरहेको बताउने उनले आम्दानी र सम्मान दुवै पाएको सुनाउँछिन् । २० रोपनीमा सुन्ताला खेती लगाइएको उनले बताइन् ।

यहाँ गाउँमै बिरुवा उत्पादन हुन्छ । यो गाउँमा परम्परादेखि नै सुन्तला फल्ने भए पनि व्यावसायिक रुपमा खेती थालिएको डेढ दशक भयो । विगतमा खाएर तथा कोसेली पठाएर सकिने सुन्तला यतिबेला कमाइको माध्यम बनेको छ । सुरुमा बाहिरबाट बिरुवा ल्याए पनि अहिले गाउँमै बिरुवा उत्पादन गरेर बेच्न थालिएको किसानले सुनाए । यतिबेला व्यापारीले सुन्तला टिप्न थालेका छन् । ठूलो आकारमा फलेको सुन्तला स्वादिलो हुने गरेको किसनको भनाइ छ । पूर्वका विभिन्न बजारमा यहाँको सुन्तला रुचाइएकाले बगान किन्न व्यापारीले प्रतिस्पर्धा नै गर्ने गर्छन् । किसानले निकै मिहेनतले सुन्तला हुर्काएको पाइन्छ ।

यो ठाउँको आम्दानीको मुख्य माध्यम सुन्तलालाई बनाइएको छ । किसान मिहेनत गरेर लागेका छन् । यही मिहेनतले बोट नथाम्ने गरी सुन्तला फलेको छ । सुन्तला खेतीले किसानलाई आम्दानी दिनुका साथै गाउँको पहिचानसमेत स्थापित गरेको वडाध्यक्ष अविशेक लावती बताउँछन् । गाउँपालिकाबाट पनि किसानलाई सहयोग भइरहेको उनको भनाइ छ । यो ठाउँ सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको छ । यहाँ उत्पादन भएको सुन्तला झापाको दमक हुँदै विभिन्न बजारसम्म पुग्छ ।

सुन्तला फसल विगतभन्दा अलि लेकतिर राम्रो हुन थालेको किसानको अनुभव छ । पुराना ठाउँभन्दा पनि माथिल्लो बस्तीमा सुन्तला राम्रो देखिएको इन्द्रकुमारीले जानकारी दिइन । कुरुम्बाको सुन्तलामा भने छुट्टै किसिमको पहिचानसमेत रहेको छ । किसानले नयाँ खेती विस्तार गरेका छन् भने बिरुवा फसल दिने बेला पुग्दै गरेको पनि देखिन्छ । सुन्तला खेतीलाई टिकाइराख्न र थप विस्तार गर्नका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने काम अघि बढाएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखीले बताए ।

यहाँ यतिको सुन्तला फल्छ र यतिको आम्दानी हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन । तर, टोलटोलमा सुन्तला खेती भइरहेको छ । सुन्तला बगानबीचमा तरकारीलगायत खेतीसमेत गरेर किसानले थप आम्दानी लिइरहेका छन् ।  स्थानीय कुरुम्बा माविका प्रधानाध्यापक डिकबहादुर राई सुन्तलाले गाउँको पहिचान झल्काएको बताउँछन् । ‘किसानलाई राम्रो आम्दानी हासिल भइरहेको छ । यतिमात्र हैन गाउँकै पहिचान दिएको छ । युवा पुस्ताको पनि आकर्षण बढ्दै गएको छ,’ लावतीले सुनाए । यहाँको सुन्तला गुणस्तरीय रहेको स्थानीय किसानको भनाइ छ ।

पर्यटन प्रवद्र्धन गर्न सुन्ताला महोत्सव
कुरुम्बाको सुन्तलाको महत्वलाई प्रचार गर्न भन्दै ‘सुन्तला महोत्सव तथा कृषि व्यापार मेला आयोजना गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं ५ ले महोत्सव आयोजना गरेको हो । महोत्सवमा सुन्तलासहित स्थानीय कृषिउपजका स्टल राखिएको छ ।

महोत्सवको शुक्रबार प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण संसदीय समिति सभापति सिता थेवेले उद्घाटन गरिन् । सुन्तलालाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने, नीति निर्माण तहको ध्यान जगाउने तथा यो क्षेत्रको प्रचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रम राखिएका छन् । तीन दिनसम्म चल्ने महोत्सवले कृषि क्षेत्रको विकास तथा पर्यटन प्रवद्र्धनमा ध्यान केन्द्रित हुने लक्ष्य राखिएको वडाध्यक्ष अविशन लावतीले बताए ।

एक करोडको सुन्तला उत्पादन
दमौली, मंसिर २१ (रासस)– तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । उक्त ठाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले एक करोड २० लाख रुपैयाँबराबरको सुन्तला बिक्री गरेका हुन् ।

यस वर्ष शुकनारायणले ५० लाख, विश्वबहादुरले ४० लाख, निर्मलले १८ लाख र रामबहादुरले १२ लाखको सुन्तला बिक्री गरेका हुन् । ४० रोपनी क्षेत्रफलमा आठ सय सुन्तलाको बोट रहेकामा सात सय सुन्तलाको बोटले उत्पादन दिएको स्थानीय किसान शुकनारायणले बताए । श्रेष्ठले गत वर्ष ३१ लाख बराबरको सुन्तला बिक्री गरेका थिए ।
अर्का किसान विश्वबहादुरले ६ सय बोट र रामबहादुरले तीन सय ५० बोटबाट आम्दानी गरेका हुन् । कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताए । ‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन,’ तिवारीले भने ।

सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताए । अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक पाँच लाखभन्दा बढी लगानी गर्ने गरेको बताए ।

तनहुँमा कूल एक हजार  सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

जिल्लामा गत वर्ष २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ । यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौं लगायत ठाउँमा निर्यात हुँदै आएको छ ।

प्रकाशित: २२ मंसिर २०७६ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App