रंगमञ्च बहस

‘म पोइल जान्छु, बेलसित होइन मान्छेसित !’

शनिबार, २१ मङि्सर २०७६, ०८ : ५७ ध्रुवसत्य परियार

‘त्यो मेरो पोइ कहाँ हो र ? मेरो पोइ त बेल। बेल र सुन्दरमानमा के फरक छ ? उस्तै–उस्तै। पोइ जिउँदै भएर पनि मेरो पोइ छैन क्यारे। मैले उसको नाम नकाढे कसले काढ्ने ?’ पोइको नाम कसरी काढ्न सक्या ? भन्ने प्रश्नमा उर्मिला (सृष्टि आचार्य) को जवाफ हुन्छ। त्यसपछि उसले आफ्नी हजुरआमालाई भन्छे, ‘म पोइल जान्छु, बेलसित होइन मान्छेसित !’

उपरोक्त प्रसंग र संवाद नेपाली रंगमञ्च क्षेत्रका प्रख्यात नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. १९७९–२०६७) कृत र नवराज बुढाथोकी निर्देशित नाटक ‘भुसको आगो’को हो, जुन काठमाडौंको रातोपुलस्थित शैली थियटरमा मञ्चन भइरहेको छ। यो नाटकको आधिकारिक कथावस्तु र सारवस्तु बुझ्न एउटै संवाद काफी छ, ‘म पोइल जान्छु, बेलसित होइन मान्छेसित !’

नेवार समुदायमा कन्याको सानैमा बेल विवाह (इहि) गरिन्छ। इहिको आफ्नै धार्मिक र सांस्कृतिक महŒव छ, तर स्वाभाविक रूपमा बेल र मान्छे फरक हुन्। मान्छेमा भावना, संवेदना, विचार र विवेक हुन्छ, यी चिज नभएको वा गुमाएको मान्छे ? हो, बेलजस्तै हुन्छ। बेलले मान्छेलाई बुझ्दैन। एउटा मान्छेको मर्म नबुझ्ने अर्को मान्छे ? ऊ र बेलमा के नै फरक रहन्छ र ! यो नाटकले महिला संवेदना र सहअस्तित्वलाई पुरुषले नबुझेको, पुरुषवादी समाजमा महिलाहरू अन्याय र विभेदमा परेको दर्शाएको छ।

मञ्चित नाटकमा आठ स्त्री पात्र छन्, जसमध्ये दुईजना दोहोरो भूमिका छन्। नाटकमा परिवेश पनि निकै विम्बात्मक छ, एउटा घरभित्रको चुलोचौकोमा नाटक सुरु हुन्छ र त्यहीँ सकिन्छ। दुई पुरुष पात्रको पनि भूमिका छ, तर उनीहरूको भूमिका नेपथ्यमै टुंगिन्छ। यसको संकेत पनि स्पष्ट छ– चुलोचौकोमा पुरुषको के काम होस् ? पुरुषवादी वा विभेदकारी समाजमा चुलोचौकोको काम महिलाको मात्रै हो।

चुलोचौको रूपी मञ्चमा एउटै परिवार भएर रहेका ६ स्त्री पात्र घुम्छन्। जसमा नानीछोरी (उर्मिलाकी आमा– निमा पाण्डे), बज्यै (उर्मिलाकी हजुरआमा– अस्मिता खनाल), राधा (उर्मिलाकी फुपूकी छोरी– सरस्वती अधिकारी), जो विधवा भएर मामा–माइजुको घरमा छोरो लिएर बसेकी छे, शान्ति (राधाकी बहिनी), जो मामाघरमा बसेर पढेकी छे, रिता (उर्मिलाकी बहिनी– चाँदनी शाही) छन्।

नाटकमा परिवेश पनि निकै विम्बात्मक छ, एउटा घरभित्रको चुलोचौकोमा नाटक सुरु हुन्छ र त्यहीँ सकिन्छ। दुई पुरुष पात्रको भूमिका नेपथ्यमै टुंगिनुको संकेत स्पष्ट छ– पुरुषवादी समाजमा चुलोचौकोको काम महिलाको मात्रै हो।

