१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कुलपूजा परम्परा

हेमराज भट्टराई ‘शास्त्री’
कुल भनेको वंश हो। कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो। शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ। यस क्रममा शुक्ल यजुर्वेदको वाजसनेय शाखामा ‘ॐ कुलायिनी घृतवती पुरन्धिः’ भनेर कुलायिनी शब्द प्रयोग गरिएको छ। यस्तै अथर्ववेदमा पनि कुललाई संकेत गर्ने ‘कुलायं कृणवादिति...’ कुलायेऽधि कुलायं’ आदि मन्त्र उल्लेख छन्। वैदिक सनातन धर्मावलम्बी आर्यहरूले आ–आफ्ना कुलका देवीदेवताको पूजा तथा होम गर्दा परापूर्वकालदेखि नै सोही मन्त्रको प्रयोग गर्दै आएका छन्। तसर्थ सोही समयदेखि कुल देवताको पूजा र होमहोमादि गर्ने परम्परा सुरु भएको हो।

यस्तै कुलदीपिकामा ‘आचारो विनयो विद्या प्रतिष्ठा तीर्थदर्शनम्, निष्ठावृत्तिस्तपो दान नवधा कुललक्षणम्’ अर्थात् आचरण, विनय, विद्या, प्रतिष्ठा, तीर्थदर्शन, निष्ठा, वृत्तिस्थिरता, तप र दान कुलका लक्षण हुन् भनिएको छ। कुलका साथै वंश, घराना वा खान्दान पनि भनिन्छ, जसको खास अर्थ हुन्छ, उच्च कुल। तसर्थ सोही उच्च कुलको प्रतिष्ठालाई निरन्तरता दिन तथा कुलवंशको उन्नति तथा सुख–समृद्धि प्राप्त गर्न कुलपूजा गर्नुपर्ने धार्मिक मान्यता रहेको नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र दाहाल बताउँछन्।

कुलमा परम्परादेखि चल्दै आएका मूल्य–मान्यता, मर्यादा, धर्म–संस्कृति, पूजाआजा र आचारविचार पर्छन्। कुलवंशमा परम्परागत रूपमा चलिआएको कर्म गर्नु नै कुलधर्म हो। कुलधर्मको पालना नगरे वंश विनाशका साथै नरक जानुपर्छ भनेर गीतामा भनिएको छ। भगवान् श्रीकृष्णको उपदेशका क्रममा आफ्ना आचार्यबाट पाएको ज्ञानका आधारमा अर्जुन भन्छन्, ‘उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन, नरके नियतं वासो भवतीत्यनुशुश्रुम’ अर्थात् हे प्रजापालक कृष्ण ! कुलधर्मलाई पालन नगर्ने वा विनाश गर्नेहरू सधैं नरकमै बास गर्छन् भन्ने मैले गुरुपरम्पराबाट सुनेको छु।

कुलदेवता, इष्टदेवता वा अन्य देवीदेवताको परम्परा अनुसार खास तिथि वा दिनमा गरिने पूजा–उपासनालाई देवाली भनिन्छ। परम्परागत रूपमा ज्येष्ठ शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमा (धान्यपूर्णिमा) का दिन देवाली गर्ने चलन छ।

कुलघरान भनेको व्यक्तिको पहिचान हो। आफ्नो वंशमा रहेका प्रतिष्ठापूर्ण छवि बनाएका पुर्खाको सच्चरित्रले आफ्नो कुललाई नै प्रकाशित गर्छ। विद्या, त्याग र तपस्याद्वारा माथि उठेका आफ्ना जिजुबाजेको आशीर्वाद वंशवृद्धिका लागि एउटा ऊर्जाको स्रोत बनेको हुनाले कुल परम्परालाई निरन्तरता दिनु कर्म मार्गमा लागेका गृहस्थीको मुख्य कर्तव्य हो भनेर गीताले प्रस्ट्याएको छ।

मानव सभ्यता तथा सृष्टिकालदेखि नै विभिन्न सम्प्रदायले आ–आफ्ना कुलको कल्याण तथा अभीष्ट सिद्धिका लागि पूजा तथा होमहोमादि गर्दै आएको पाइन्छ। वैदिक, पौराणिक र तान्त्रिक मान्यताभित्रका मुख्य देवीदेवता, ती देवीदेवताका पनि गणभित्र पर्ने र आफ्नो वंशमा अगतमा परी देहत्याग गरेका र प्रेतात्मा बनेका तथा कालगतिले देहावसान भई पितृलोक प्राप्त गरेकालाई पनि कुलायन मानी उनीहरूको तृप्तिका लागि यस्तो पूजा गर्ने चलन चलेको उपप्राध्यापक दाहाल बताउँछन्।

