८ वैशाख २०८१ शनिबार
समाज

४० लाख भन्दा बढी भारतीय आए

गढीमाई भर्न पुगेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल गढीमाई मन्दिरमा पूजा गर्दैै।

बारा- महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षिय मेलामा ४० लाख भन्दा बढी भारतीय श्रद्धालुहरुले मेला भर्न आएका छन्।

‘मेला सुरु भएको २१औ दिनसम्म आई पुग्दा ६० लाख भन्दा बढी श्रद्धालुहरु सहभागी भएका देखिन्छ,’ गढीमाई पञ्चवर्षिय मेला मुल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुसवाहाले भने, ‘सहभागी भएका मध्ये ४० लाख भन्दा बढी भारतीय श्रद्धालुहरु रहेका छन्।’

गढीमाई मेलामा राँगा र बोकालगाएत पशुबलि दिइएको मंसिर १७, १८ र त्यस भन्दा एक दिन अघि मंसिर १६ गते गरि दिनमा मात्रै ३५ लाख भारतीय श्रद्धालुहरु मेला भर्न आएको दावी कुसवाहाले गरे।

नेपाली श्रद्धालु भन्दा बढि भारतीय श्रद्धालुहरु भाकल माग्न गढीमाई मन्दिरमा आउने गरेको जसले गर्दा मेलामा भारतीयहरु लाखौ संख्यामा आउने गरेको मन्दिरका पुजारी शिव चौधरीले बताए।

गढीमाई मन्दिरमा बिहार, उत्तर प्रदेश, झारखण्ड, पश्चिम बंगाल राज्यहरुमा हुने बिधान सभाको चुनावको मेलामा बिभिन्न राजनितिक पार्टीका प्रत्यासी र उनीहरुका आफन्तले गढीमाईसँग चुनाव सफलताको लागि भाकल माग्ने आउने गरेको पुजारी चौधरीले बताए।

मंसिर १६ गतेका दिन मात्रै भारत बिहार सरकारका कला–संस्कृति तथा युवा विकासमन्त्री प्रमोद कुमारले परिवारका साथ मेलामा आएर गढीमाईमा पूजापाठ गरेको पुजारी चौधरीले बताए।

महागढीमाई नगरपालिकका प्रमुख उपेन्द्र यादवले मेला भर्न आउने बाहिरका श्रद्धालुलाई बस्नको लागि महागढीमाई नगरपालिका र मेला समितिबाट गरेर १४ स्थानमा निःशुल्क टेन्टको व्यवस्था गरिएको बताए। निःशुल्क निर्माण गरिएको टेन्टमा एक पटकमा पाँच लाख भन्दा बढि श्रद्धालुहरु बसेको दावी यादवले गरे। मेलामा जिल्लका अन्य स्थानीय तह, ट्रेड युनियन काँग्रेस, मारवाडी सेवा समितिलगाएत बिभिन्न जातिय संगठन र गैर सरकारी संस्थाहरुले निशुल्क रुपमा टेन्ट निर्माण गरि श्रद्धालुहरुलाई सेवा गरेको यादवले बताए।

मेला क्षेत्रका विभिन्न ठाउँमा पाँच सय शौचालय र दुई सय ५० चापाकल र त्यतीकै खानेपानीको धाराहरुलाई ठाउँठाउँमा जडान गर्दा श्रद्धालुहरुलाई मेलामा भर्न र बस्न सजिलो भएको यादवले बताए।

शुक्रबार बेलुका गढीमाई मेला भर्न र मन्दिरमा पूजा गर्न पुगेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गढीमाई मेलालाई शान्तिपुर तरिकाबाट सम्पन्न गर्न तिर लगेर सुरक्षाकर्मीहरुले राम्रो सन्देश दिएको बताए।

गढीमाई मेलामा नेपाल भन्दा भारतीय श्रद्धालुहरु बढि मात्रमा आउने गरेको र शान्तिपुर मेला सम्पन्न हुन लाग्दा भारतमा समेत राम्रो सन्देश गएको दावी आइजीपी खनालले गरे।

मेलामा आउने गरेका नेपाली र भारतीय श्रद्धालुहरुलाई सुरक्षा दिन र मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ठूलो चुनौती रहेको अवस्थामा सुरक्षाकर्मीहरुको कुशल कमाण्डले गर्दा मेलामा कुनै अप्रिय घटना नघटेको र मेला शान्तिपुर तरिकाले सम्पन्न हुने अवस्थामा पुगेको बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फरिन्द्रमणि पोखरेलले बताए।

सुरक्षाको मध्य नजर गर्दै मेला क्षेत्रमा मदिरा (रक्सी)को बिक्री बितरणमा रोक लगाईएको र उछृङखल गतिबिधी गर्नेलाई नियन्त्रणमा लिएको र सडक सुरक्षामा बिशेष ध्यान दिएको प्रजिअ पोखरेलले बताए।

मेला व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति बनाएर त्यसमा काम गरेको प्रजियले दावी गरे। मेलामा नेपाल प्रहरीका १२ सय र सशस्त्र प्रहरीका झण्डै दुई सय सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक विकास राज खनालले बताए।

मेलामा सुरक्षाका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीनवटै सुरक्षाकर्मी परिचालन गरिएको र विभिन्न स्थानमा सिसिटिभी क्यामेरासमेत जडान गरिएर मेलाको निगरानी समेत गरिएको उपरीक्षक खनालले बताए। उनले भारतीय श्रद्धालुहरुको लागि पर्यटन प्रहरीको एउटै छुट्टै  सेवा केन्द्र सञ्चालन गरिएको र त्यसबाट अधिकाँश भारतीय श्रद्धालुहरुले सेवा लिएको दावी खनालले गरे।

राँगाको बलि दिनेले पारिश्रमीक पाएनन्
गढीमाईलाई मंगलबार राँगा बलि दिने कार्यमा खटेकाहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन्। बलि दिन ल्याएको राँगाहरुलाई काटेर बलि दिने कार्यमा खटेका लगभग २ सय ५० जनाको सख्यामा रहेकोहरुले पारिश्रमीक नपाएको बताएका छन्।
राँगाको बलि दिने कार्यमा खटेका बिनयराज शर्मामा रङगशालामा राखिएको पाँच हजार भन्दा बढि राँगालाई बलि दिन काटिए पनि पाँच दिन बित्न लाग्दा पनि एक रुपैयाँ पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन्।

सुरुमा एउटा राँगा काट्नेलाई तीन सय रुपैयाँको दरले पारिश्रमिक दिने आश्वासन बलि व्यवस्थापन समितिका पदाधिकारीहरुले दिए पनि राँगा काटिए तर समितिका पदाधिकारी सम्पर्कविहीन बनेको शर्माले बताए।

पारिश्रमिक उपल्बध गराई दिनको लागि गढीमाई मेला मुल व्यवस्थापन समितिका पदाधिकारी, गढीमाई सन्चालन तथा विकास समितिका पदाधिकारीले बेवास्था गरे पनि गढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव र बाराका प्रजिय फरिन्द्रमणी पोखरेलसँग सबै जनाले पारिश्रमिक उपलब्ध गराई दिन आग्रह गरेको शर्माले बताए।

गढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बलि दिने कार्यमा खटेकाहरुले पारिश्रमीक नपाएको गुनासो आएपछि आइतबार बलि व्यवस्थापन समिति र राँगा काट्ने दुबै पक्षलाई छलफलको लागि बोलाएको बताए।

जारी रहेका मेलामा गढीमाईलाई राँगा बली दिने की नदिने भनेर अन्यौल बढेकोले यस भन्दा पहिलाका मेलाहरुमा राँगाको बली दिने कार्यमा खटिनेहरुलाई दुई तीन दिन पहिलादेखि नै मेला समितिले राँगा काट्नेहरुलाई नियुक्त नगरि त्यसै छोडेको थियो।

अन्यौल बिच पारिश्रमीक बलि रहेकाहरुले गढीमाईलाई बली दिनको लागि ल्याइएको राँगा राखिएको रंगशालामा खुकुरी लिएर पुगी त्याहाँ रहेको सबै राँगालाई काटेर बलि दिएका थिए।

 

 

 

प्रकाशित: २१ मंसिर २०७६ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App