नाटकमा यसरी नाता जेलिएकाले सुरुमा दर्शकले पात्र चिन्न धैर्य गर्नुपर्छ। तर, जब उर्मिलाकी सौताकी छोरी सरिता मञ्चमा प्रवेश गर्छिन्, नाटकले नयाँ मोड लिन्छ। सानी छोरीसँग अनेक प्रश्न गर्दै उर्मिलाको मन बोल्छ, शंका बोल्छ। यहाँसम्म आउँदा सृष्टिको अभिनय ठीकै–राम्रै लाग्छ। जब उर्मिलाको चरित्र आफूमा उतार्दै, रित्तो कुर्सीलाई आफ्नो पति सुन्दरमान मान्दै उनले संवादमार्फत स्त्री संवेदनालाई व्यक्त गर्छिन्, तब उनको अभिनय कला उत्कर्षमा पुग्छ। हुन त उनी रित्तो कुर्सीसँग बोलिरहेकी हुन्छिन्, तर त्यहाँ उनको पति सुन्दरमान बसिरहेको आभास हुन्छ। उनी भन्छिन्, ‘साँझ नपरेसम्म पर्खिरहन्थेँ। अनि, तोप नपड्केसम्म पर्खिरहन्थेँ। पर्खंदा, पर्खंदा... अनि पछि तपाईंको बिहे भयो।’

यो नाटकको स्थान काठमाडौं उपत्यका, नाटक लेखिएको समय (२०१३ साल) र नाटकको पात्रको प्रसंग केही अघिको भएकाले यहाँ ‘तोप नपड्केसम्म’ भन्ने सन्दर्भ आएको छ। २००७ अगाडि–पछाडितिर रातको ९–१० बजेतिर टुँडिखेलमा तोप पड्काइन्थ्यो, तोप पड्केपछि मानिसहरू हिँडडुल गर्न पाउँदैनथे। त्यसैले यो नाटकको चर्चा गर्न र अहिलेको समयसँग जोडेर हेर्न यसका नाटककार र तत्कालीन परिस्थितिको चर्चा गर्नुपर्छ।

‘गोठाले’ र तत्कालीन परिस्थिति
‘गोठाले’ नेपाली साहित्य जगत्मा मनोविश्लेषणमा आधारित लेखकका रुपमा स्थापित छन्। १८ वर्षकै उमेर (१९९७ फागुन, ‘शारदा’मा प्रकाशित) मा लेखेको उनको पहिलो कथा ‘त्यसको भाले’ बाल मनोविज्ञानमा आधारित छ। यसपछि उनको क. कथासंग्रह (२००३) प्रकाशित भयो।

नाटकमा उनी स्वस्फूर्त आएका भने होइनन्, ‘भुसको आगो’ नाटक उनले महिला संघको अनुरोधमा लेखेका थिए। यो नाटक त्यतिबेलै श्यामदास वैष्णवको निर्देशनमा मञ्चन भयो। महिला संघद्वारा खेलिने भएकाले यस नाटकलाई महिला पात्र मात्रै मञ्चमा देखिने गरी लेखिएको छ।

प्रज्ञा प्रतिष्ठानले ‘गोठाले’ विशेषांकका रूपमा प्रकाशन गरेको ‘समकालीन साहित्य–६३’मा डा. केशवप्रसाद उपाध्यायले लेखेका छन्, ‘पुरुष अभिनेतालाई स्थान दिनु महिला संघको नीतिविरुद्ध हुन जाने हुँदा उक्त संघको आग्रहमा आफूले सुनेको घटनालाई लोग्नेमान्छेको प्रवेश नहुने ठाउँ हेरविचार गरी नारी पात्रलाई मात्र लिएर उनले यो नाटक लेख्नुपरेको बुझिन्छ।’

यसले देखाउँछ, यो नाटक लेखिँदाको बखत स्त्रीलाई पुरुषसँग नाटक खेल्ने सामाजिक स्वतन्त्रता थिएन। यो नाटक लेखिँदा देशमा प्रजातन्त्र आए पनि राजनीतिक खिचातानीको अवस्था थियो। राजा (महेन्द्र) निरंकुशता लाद्न उद्यत् थिए। दलहरूले संविधानसभाको निर्वाचन गर्न चाहन्थे, राजाले भने संसद्को। यसविरुद्ध बिपी कोइराला २०१३ असार १४ गते अदालत गए, (पहिलो संसद्, जगत् नेपाल)। राजाले २०१५ फागुन ७ गते संसद्को चुनाव हुने घोषणा गरे। यसरी संविधानसभाबाट संविधान लेख्ने नेपाली जनताको चाहना निकै पछाडि धकेलियो। यस्तो देश, काल र परिस्थितिका बीच गोठालेले यो नाटक लेखेका हुन्। यो नाटक लेखिनुअघि अर्थात् २००७ सालको प्रजातन्त्रपछि कम्तीमा काठमाडौंमा महिलाहरू संगठित हुन थालिसकेका थिए। महिला पात्र मात्रै भएको यो नाटक नेपालमा पहिलो प्रयोग हो। विदेशमा यस्तो प्रयोग भइसकेको भए पनि यसको कथा मौलिक छ।