वेदमा उल्लिखित अनेकौं देवीदेवतालाई द्युलोक, अन्तरिक्ष लोक र पृथ्वीलोकमा रहने भनी यास्काचार्यले ‘निरुक्त’मा छुट्ट्याएका छन्। तिनीहरूमध्ये द्युलोकका विष्णु, सूर्य आदिमध्ये सूर्यलाई प्रमुख, अन्तरिक्षका रुद्र, इन्द्र, वरुण र वायुमध्ये ‘वायुवेन्द्र’ भनी वायु र इन्द्रमध्ये एकलाई मुख्य मानिएको छ। त्यस्तै, पृथ्वीवासी देवीदेवतामध्ये अग्निलाई प्रमुख मानिएको छ। तिनै अग्निलाई साक्षात् भगवान्को रूप मानी कुलपूजालगायत प्रायः सबै धार्मिक अनुष्ठानमा ‘स्वाहा’ शब्दद्वारा हवन गरिन्छ।

त्यसैगरी कुलपूजासँगै नेपाली समाजमा देवालीको समेत चलन रहेको छ। देवाली कुलपूजाकै एक अंश हो। कुलदेवता, इष्टदेवता वा अन्य देवीदेवताको परम्पराअनुसार खास तिथि वा दिनमा गरिने पूजा–उपासनालाई देवाली भनिन्छ। देवाली परम्परागत रूपमा ज्येष्ठ शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमा (धान्यपूर्णिमा) का दिन गर्ने चलन रहेको पाणिनी संस्कृत विद्यालयका प. राजेन्द्र आचार्य बताउँछन्। वर्षमा यी दुई पक्ष मार्गशीर्ष (मंसिर) शुक्ल र ज्येष्ठ शुक्ल पक्षमा प्रत्येक वर्ष गोठपूजा गर्ने, कुलका धामीलाई दोपाया–चौपायाको रक्षाका लागि कुलदेवता आह्वान गर्न लगाई धूपध्वाँर, नैवेद्यादिद्वारा खुसी पार्ने र एक वा दुई वर्ष बिराएर तेस्रो वर्षमा देवाली गर्ने गरिन्छ।

देवालीका विधि अनेक छन्। कहीँ बाजागाजासहित कुलदेवतालाई डोलीमा राखी कुलपूजास्थलमा लगिन्छ भने कहीँ धामी काम्ने र नाच्ने, कहीँ सामान्य रूपमा मात्र पूजा गर्ने चलन छ। आ–आफ्नो परम्पराअनुसार समाजमा हामीले कतै शिव, कतै देवी, कतै प्रेतशक्ति, कतै मसानी, कतै भैरव, कतै मष्टा, कतै पिशाचशक्ति र कतै भूतगणको रूपमा देवाली गर्छौं। त्यसैगरी कुलपूजासँगै अग्नि, जल, सूर्य, वायु र वनस्पति देवतालाई समेत देवालीका नाममा पूजा गरिन्छ। यस दिन आफ्ना कुलकुटुम्ब तथा बन्धुबान्धव भेला हुने, रमाइलो गरी पूजा गर्ने र पूजापछि प्रसाद बाँड्ने चलन छ। कतिपयले भोजभतेर लगाएर सबैलाई खुवाउने गर्छन्।

कतिपयले कुलपूजामा राँगा, बोका, सुँगुर, कुखुरा, हाँसआदि पशुपक्षीको बलि दिई पूजा गरेको पाइन्छ। जीवलाई बलि दिएर पूजा गर्दा पशुले समेत मुक्ति पाउँछ भन्ने लोकमान्यता छ। तर, हिन्दु धार्मिक ग्रन्थ गीता र श्रुतिमा हिंसा गर्नु महापाप बताइएकाले कुलायन पूजा गर्दा दूध, खीर तथा फलफूलको भोग लगाएर पूजा गर्नु राम्रो मानिन्छ।

