७ वैशाख २०८१ शुक्रबार
खेल

एथ्लेटिक्समा नेपालको सुखद् अन्त्य

काठमाडौं - नेपालले पुरुष म्याराथनमा स्वर्ण पदक जित्दै काठमाडौंमा जारी १३ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्समा सुखद् अन्त्य गरेको छ। नेपालले महिला १० हजार मिटर, पुरुष ५ हजार मिटर र पुरुष म्याराथन गरी ३ स्वर्ण जित्यो भने १ रजत र ३ कास्य समेत हात पा-यो।

शनिबार सागअन्तर्गत एथ्लेटिक्सतर्फका अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। जसमध्ये श्रीलंकाले महिला म्याराथन, पुरुष ४ गुणा सय ४ मिटर टिम रिले, महिला ४ गुणा ४ सय मिटर र महिला ज्याबलिन थ्रो गरी ४ स्वर्ण जित्दा नेपाल र पाकिस्तानको नाममा समान एक स्वर्ण रह्यो। एथ्लेटिक्सकोे सुरुआती दिनबाटै दबदबा बनाएको भारत अन्तिम दिन भने स्वर्ण पदकविहीन बन्यो।

दिनको पहिलो स्पर्धाको रूपमा रहेको पुरुष म्याराथनमा किरणसिंह बोगटीले स्वर्ण जित्दा महिला म्याराथनमा श्रीलंकाका हिरुनी केसरी विजयारत्नेले स्वर्ण जितिन्। नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो। यसअघि १९९५ को मद्रास सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए।

दिनको पहिलो प्रतिस्पर्धाको रूपमा रहेको पुरुष र महिला म्याराथनमा नेपालका किरण सिंह बोगटीले निर्धारित दुरी २ घन्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए। साग म्याराथनमा नेपालका बैकुण्ठ मानन्धरको नाममा २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान छ। रजत विजेता भारतका जसपाल सिंहले निर्धारित दूरी पूरा गर्न २ घन्टा २१ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दा भारतकै श्री सिंहले निर्धारित दूरी २ घन्टा २२ मिनेट ०७ सेकेण्डमा दौड पूरा गर्दैै कांस्य जिते। नेपालका होमलाल श्रेष्ठले २ घन्टा २४ मिनेट ३१ सेकेन्डमा पूरा गरे।

महिलातर्फ श्रीलंकाले विजयारत्नेले निर्धारित दूरी २ घन्टा ४१ मिनेट २४ सेकेन्डमा पूरा गर्दा रजत विजेता नेपालकी पुष्पा भण्डारी र कांस्य विजेता भारतकी ज्योती ग्वाटेले क्रमशः २ घन्टा ५०  मिनेट ११ सेकेन्ड र २ घन्टा ५२ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्।

त्यस्तै पुरुष ८ सय मिटर दौडमा श्रीलंकाकी इन्धुनिल मधुसाले निर्धारित दूरी १ मिनेट ५०.५२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतका मोहम्द अफसल र नेपालका सोमबाहादुर कुमालले निर्धारित दूरी क्रमशः१ मिनेट ५१.२५ सेकेन्ड र १ मिनेट ५१.५१ सेकेन्डमा पूरा गर्दै रजत र कांस्य जिते।

म्हिला ८ सय मिटर दौडमा श्रीलंकाकी दिलासी महिसाले स्वर्ण जित्दा श्रीलंकाकै गुणथिलका थाउले रजत र भारतकी लिली दासले कांस्य जितिन्। महिसाले दौड पूरा गर्न २ मिनेट ६.१८ सेकेन्ड खर्चंदा थाउले २ मिनेट ८.१८ सेकेन्ड र दासले २ मिनेट ८.९७ सेकेन्ड खर्चिए। २ मिनेट १२.६७ सेकेन्डमा दौड पूरा गरेकी नेपालकी सरस्वती भट्टराई चौथो स्थानमा रहिन्।

त्यस्तै पुरुष ४ गुणा सय ४ मिटर  टिम रिलेमा श्रीलंकाका अर्पणा दर्सणा, सिनेरा धुलास्का, राजिथा निरान्जा र लकमल प्रियाथानको टिमले निर्धारित दूरी ३ मिनेट ८.०४ सेकेन्डमा पूरा गर्दै स्वर्ण, भारतका जीवन कारेकोप, सान्तोष कुमार, अज्रेज सिंह र जाबिर माडारीको टोलीले निर्धारित दूरी ३ मिनेट ८.२१ सेकेन्डमा पूरा गर्दै रजत र पाकिस्तानका उमर सादत, मेहबुब अली, अब्दुल मुइद र नोकर हुसेनको टिमले निर्धारित दूरी ३ मिनेट ८.२४ सेकेन्डमा पूरा गर्दै कांस्य जिते।

यता महिला ४ गुणा ४ सय मिटरमा श्रीलंकाकी ओमाया उडियानगन, गुणथिलका थाउ, कौशल्या मधु र दिलासी महिसाको टिमले निर्धारित दूरी ३ मिनेट ४१.१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा पाकिस्तानकी साइब इ इर्सा, अपना गुल्जार, रयिबा आशिक र नजमा प्रभिनले ३ मिनेट ४१.७४ सेकेन्डका साथ रजत र भारतकी प्रिया हाबिथान, विजयाकुमारी, महिसा खवास र नान्सीको टोलीले निर्धारित दूरी ३ मिनेट ४१.८१ सेकेन्डमा पूरा गर्दै कांस्य जिते। ४ मिनेट ४.९१ सेकेन्डमा दौड पूरा गरेका नेपालकी संगिता मेचे, कल्पना श्रेष्ठ, अरुणा रिजाल र सरस्वती भट्टराईको टोली पाँचौ स्थानमा रह्यो।

ज्याबलिन थ्रोमा अर्सदको नयाँ साग कीर्तिमान

पुरुष ज्याबलिन थ्रोमा पाकिस्तानका अर्सद नादिमले साग कीर्तिमानी ८६.२९ मिटरका साथ स्वर्ण पदक जिते। उनी टोकियो ओलम्पिक २०२० मा समेत छनोट भए। २०१६ मा भारतका निजर चोपाडाको नाममा ८२.२३ मिटरको साग कीर्तिमान रहेको थियो। यता भारतका शिवपल सिंहले ८४.१६ मिटर र श्रीलंकाका सुमिधा जगाथले ७४.९७ मिटरका साथ क्रमशः रजत र कांस्य जिते। नेपालका रोहित चौधरी ५९.२७ मिटरका साथ छैटौं स्थानमा रहे।

यता महिला ज्याबलिन थ्रोमा श्रीलंकाकी  नदिसा दिलहानले ५५०२ को दूरीका साथ स्वर्ण जित्दा श्रीलंकाकी नाडिका लकमलले ५४.४१ मिटर दूरीका साथ रजत र भारतकी कुमारी शर्मिलाले ५३.६४ मिटर दूरीका साथ कांस्य जितिन्। ४५.२७ मिटरका साथ नेपालकी लक्ष्मी थारू र ४४.४२ मिटरका साथ नेपालकै चन्द्रकला लामगादे क्रमशः पाँचौ र छैटौं स्थानमा रहे।

प्रकाशित: २२ मंसिर २०७६ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App