८ वैशाख २०८१ शनिबार
समाज

दसगजा मिचेर खेतीपाती

खेतीपाती गरिएको सीमास्तम्भ। तस्बिर ः योगेश/नागरिक

टीकापुर - कैलालीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजा क्षेत्रको अधिकांश भाग अतिक्रमणको चपेटामा परेको छ। दुई देशका स्थानीयले दसगजा क्षेत्र मिचेर खेतीपाती गर्दै आएका छन्। उनीहरूले सीमाक्षेत्र छुट्याउने सीमास्तम्भ वरिपरि खेतीपाती गरेका छन्।

भजनी नगरपालिका–३ कुसुमघाटस्थित ७०७/१०९ नम्बरको जंगे (मुख्य) पिलर र त्यसका सहायक स्तम्भ मिचेर स्थानीयले खेतीपाती गरेको पाइएको छ। त्यहाँ रहेको ७०७/२ (१०९बी) नम्बरको सहायक स्तम्भ वरिपरि भारतीय नागरिकले मसुरो खेती गरेका छन्। स्थानीयका अनुसार जिल्लामा रहेका अन्य सीमास्तम्भको अवस्थासमेत यस्तै छ। अधिकतर सीमास्तम्भ मिचेर खेतीपाती भइरहेको छ। नेपाली पक्षले भने वर्षौदेखि खेतीपाती गर्दै आएको आफ्नो जमिन सीमास्तम्भ सारिएका कारण दसगजामा पारेको दाबी गरेका छन्।

२०२४ सालदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीय मानबहादुर साउदले भारतीय पक्षले सीमास्तम्भ नेपालतर्फ सारिएकाले आफ्नो जमिन दसगजामा पारिएको बताए। आफू आठ वर्षको उमेरदेखि कुसुमघाट गाउँमा बस्दै आएको र सो जमिनको हकभोग गर्दै आएको उनको भनाइ छ। ‘मैले धेरै पर देखेका पिलर अहिले हाम्रो खेतबारीमा गाडिएका छन्,’ उनले भने, ‘अहिले हाम्रो खेतबारीलाई दसगजा भन्न थालिएको छ।’ उनले आफूहरूले दसगजाका रूपमा छोडेको भूभाग अहिले भारततर्फ परेको जानकारी दिए। जुन भूभागलाई अहिले सडकका रूपमा प्रयोग गर्न थालिएको छ।

दसगजा मिचेर खेतीपाती गर्नेमा नेपाली भन्दा भारतीय नागरिकको संख्या धेरै छ। स्थानीयका अनुसार उनीहरूले मोहना नदीपारिको भूभागमा एकलौटी रूपमा खेतीपाती गरेको पाइएको छ। कतिपय भारतीय नागरिकले नेपालतर्फको भूभागमा समेत खेतीपाती गर्ने गरेका छन्। ‘दसगजामात्रै हैन हाम्रो अन्य धेरै भूभागमा समेत भारतीयले खनजोत गर्दै आएका छन्,’ स्थानीय जोगी कडायतले भने, ‘भारतीयको दादागिरीसामु हामी निरीह छौं।’

स्थानीयले २०४० सालमा ७०७/११० नम्बरको जंगे (मुख्य) पिलर नदीले बगाएपछि सीमा अतिक्रमण सुरु भएको बताए। उनीहरूका अनुसार सो पिलर २०६३ सालमा नेपाली भूभाग अतिक्रमण गरेर पुननिर्माण गरिएको हो, जसका कारण ७०७/१०९ देखि ७०७/११० नम्बरको जंगे (मुख्य) पिलरको बीचमा पर्ने सहायक स्तम्भहरू नेपाली भूमिमा परेका छन्। २०६३ मा स्थानीयले एकलौटी रूपमा सीमास्तम्भ पुनःनिर्माण गरेको भन्दै विरोधसमेत गरेका थिए। उनीहरूले तत्कालीन समयमा सहायक स्तम्भ भत्काएका थिए। स्थानीयको विरोधपछि लामो समयसम्म ती सीमास्तम्भ पुनर्निर्माण हुन सकेका थिएनन्। गत वर्ष भने दुई देशको संयुक्त टोलीले ती सहायक स्तम्भ नेपाली भूमिमै पुनःनिर्माण गरेको थिए।

गतवर्ष समेत स्थानीयले आफ्नो जमिनमा पिलर पुनःनिर्माण नगर्न भन्दै विरोध गरेका थिए। तर दुई देशका अधिकारीहरूले सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती पिलर निर्माण गरेको स्थानीय बताउँछन्। ‘हामीले एक महिनासम्म विरोध ग¥यौं तर पुनःनिर्माण रोक्न सकेनौं,’ स्थानीय हर्क साउदले भने, ‘हाम्रा खेतमा पिलर गाडेरै छोडे।’ स्थानीयले सहायक स्तम्भ पुनःनिर्माण गर्दा वर्षौदेखि यथास्थानमा रहेको ७०७/१०९ नम्बरको जंगे (मुख्य) पिलरलाई आधार मान्न सीमा सर्भेमा खटिएका दुई देशका अधिकारीहरूलाई आग्रह गरेका थिए। तर उनीहरूले नदीले बगाएपछि पुनःनिर्माण गरिएको ७०७/११० नम्बर जंगे (मुख्य) पिलरलाई आधारमा माने, जुन नेपाली भूमि अतिक्रमण गरेर पुनःनिर्माण भएको स्थानीय बताउँछन्।

‘हामीले भनेको जंगे पिलरलाई आधार मानेको भए हाम्रो भूमि दसगजामा पर्दैन थियो,’ साउदले भने, ‘अतिक्रमण गरेर निर्माण भएको पिलरलाई आधार मानेर हाम्रा खेतमा पिलर गाडियो।’ स्थानीयले दसगजा क्षेत्र स्पष्ट रूपमा नछुट्याइएका कारण आफूहरूले खेतीपाती गर्दै आएको बताएका छन्। उनीहरूले वर्षौदेखि खेतीपाती गर्दै आएको जमिन दसगजाका रूपमा स्वीकार्न मनले नमानेको बताए। तापनि उनीहरू दसगजा क्षेत्र खाली गर्ने कुरामा आफूहरू बाधक नहुने बताउँछन्। उनीहरू त्यसका लागि पहिले भारतीय नागरिकले खेतीपाती गर्दै आएको दसगजा क्षेत्र र नेपाली भूमि खाली गराउनुपर्ने माग गर्छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दसगजा अतिक्रमण गरेर खेतीपाती भइरहेको कुरा जानकारीमा आएको बताए। उनले यो विषयमा दुई देशका अधिकारीहरूको संयुक्त बैठकमा समेत छलफल भएको जानकारी दिए।
उनले दुई देशको संयुक्त सीमा सर्भे टोलीले दसगजा क्षेत्र स्पष्ट छुट्याएपछि अतिक्रमण हटाउने बारेमा पहल हुने बताए। ‘पहिले दसगजा क्षेत्र स्पष्ट होस्,’ उनले भने, ‘त्यसपछि दुवै देशको टिम एक्सनमा जान्छ।’

वर्षौदेखि सीमास्तम्भ मिचेर खेतीपाती भइरहेको भए पनि राज्यका तर्फबाट हटाउने प्रयास भएको छैन। सीमाक्षेत्रमा दसगजा स्पष्ट नभएका कारण पनि बेलाबेलामा दुई देशका नागरिकहरूबीच विवादसमेत हुने गरेको छ।

प्रकाशित: २२ मंसिर २०७६ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App