धान्यपूर्णिमा
मार्गशीर्ष पूर्णिमाको दिनलाई धान्यपूर्णिमा, यःमरिपुन्हि, गैडूपूजा, उधौली आदि पर्वको रूपमा विभिन्न जाति तथा समुदायले मनाउने गरेको पाइन्छ। धानबाली थन्क्याउने, नयाँबालीका विभिन्न परिकार कुललाई चढाएर खान सुरु गरिने भएकाले धान्यपूर्णिमा भनिएको हो। प्रकृतिका पूजक किरात राईले जाडो मंसिरे पूर्णिमामा उधौली र वैशाखे पूर्णिमा उभौली मनाउने गर्छन्।

त्यसैगरी यस दिन काठमाडाैं उपत्यकालगायत विभिन्न ठाउँमा छरिएर रहेका नेवार समुदायले यःमरिपुन्हि मनाउँछन्। नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो आकार बनाएर चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट यःमरि तयार पारिन्छ र नयाँ बालीलाई चढाइन्छ। ज्यापू संस्कृतिको रक्षार्थ सरकारले घोषणा गरेसँगै २०६१ सालदेखि यस दिन ज्यापू दिवस मनाइन्छ।

पूजाविधि
कुलपूजा गर्दा शास्त्रीय विधि अपनाइन्छ। सुरुमा पञ्चगव्य निर्माण र प्राशन, कर्मपात्र स्थापन र जलाभिषेक, आचमन, शिखाबन्धन, प्राणायाम, तिलकधारण, आसन शोधन, दीप प्रज्वलन, धूपपात्र पूजन, मन्त्रोच्चारणपूर्वक सर्षप क्षेपण, शंखघण्ट पूजन, स्वस्तिवाचन, प्रधान संकल्प, अघ्र्यपात्र स्थापन, सूर्याघ्र्य प्रदान, दीप पूजन, कलश स्थापन, गणेश पूजन, पूर्वभागमा तीनवटा पद्मदलमा तीनवटा दीप राखेर (क्रमैले सानो मध्यम र ठूलो हुने गरी) पूजन, पञ्चोपचार, षोडशोपचार अथवा उपलब्ध उपचारले आद्या भगवतीसहित सत्वगुणी कल्कि, तमोगुणी मष्टा (महारुद्र) र रजोगुणी महालक्ष्मी तथा कल्किमष्टा भगवती र कुलदेवताको शास्त्रीय विधिले पूजा गर्नुपर्छ। खड्ग र छापमा दुर्गा सप्तशतीका मन्त्र (चौथो अध्यायका सुरुका २० वटा श्लोकसम्म) पढी कुल देवता तथा कुलस्वामीको पूजा गर्नुपर्छ। त्यसपछि बलिदेवता पूजा, जेठो हाँगो अर्थात् मूलघरबाटै बलिको संकल्प तथा धूपबत्ती गरी बलिलाई पर्सिने चलन छ। चण्डीका तिनै मन्त्रले चन्दन, अक्षता, पूmल, तिलजौ लिई पुष्पाञ्जली चढाउनुपर्ने मान्यता छ।

त्यसपछि रुद्राभिषेक, भगवती स्थानमा सौभाग्य दान, मष्टा स्थानमा बलि र त्यसपछि अग्नि स्थापना गरी कुलदेवताको हवन गर्नुपर्छ। यही क्रमले क्षेत्रपाल बलिदान, उत्तराङ्ग हवन र भूयसी दक्षिणा संकल्प गरी विसर्जन गर्नुपर्छ। त्यसपछि बन्धुबान्धवसहित कलशको जलद्वारा मन्त्रोच्चारणपूर्वक अभिषेक, रक्षासूत्र बाँध्ने, टीकाप्रसादादि लगाई भगवान्लाई चढाएको पञ्चामृत, खीर, फलफूल, लड्डु, बाबर, पुवा, मालपुवा आदि ग्रहण गर्नुपर्ने चलन रहेको पं बलराम सिग्देल बताउँछन्।

चढाइएको फूलपाती चोखो स्थानमा विसर्जन गरी सबै कार्य सकेपछि कुलदेवतालाई कसैले छुन नसक्ने चोखो ठाउँमा गोप्य गरी छोपेर राख्ने चलन रहेको छ। यसरी शास्त्रीय विधिले कुल तथा गैडूदेवता पूजा र देवाली गर्नाले आफ्नो वंशमा दिवंगत पितृले मुक्ति पाउने र शाखा–सन्ततिको वृद्धि भई वंश परम्पराले निरन्तरता पाउने मान्यता छ।

प्रकाशित: २१ मंसिर २०७६ ०३:०८ शनिबार

धान्यपूर्णिमा कुलपूजा परम्परा