coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

योमरी पुन्ही

चुन्दा वज्रचार्य

योमरी पुन्ही नेवारहरूको विशेष चाड हो। नेपाल भाषाका यी दुई शब्दले मिठो रोटी खाने पूर्णिमा भन्ने बुझाउँछ। ‘यः’ को अर्थ मनपर्ने, ‘मरि’को अर्थ रोटी र पुन्हीको अर्थ पूर्णिमा हुन्छ। योमरी पुन्हीलाई धान्य पूर्णिमा पनि भनिन्छ। नेवार संस्कृतिमा मार्ग शुक्ल पूर्णिमाको दिनमा नयाँ अन्नलाई पूजा गर्ने गरिन्छ। यस्तो संस्कृति अन्य जाति र समुदायमा पनि पाइन्छ, तर पूजाको तिथि वा दिन फरक हुन सक्छ।

योमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित छ। योमरी पुन्ही सुरु हुनुअघि घर–घरमा भिœयाइएको धानलाई ५–६ दिन छोपेर राख्नुपर्छ। त्यसपछि धानलाई केलाएर, सफा गरेर, ५–६ दिन घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ। नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने चलन छ। धानको सुरक्षाका लागि धान राखिएको (भकारी, कुटी, घ्याम्पो आदि) भाँडामा योमरीको पूजा गरिन्छ। पाथीभरि योमरी राखेर धानलाई चढाइन्छ। धानलाई धनको रूपमा पनि पूजा गरिन्छ। धानलाई अन्नपूर्णको रूपमा पनि पुजिन्छ। धान्य पुन्हीले धान भाँडो भरी भएको पनि संकेत गर्छ।

धानलाई वर्षभरि कसरी सुरक्षित गर्ने भन्नेबारे योमरी पुन्हीको अर्को छुट्टै महत्व छ। पहिलेपहिले अहिले जस्तो कोल्ड स्टोरको व्यवस्था हुँदैनथ्यो। योमरी पुन्हीले धानलाई व्यवस्थित ढंगले राख्न सिकाउँछ। नयाँ चामलको पिठोबाट योमरी बनाएर धानमा चढाइन्छ। योमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ। धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउँछ।

‘यः’ को अर्थ मनपर्ने, ‘मरि’को अर्थ रोटी र पुन्हीको अर्थ पूर्णिमा हुन्छ। योमरी पुन्हीलाई धान्य पूर्णिमा पनि भनिन्छ। नेवार संस्कृतिमा मार्ग शुक्ल पूर्णिमाको दिनमा नयाँ अन्नलाई पूजा गर्ने गरिन्छ।

योमरी माग्ने
योमरीको सांस्कृतिक महत्व भन्नु नै धानको पूजा वा सम्मान हो। यसमा रमाइलो पक्ष यो छ कि तिहारमा देउसी–भैलो खेलेझैँ नेवारहरूले गीत गाउँदै, नाच्दै योमरी माग्ने गर्छन्।

योमरी गीत नै छ–
ट्यो सिं ट्यो
ब्कसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्यो।।
ब्यु मह ल्यासे
म्ह ब्यु म्ह बूढीकुटी चा।।
छिमनचुकी जिमनचुकी
बिगोसा याकन्ब्युँ।।

अर्थात्
जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ
माना–पाथी जेबाट जति दिए पनि देऊ।
दिने मान्छे राम्रो
नदिने मान्छे नराम्रो।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ।।

योमरी पुन्हीमा घरघरमा गएर योमरी, दान, दक्षिणा, धान, चामल पनि माग्ने गर्छन्। नेवार समुदायमा दान गरेर चाड पर्व मनाउने परम्परा छ। आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यता छ। योमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता छ। यसका साथै सामाजिक कार्यका लागि यस दिन प्रत्येक घरबाट पैसा संकलन पनि गरिन्छ।

योमरी बनाउने विधि
जुन प्रयोजनका लागि योमरी बनाउने हो, त्यसले योमरीको प्रकारमा फरक पार्छ। पूजाका लागि सानो आकारको योमरी बनाइन्छ, जसका लागि चामलको पिठो र आँखे चाहिन्छ। खानका लागि योमरी बनाउँदा चाकु, चामलको पिठो, तिल, नरिवल लगायत मसला चाहिन्छ। स्वादका लागि खुवा, मास, मासु राखेर पनि बनाइन्छ।

जुनसुकै योमरी बनाउन चामलकै पिठो चाहिन्छ। टाइचिन चामलको पिठोबाट राम्रो र स्वादिलो योमरी बन्छ। यसका लागि सफा चामललाई भिजाएर घाममा सुकाउनुपर्छ, अनि पिस्नुपर्छ। चामलको पिठोमा उमालेको पानी थोरैथोरै राख्दै मुछ्नुपर्छ। तातो पानी र पिठोको मात्रा मिलाएर राम्रोसँग मुछ्नुपर्छ। मुछेको पिठोलाई न्यानो कपडाले बेरेर राख्नुपर्छ। पिठोभित्र राख्न चाकु, योमरी, मास, मासु जस्ता सामग्री तयार गर्नुपर्छ। योमरीमा चाकु लगायत विभिन्न परिकार छोपेर पकाइनुको दार्शनिक पक्षमा घोत्लिँदा धानलाई छोपेर राख्नुपर्ने संकेत गर्छ।

योमरी चाकु राख्नका लागि चाकुलाई पानी राखेर पकाउनुपर्छ, त्यसमा रस आएपछि भुटेर पिसेको तिल र मसिनो पारेर कोरेको नरिवल राखेर पाँच मिनेट पकाउनुपर्छ। केहीबेरमै चाकु तयार हुन्छ। त्यस्तै, मास र मासु हालेर पनि योमरी बनाउन सकिन्छ। मास राख्नका लागि पहिले मासलाई सफा पानीमा भिजाएर पिस्नुपर्छ, त्यसमा आफ्नो स्वाद अनुसारका मसला हाल्न सकिन्छ।

आफूलाई कस्तो र कत्रो साइजको योमरी मनपर्छ, त्यही अनुसार बनाउन सकिन्छ। मुछेको पिठोलाई हत्केलामा घुमाउँदै औँलामा तेल र तातोपानीको प्रयोग गरी चैतय आकारमा बनाइन्छ। त्यसभित्र आफ्नो स्वाद अनुसारको सामग्री राखेर फेरि त्यसलाई घुमाउँदै  बन्द गर्नुपर्छ। अब त्यसको माथिल्लो भागमा पनि कुन आकार दिने भन्ने कुरामा भर पर्छ। एक मुखे, दुई मुखे, बज्र आकार पनि दिन सकिन्छ। तयार भएको योमरीलाई मःमः पकाउने अर्थात बाफबाट पकाउने मिल्ने भाडामा राखेर १५ देखि २० मिनेटसम्म पकाउनुपर्छ। अनि योमरी खानको लागि तयार हुन्छ।

यो पर्व सीप प्रदर्शन गर्ने एउटा माध्यम पनि हो। केहीले विभिन्न भगवान् (गणेश, कुवेर, पानस) जस्ता आकृति बनाएर योमरी बनाउँछन्। विशेषतः तीन थरीका योमरी बनाउने गरिन्छ। पूजाका लागि पाँचवटा आखेँ (चामलको गेडा) राखेर बनाइन्छ। दर्शन अनुसार पञ्च तत्वमा विश्वास गरेर यस्तो योमरी बनाइन्छ। यस्तो योमरी जन्मदिन, विशेष पूजा, नयाँ घरको पूजामा, जन्को जस्ता शुभकार्यमा बनाइन्छ। अर्को, योमरी चाकु राखेर बनाइन्छ। बालबच्चालाई खुसी बनाउन हात्ती, गणेश जस्ता अरु विभिन्न आकृति दिएर योमरी बनाइन्छ। पूजामा चढाइएको योमरी चार दिनपछि आफ्नो परिवारका सदस्यले प्रसादका रूपमा खान्छन्। यो योमरी परिवार बाहेकका अरुलाई खान दिइँदैन।

स्वास्थ्यका लागि उपयोगी
स्वास्थ्यका हिसाबले योमरी उपयुक्त हुन्छ। चिसो मौसममा नयाँ चामलको पिठो खाँदा शरीर न्यायो हुन्छ। त्यस्तै योमरीमा प्रयोग हुने चाकुले पनि शरीरको तापक्रमलाई बढाउनुको साथै शरीरमा ऊर्जा दिन्छ। त्यस्तै चाकुले शरीरलाई आइरन दिन्छ। योमरीमा प्रयोग हुने तिल र नरिवलले शरीरलाई चिल्लो पद्धार्थ प्रदान गर्छ। जाडोमा इनर्जी चाँडै सकिने हँुदा छिटै भोक लाग्छ। तिल र नरिवल अडिलो हुने हुँदा छिटो भोक लाग्दैन। शरीरलाई न्यानो बनाउन पनि यो चाड मनाउने गरिन्छ। हाम्रा चाडपर्व मानव शरीर र मौमम अनुसारकै छन्। यसरी योमरी पुन्ही सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक र स्वास्थ्यका दृष्टिकोणले निकै फलदायी देखिन्छ।

योमरी पुन्ही, योमरी खाने र धानको पूजा गर्ने सुरुवातबारे लिखित इतिहास भेटिएको छैन। निश्चय नै यो कृषि र विशेषतः धान खेतीसँग सम्बन्धित यसको सुरुवात पनि कृषियुग वा धानखेतीसँगै भएको मान्न सकिन्छ। क्रमशः वातावरण र मौसमका दृष्टिकोणबाट पनि सोच्न थालियो र यो पर्वको विकास हुँदै गयो।
(संस्कृतिविद् वज्रचार्यसँग नागरिककर्मी ज्योति श्रेष्ठले कुराकानीमा आधारित)

प्रकाशित: २१ मंसिर २०७६ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App