८ वैशाख २०८१ शनिबार
शिक्षा

भारतीयको विश्वास जित्दै लहान आँखा अस्पताल

सगरमाथा चौधरी आँखा अस्पताल लहानमा उपचारका लागि आएका बिरामीमा देखिएको कोर्नियल अल्सर। तस्बिर : मिथिलेश/नागरिक

लहान – दुई महिनाअघि धानखेत हेर्न जाँदा ६० वर्षीया विमलादेवी यादवको देब्रे आँखामा धानको पातले घोच्यो। धुलो प-यो होला भनेर उनले आँखा मिचेर निकाल्न खोजिन्। तर, आँखा रातो भयो र झन् दुख्न थाल्यो। समस्या बल्झिँदै गएर आँखाको नानीमा फैलियो र उनको देब्रे आँखाबाट देख्न समस्या भयो। दुई महिनादेखि भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि विमला संसार छ्यांङ देख्ने विश्वासका साथ सगरमाथा चौधरी आँखा अस्पताल लहान आइन्।

भारतको बिहार सुपौल जिल्ला, रतौली ग्राम पञ्चायत झरकानिवासी विमला भन्छिन्, ‘मैले सुरुदेखि नै परिवारलाई उपचारका लागि यहीँ जाऊँ भनेकी थिएँ। आखिरमा यहीँ आउनुप-यो।’ आँखामा समस्या आउँदा उनले पहिला गाउँकै मेडिकल पसलबाट झोल औषधि ल्याएर आँखामा हालिन्। निको नभएपछि सुपौलकै डाक्टर आरके यादवको निजी क्लिनिकमा जाँच गराइन्। तर, यहाँको उपचारबाट पनि बिसेक नभएपछि उनी विराटनगरस्थित दीपज्योति आँखा अस्पताल पुगे। केही दिन उपचार गराउँदा पनि समस्या ज्युँका त्युँ भएपछि लहान आएको उनले बताइन्।

अस्पताल प्रबन्धक अभिषेक रोशन कोर्नियल अल्सर (नानीमा भएको अल्सर) लगायत जटिल घाउ पत्ता लगाउन सकिने कनफोकल माइक्रोस्कोप नेपालमा यस अस्पतालमा मात्र रहेकाले देश–विदेशका बिरामीमा यस अस्पतालप्रति विश्वास बढेको छ। विमलालाई यस आँखा अस्पतालको उपचारमाथि भरोसा त्यत्तिकै पलाएको होइन। करिब पाँच वर्षअघि उनकी आमा सुगावतीलाई पनि आँखामा समस्या भएको थियो। त्यो बेला भारतको विभिन्न अस्पतालमा उपचार गराउँदा निको भएन। गाउँका छिमेकीले लहान लैजान सल्लाह दिए। उनी यस अस्पतालमा उपचारपछि निको भएर घर फर्किन्।

‘उता (बिहारमै) आँखाका थुप्रै अस्पताल छन् तर भरपर्दो उपचार छैन,’ उनले भनिन्, ‘यहाँको उपचार भरपर्दो भएकाले लहान आएका हौं।’ विमलाका छोरा शैलेन्द्रका अनुसार भरपर्दो आँखा उपचार केन्द्रका रूपमा सगरमाथा चौधरी आँखा अस्पतालले धेरै मानिसको विश्वास जितेको छ। ‘अलिक गारोसारो पर्दा नेपाली उपचारका लागि भारततिर दौडिने चलन छ। तर, छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यहाँको भरपर्दो उपचारलाई पुष्टि गर्छ,’ लहान नगरपालिका–३ का वडाध्यक्ष रामदयाल महतोले भने।

अलिक गारोसारो पर्दा नेपाली उपचारका लागि भारततिर दौडिने चलन छ। तर छिमेकी मुलुक भारतीय नागरिकले नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यहाँको भरपर्दो उपचारलाई पुष्टि गर्छ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा ६० प्रतिशत भारत, बंगलादेशलगायत मुलुकका हुने गर्छन्। विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुने गरेका छन्।

‘यस प्रकारको ‘चिकित्सा पर्यटन’ (मेडिकल टुरिज्म) ले प्रदेश २ को व्यापारमात्र होइन, गौरव पनि बढाएको समाजसेवी सन्तोष चौधरीले बताए। ‘यसबाट औषधि पसल, वाहन, होटेल र खुद्रे पसलको व्यापार वृद्धि भएको छ,’ उनले नगरिकसँग भने, ‘रोजगारीका अवसर पनि सिर्जना भएका छन्।’

गुणस्तरीय, सस्तो र सबैखाले सहजताले गर्दा उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको सो आँखा अस्पतालका प्रबन्धक रोशनले बताए। सन् १९८३ सालमा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क एवं दातृसंस्थाको सहयोगले चलिरहेको छ। यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखारोग विज्ञसहित तीन सय २० चिकित्सक एवं प्रशासनिक कर्मचारी कार्यरत छन्। अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जँचाउन आउने बिरामीको संख्या चार लाख ८८ हजार पाँच सय ४९ र शल्यक्रिया गराउनेको संख्या ५८ हजार चार सय ७८ छ।

यो अस्पतालमा जाँचका लागि आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ। पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गैरनाफामूलक सो अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वकै अति विकसित अस्पतालमा हुने जटिल शल्यक्रियासम्म हुन्छ। मोतियाबिन्दु, जलबिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, कोर्नियासम्बन्धी सम्पूर्ण जाँच एवं उपचार, अकुलोप्लास्टी (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतियाबिन्दु र आँखाको डेढोपन (स्विकन्ट) सम्बन्धी शल्यक्रिया यहाँ हुन्छ।

बस्न लाग्ने खर्चसहित एक हजार दुई सय रुपैयाँमा मोतियाबिन्दुको शल्यक्रिया यहाँ हुन्छ। प्रबन्धक रोशनका अनुसार कुल रोगीमा ७० प्रतिशत मोतियाबिन्दुका र अन्यमा कोर्निया, रेटिना एवं जलबिन्दुलगायत हुन्छन्। ४८ रुपैयाँ पुर्जीशुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ। ‘संसारमै सबभन्दा कम शुल्क १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं,’ प्रबन्धक रोशनले भने, ‘सेवासुविधाको तुलनामा निकै कम शुल्क राखेकाले हामी सबै वर्गको पहुँचमा छौं।’

मनग्गे रकम खर्चेर मात्र स्तरीय उपचार पाइन्छ भन्ने जनमानसमा फैलाइएको भ्रम र हल्लाको आफूहरूले सशक्त जवाफ दिइरहेको रोशनले बताए। ‘उपलब्ध सुविधा, न्यूनतम शुल्क, विज्ञ र गुणस्तरीयताको हिसाबले एसियाको मात्र नभएर विश्वकै यो तेस्रो सबभन्दा उत्कृष्ट आँखा अस्पताल भएको दाबी गर्छौं,’ रोशनले भने। पहिलो र दोस्रो स्थानमा भने भारतकै मध्यप्रदेशको चित्रकुट एवं तमिलनाडु राज्यमा रहेका आँखा अस्पताल छन्। राजधानीको आँखा अस्पतालले पनि दिन नसक्ने उपचार लहानमा उपलब्ध रहेको रोशनले बताए।

बिरामीको चाप, उपलब्ध सुविधा, अत्याधुनिक उपकरणलगायत सुविधाकै कारण होला यस अस्पतालमा नेत्र विशेषज्ञको रूपमा उपचार गर्न पाऊँ भनेर आवेदन गर्नेमा विदेशीको लाइन हुन्छ।

यसैबीच, सगरमाथा चौधरी आँखा अस्पतालले गत साता विश्वस्तरीय कोर्निया सम्मेलन ग¥यो। सम्मेलनमा बेलायत, युगान्डा, जर्मनी, भारत र नेपालका गरी सयभन्दा बढी नेत्ररोग विशेषज्ञ सहभागी भए। यस अस्पतालमा उपलब्ध कोर्निया रोगको जाँच उपकरण र उपचारबारे देशविदेशका नेत्र विशेषज्ञलाई जानकारी गराउने उद्देश्यले कोर्निया सम्मेलन गरिएको अस्पतालले जनाएको छ।

पछिल्लो समय कोर्निया रोग (आँखाको नानीसम्बन्धी रोग) अन्धोपन निवारणमा नयाँ चुनौतीको रूपमा देखिएको नेत्र चिकित्सकको भनाइ छ। तिलगंगा आँखा अस्पताल काठमाडौंका सिइओ डाक्टर रिता गुरुङले भनिन्, ‘कोर्निया रोगले अन्धोपन निवारणमा चुनौती थपेको छ। कोर्नियामा अल्सर भइसकेपछि मात्र बिरामी अस्पताल आउँछन्, जसले जाँच र उपचारमा समेत चुनौती थपिएको छ।’

‘यस अस्पताललाई कोर्निया रोग उपचारको रेफरल प्वाइन्टको रूपमा स्थापित गर्न अन्य आँखा अस्पतालसँग सहयोगको अपेक्षा समेत छ,’ अस्पताल प्रबन्धक रोशनले भने। सेवासुविधा र उपचारको हिसाबले अग्रणी आँखा अस्पतालको नाताले अरू अस्पतालमा हुन नसक्ने उपचार (कोर्निया रोग) का लागि यस अस्पतालमा बिरामीलाई रेफर गरिदिए बिरामीले सस्तोमा भरपर्दो उपचार पाउने उनले बताए।

सन् २०१२ मा गरिएको -याप सर्भे (अन्धोपनसम्बन्धी राष्ट्रिय सर्वेक्षण) मा कोर्निया रोगका कारण ६ प्रतिशत बिरामी अन्धोपनको सिकार भएको देखिएको थियो। अहिले पुनः सर्भे हुँदै छ। नेपाल नेत्र ज्योति संघले देशैभर -याप सर्भे गरिरहेको छ, जसमा प्रदेश दुईको महोत्तरी, धनुषा, सिरहा र सप्तरीको सर्भे सगरमाथा चौधरी आँखा अस्पतालले गर्दैछ।

प्रकाशित: २१ मंसिर २०७६ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App