अहिलेको सन्दर्भमा भुसको आगो
यस नाटककी प्रधान पात्र उर्मिला, जो पतिले सौता ल्याएपछि माइतीमा बसेकी छे, ऊ प्रश्न गर्छे, ‘बेल र सुन्दरमानमा के फरक छ ?’ निश्चय नै यो नाटकले तत्कालीन समाजका नेवार स्त्रीको कथा–व्यथा, अवस्था, विद्रोह बोलेको छ। आजको समग्र समाज र सन्दर्भमा पनि यो नाटक त्यति टाढा छैन, यहाँ संवेदनाविहीन बेलजस्तै मान्छेहरू छन् र समाजमा विभेद वा अन्याय छ।

नाटकमा उर्मिलालाई आफ्नो पति, आफूलाई कलेजमा पढाउने प्रोफेसर र आफ्नो जवानीको ख्याल हुन्छ। उसले बहिनीलाई भन्छे, ‘शान्ति, तिमीलाई आफ्नो अनुहार देखेर माया लाग्दैन ? ...आजभोलि किनकिन आफ्नो अनुहार देखेर घीन मात्रै लाग्छ। यी हेर, यहाँ आँखानेर चाउरी–चाउरी परिसक्यो। ...अब म बूढी भएँ, २७ वर्ष ! कलेजमा हामीलाई पढाउने प्रोफेसर त मभन्दा कलिलो। ...बिहे नभएको भए मेरो ! हामी केटाकेटा हुँदा स्वास्नी मानिसले अहिलेजस्तो पढ्न पाएको भए ! ’

शीर्षक ‘भुसको आगो’ले दमित यौनेच्छा मात्रै होइन, महिलामा आएको चेतनाको झिल्को, आफ्नो अनुहारको माया अर्थात् आफू हुनुको बोधलाई पनि जनाउँछ। कथानक अनुसार, घरभित्र अर्थात् चुलोचौकोमा सबैभन्दा बढी हैकम नानीछोरीको छ, जोसँग सबै डराउँछन्। यतिसम्म कि उनकी सासुले बेलाबेला आफू जंगबहादुरको पालाकी कर्नेलकी छोरी हुँ भनेर ‘ध्वाँस’ त लगाउँछिन्, तर बुहारीको अगाडि परेपछि उनको बोली बन्द हुन्छ।

यो नाटक लेखिँदाको समयमा मात्रै होइन, अहिले पनि नेपाली पुरुषवादी समाज (सबैतिर होइन, कहीँकतै) मा सासु–बुहारीको मनोविज्ञान दयालाग्दो पाइन्छ। यस नाटकमा पतिको देहान्तपछि सासुको हैकम (चुलोचौकोमा) कम भएको छ, माइतीबाट अंश नपाउने भए पनि उनले भन्न छाडेकी छैनन्, ‘म डराउँदिनँ, कर्नेलकी छोरी पो !’ हेर्नुस्, अझै पनि स्त्रीले कसैकी छोरी, कसैकी पत्नी भनेर पुरुषकै आड लिनुपर्ने अवस्था छ, उसको आफ्नो के छ भनेर खोज्नुपर्छ।

यसर्थ, यो नाटक तत्कालीन देश, काल र परिस्थितिको मात्रै होइन, आजको समाजको पनि ऐना बनेको छ। निश्चय नै ऐनामा निश्चित वस्तु, त्यसमा पनि उक्त वस्तुलाई जस्तो रंगरोगन वा लेप गरिएको छ, त्यही प्रतिविम्बित हुन्छ। यस दृष्टिकोणबाट हेर्दा यो नाटकले समग्र देशको समग्र रुपमा चित्रण गर्दैन। यो त काठमाडौं (केन्द्र) केन्द्रित नाटक हो, त्यतिबेला देशका दुरदराजका महिला भयानक अँध्यारो र अन्यायमा थिए। यद्यपि, नाटकले त्यतितिर पनि संवादमार्फत केही संकेत गरेको छ। एउटा संवाद छ, ‘स्वास्नी मान्छेका लागि प्रजातन्त्र कहिले पो आउने हो कुन्नि। जता पनि थिचेको छ। मेरो जहिले पनि झगडा पर्छ, ऊसित, मेरो पोइसित। म भन्छु– होइन, तपाईं त्यत्तिका वर्ष झ्यालखान बसेर ल्याएको प्रजातन्त्र, त्यत्तिका मान्छे मरेर भएको प्रजातन्त्र, प्रजातन्त्रै कहाँ भयो र ? निर्धो थिचिएकै छ, मिचिएकै छ क्यारे। गरिब–गुरुवा भोकभोकै छन् क्यारे। स्वास्नीमान्छे निर्धो। भोट दिन अधिकार भएर के गर्नु ? घरमा परतन्त्रै छ क्यारे।’

