७ वैशाख २०८१ शुक्रबार
समाज

अधिकारी दम्पतिद्वारा एक करोडको अक्षयकोष

अक्षयकोष स्थापना गर्ने रामचन्द्र र सीता अधिकारी।

इटहरी- मानिस स्वार्थी हुनु मानवीय स्वाभाव नै हो। तर जुन मानिस आफ्नालागि भन्दा पनि समाजकालागि मरिहत्ते गर्छ, अनि सामाजिक क्षेत्रकालागि बाँच्न चाहन्छ। यस्ता व्यक्ति नगन्य भेटिन्छन्। इटहरीवासीले बिर्सनै नसक्ने नाम हो, रामचन्द्र अधिकारी र उनकी श्रीमती सीता अधिकारी।

अधिकारी दम्पतिले शुक्रबार मात्र एक औपचारिक कार्यक्रम आयोजना गरि एक करोड रुपैयाँको अक्षयकोषको घोषणा गरेका छन्। इटहरीको अच्छा राई रसिक प्रतिष्ठानद्धारा आयोजित विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा अधिकारी दम्पतिले आफ्ना पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा उक्त अक्षयकोष स्थापना गर्ने घोषण गरेका हुन्।

अधिकारी दम्पतिले स्थापना गरेको अक्षयकोषबाट वर्षेनी साहित्य, समाजसेवा र पत्रकारितामा सक्रिय व्यक्तिलाई पुरस्कार प्रदान गरिनेछ। अधिकारी दम्पतिले अहिले पनि वर्षेनी साहित्य, समाजसेवा र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउनेलाईं आफ्ना मातापिताको स्मृतिमा पुरस्कार प्रदान गर्दै आएका थिए। अधिकारीले ११ लाख रुपैयाँबाट अब भने ठूलो धनरासीको अक्षयकोष स्थापनासँगै पुरस्कारको रकम पनि वर्षेनी बढाएर प्रदान गर्ने लक्ष्य राखिएको छ।

अधिकारी दम्पतिले सबैभन्दा सुरुवातमा नेपाल पत्रकार महासंघ सुनसरीसँगको सहकार्यमा एक लाख ११ हजार रुपैयाँ अक्षयकोषमार्फत वर्षेनी पत्रकारलाई पुरस्कार दिने गर्थे। पछि उनले छुट्टै प्रतिष्ठान बनाएर ११ लाख रुपैयाँ अक्षयकोषमा राखेर तीनवटा विधामा योगदान गर्नेलाई पुरस्कार दिन थालेका थिए।

सामाजिक क्षेत्रकालागि अधिकारी दम्पतिले अक्षयकोष स्थापना गरिनु बिशिष्ट र उदाहरणीय कार्य भएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताए। उनले यति ठूलो रासीको अक्षयकोष स्थापना गरि प्रदेश नं. १ का लागि उदाहरणीय कार्य भएको बताए।

अक्षयकोष घोषणका क्रममा प्रध्यापक डाक्टर टङ्क न्यौपानेले अधिकारी दम्पतिले मन फराकिलो पारेर प्रदेश नं. १ कै ठूलो धनरासीको अक्षयकोष स्थापना गरेको बताए। ‘धेरै मान्छेसँग पैसा हुन्छ तर तिनीहरुले साहित्य, समाजसेवा र पत्रकारिता विधामा फिटिक्कै लगानी गर्दैनन, तर अधिकारी दम्पतिबाट भने प्रदेश नं. १ का लागि गर्व गर्ने काम भएको छ,’ उनले भने, ‘यसमा सबैभन्दा बढी त इटहरीवासी खुसी हुनुपर्छ।’

प्रदेश सांसद सर्वध्वज साँवाले धनभन्दा मन नै अधिकारी दम्पतिको ठूलो भएको बताए। पूर्वमन्त्री रामकुमार सुब्बाले रामचन्द्र र सीताले समाजमा सकारात्मक सन्देश दिएकाले बताए।

सोही क्रममा रामचन्द्र अधिकारीले अहिलेसम्म समाजमा पुर्‍याएको योगदानको चर्चा गरेर लेखिएको विशेषाङ्क प्राञ्जल भाग दुईको पनि सार्वजनिक गरियो। मुख्यमन्त्री राईंले प्राञ्जलको सार्वजनिक गरेका हुन्।

अच्छा राई रसिक साहित्य प्रतिष्ठानले दिंवगत कवि जिवी लुगुनको बारेमा प्राञ्जल भाग एक अघिल्लो वर्ष प्रकासन गरेका थिए। कार्यक्रम अच्छ राई रसिक साहित्य प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको थियो।

 

प्रकाशित: २१ मंसिर २०७६ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App