नारी सुधार समितिकी शारदा (चाँदनी शाह) को संवाद सुन्दा लाग्छ, यो २०१३ सालतिरको होइन, आजको सन्दर्भ हो। आज देशमा भर्खर गणतन्त्र आएको छ, घरेलुहिंसा विरुद्धदेखि वैवाहिक बलात्कारसम्मको कानुन आएको छ, तर महिलाको अवस्था उस्तै छ। यो आलेख लेखिरहँदा अछामकी पार्वती बुढा रावतले छाउपडी गोठमा ज्यान गुमाएको खबर छ।

आज हामी महिलालाई चुलोचौको, छाउपडी (महिनावारी बार्ने) बाट निकालेर राजनीति दल र राज्य संरचनामा पुरुष बराबर समावेश गराउने, गरिबी र असमानताबाट उकास्ने, अंश–वंशको हकसँगै राज्यबाट ऐतिहासिक विभेदको क्षतिपूर्ति दिलाउने, समन्याय बुझाउने अभियान र बहसमा छौँ। जसको सशक्त माध्यम हो, नाटक। आज यस्ता नाटक मञ्चन हुन आवश्यक छ।

नाटकमा उर्मिलाको भूमिका निभाउने सृष्टि आचार्यजस्तै सबै कलाकारले अभिनयमा आफूलाई अब्बल साबित गरेका छन्। मञ्चको चुलोचौको, अपूर्ण झ्यालहरू आदिले नाटकको कथावस्तु र सारवस्तुलाई न्याय गरेका छन्। नाटकमा प्रत्यक्ष संगीतको पनि प्रयोग छ, पात्रको संवादलाई असर नगरोस् भनेर निकै कम संगीतको प्रयोग गरिएको छ। यसरी एउटा सुन्दर नाटक प्रस्तुत भएको छ, निश्चय नै यसको श्रेय निर्देशक बुढाथोकीलाई जान्छ। 

नाटकको उत्पत्तिको जग हो, नृत्य। नृत्यसँग गायन, वादन, मञ्च (मैदान वा आँगन), भाषा, वेशभूषा जोडिने नै भए, यी सबै जाति वा समुदाय विशेषका संस्कृतिका आधार हुन्। हामी मौलिक मञ्च वा नाट्य प्रस्तुतिको बहसमा छौँ। यसका लागि सशक्त पक्ष भनेकै जाति विशेषको संस्कृति हो। किनभने, हाम्रो पहिचान बहुसंस्कृतिमा छ। विभिन्न धर्म–संस्कृतिलाई साझा बनाएर, विभेदरहित वा न्यायपूर्ण समाज बनाएर अगाडि बढ्नु नै हाम्रो दायित्व हो। यसले नै हाम्रो मौलिकता निर्माण गर्छ।

मञ्चित नाटकमा नेवार संस्कृति झल्काउने योमरी खाजाको रुपमा आएको छ, कलाकारको वेषभूषा नेवारी छ। तर, यसमा भूमिका निभाउने कलाकारमा नेवारी लबज भेटिँदैन। भाषामा लबजको विशेष महत्व हुन्छ। यसले गर्दा नाटकमा नेवार संस्कृति झल्काउने धेरै कुरा खड्किएको महसुस छ।

खैर, भाषाको समृद्धिका लागि साहित्य लेखनमा लबज र स्थानीयता ल्याउनैपर्छ भन्ने छैन, सकेसम्म सबैले बुझ्ने समृद्ध भाषाकै प्रयोग गर्दा राम्रो हुन्छ। समग्रमा, हाम्रो मौलिक कथावस्तु भएको समय सान्दर्भिक नाटक प्रदर्शन भएको छ, जुन स्वागतयोग्य, दर्शनीय र प्रशंसनीय छ।






यसमा तपाईको मत

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad