coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्वर्ग र नर्क

स्वर्ग र नर्कको प्रसंग आउँदासाथ नाक खुम्च्याउनेको संख्यालाई कम आँक्न मिल्दैन। यो जमात भौतिकवादीका रूपमा चिनिन्छन्। भौतिकवादी दृष्टिकोणमा यो अन्धविश्वास, पछौटेपना र धर्मको आडमा शोषण गर्ने एउटा माध्यम हो। नर्कको प्रसंग झिकेर डर–त्रास देखाउने तथा स्वर्गको प्रसंग ल्याएर लोभ–लालच बढाउने तथा आफ्नो दुनो सोझ्याउनेको जमात पनि कम छैन। त्यही जमातविरुद्ध जनचेतना जगाउन भौतिकवादी स्वर्ग र नर्क भन्ने कुनै बेग्लै संसार हुँदैन भनी मन्तव्य व्यक्त गर्छन्। अनि स्वर्ग र नर्कको कुरा गर्ने विभिन्न धर्मका विरुद्ध जेहाद छेड्छन्। यो लामो समयदेखि चल्दै आएको पाइन्छ। अतीत कालमा भौतिकवादीहरू ‘लोकायत’ नामबाट चिनिन्थे।

गौतम बुद्धको शिक्षामा आधारित बौद्ध धर्ममा आत्मा, परमात्मा तथा ईश्वर जस्ता अमूर्त कुरालाई स्थान छैन। अझ यसमा आत्मा, परमात्मा तथा ईश्वरको अस्तित्वको खण्डन नै गरिन्छ। भौतिकवादीका लागि पनि यी कुरा मान्य छैन। यही भएर भौतिकवादीहरू यस धर्मलाई आधुनिक विज्ञानसँग नजिक रहेको भनी मुक्तकण्ठले प्रसंशा गर्छन्। अझ यसलाई धर्म भन्नाले अन्य धर्मजस्तो देखिने भएकाले त्यसको ठाउँमा ‘दर्शन’ भन्नुपर्छ भन्ने मान्यता राख्छन्।

धर्मको ठाउँमा दर्शन भनिदिँदा मान बढाएको वा ठूलै काम गरेको भन्ठान्नेहरू पनि छन्। भौतिकवादीले आफ्नो दृष्टिकोणको स्थापनाका लागि बौद्ध धर्मलाई लौरोको रूपमा पनि प्रयोग गर्न खोज्छन्। तर बौद्ध समाजमा धर्म र दर्शन दुई पर्यायवाची शब्द हुन्। पूर्वीय दर्शनशास्त्रमा प्रयुक्त हुने ‘तत्व’लाई पनि बौद्ध समाजले धर्म शब्द प्रयोग गरेको पाइन्छ। बौद्धहरूले धर्म वा दर्शन शब्दको प्रयोग विशिष्ट अर्थमा गर्ने गरेको र यसको अर्थ बौद्ध सन्दर्भमा खोज्नुपर्ने हुन्छ। अन्य शब्दकोशको सहायताले बौद्ध धर्मका विभिन्न आयाम बुझ्ने प्रयासले अन्ततः कुहिरोमा हराएको काग बनाइदिने तथा बौद्ध धर्मदर्शनको अपव्याख्या गर्ने अवस्थामा पु¥याइदिन्छ। भौतिकवादीले आफूलाई जे–जस्तो ठाने पनि बुद्धले उनीहरूको दृष्टिलाई ‘मिथ्या दृष्टि’ भनी आलोचना गर्नुका साथै यसले प्राणीलाई दुःखबाट मुक्ति नदिने भनी उपदेश गरेका छन्। स्वर्ग र नर्कको भौतिकवादी बुझाइ अन्य धर्महरूमा आधारित छन् भने यसले बौद्ध मान्यतामा बेग्लै अर्थ राख्ने हुन्छ। तसर्थ स्वर्ग र नर्कका सम्बन्धमा बौद्ध दुष्टिकोण के छ भन्ने कुरामा संवेदनशील हुनुपर्छ।

गौतम बुद्धको शिक्षामा आधारित बौद्ध धर्ममा आत्मा, परमात्मा तथा ईश्वर जस्ता अमूर्त कुरालाई स्थान छैन। अझ यसमा आत्मा, परमात्मा तथा ईश्वरको अस्तित्वको खण्डन नै गरिन्छ। भौतिकवादीका लागि पनि यी कुरा मान्य छैन।

भौतिकवादले मानिसलगायत सबै प्राणीको जीवन जन्मदेखि मृत्युसम्म मात्रै मान्छ। तर बुद्धले जीवनलाई यति सानो घेरामा राखेर नबुझ्न सुझाउँछन्। यस जन्मअघि असंख्य जीवन थियो, यो जीवन तिनैमध्ये एउटा पछिल्लो क्रम हो र यो क्रमलाई तोड्न नसके अझ लामो समयसम्म जीवन जिउनुपर्ने मान्यतामा आधारित छ, बौद्ध धर्मदर्शन। जीवनका यी क्रमलाई नै बौद्ध धर्मदर्शनले दुःख भनेको हो। बौद्ध धर्मको मुख्य उद्देश्य भन्नु अनेकौं जीवनको यो असाध्य चक्रलाई तोड्नु अर्थात् दुःखको अन्त्य गर्नु हो।

यो जीवनबाहेक अर्को जीवन देख्न नसक्नु भनेको त्यो क्षमता व्यक्तिगत रूपमा आफूसँग नहुनु हो। आफूसँग जे जति छ, त्यति मात्रै हो र आफूले जति देख्न सक्यो, सत्य पनि त्यति मात्रै हो भन्ने मान्यता बोक्दै हिँड्ने भौतिकवादीहरू नाङ्गो आँखाले स्वर्ग र नर्क देख्न सक्दैनन् र छैन भन्छन्। बौद्ध मान्यताका कतिपय कुरामध्ये आफू अनुकुललाई मात्र ग्रहण गरेर अन्य आधारभूत कुरालाई नकार्छन् र आधुनिक विज्ञानको दुहाई दिएर ती कुराको खिल्ली उडाउँछन्। ध्यान दिनुपर्ने कुरा के हो भने, भौतिकवादीले आधुनिक वैज्ञानिकहरूको दुहाई दिन्छन् तर स्वयं वैज्ञानिक भने बौद्ध धर्मको अध्ययनमा तल्लीन छन् र प्राप्त नतिजा देखेर नतमस्तक हुन्छन्। बुद्धले आफ्नो कुरालाई यत्तिकै नपत्याउनु, सुनारले सुन जाँचेजस्तै जाँचेर ठीक लागेमा मात्रै ग्रहण गर्नु भनेजस्तै आधुनिक वैज्ञानिकहरू बौद्ध धर्मलाई विज्ञानको ल्याबोरेटरीमा राखेर आधुनिक उपकरणको सहायताले परीक्षण गर्दैछन्। आधुनिक विज्ञानभन्दा बौद्ध धर्मदर्शन निकै अगाडि रहेको निष्कर्ष परीक्षणमा आधारित हो।

कार्य–कारणको सिद्धान्त बुद्धको महत्वपूर्ण देन हो। यसअनुसार पहिला केही भएर पछि केही हुने हो। कारण विना केही हुँदैन। यसलाई प्रतीत्यसमुत्पाद दर्शन पनि भनिन्छ। पूर्वजन्म र पुनर्जन्म पनि यसैअनुरूप हुने हो। जसरी जीवन प्रवाह यस जीवन मात्रै हो भनेर बुझ्नु गलत हो, त्यसरी नै जीवनको क्रम मानव योनि मात्रै भनेर बुझ्नु पनि गलत हो। बौद्ध दर्शनमा षट्गतिको कुरा आउँछ। राम्रो काम गरेको आधारमा ती गतिहरू निर्धारण हुन्छन्। गतिहरू राम्रा पनि छन्, नराम्रा पनि। राम्रा गतिलाई स्वर्ग र नराम्रा गतिलाई नर्क भनेको बुझ्न कठिन छैन। नर्कमा जानुको अर्थ देख्न जानु मात्रै होइन, प्रेतलगायत योनिमा बाँच्नु हो। त्यसरी नै स्वर्गमा जानुको अर्थ स्वयं देवता हुनु हो। यी देवता अनेकौं वर्ग हुन्छन्। हजारौं संख्यामा इन्द्र र त्यस्तै असंख्य संख्यामा ब्रह्माहरू हुन्छन् भन्ने बौद्ध मान्यता छ।

यी देवताहरू सर्वोच्च होइनन्, सम्यक्सम्बुद्धको सेवामा आउँछन् भन्ने कुरा बुद्ध जीवनीका अनेक प्रसंगमा उल्लेख भएका छन्। लुम्बिनीमा शिशुको रूपमा मायादेवीको कोखबाट जन्मदा सहम्पति नामका ब्रह्मा र इन्द्रको उपस्थिति यही कुराका एउटा उदाहरण हो।

स्वर्ग होस् वा नर्क, बौद्ध मान्यताअनुसार ती पनि नित्य छैनन्। कर्मभोग गर्न स्वर्ग वा नर्कमा जाने हो। यो भोग कुनै पनि अवस्थामा गर्नैपर्छ, ठाउँ मात्रै फरक पर्ने हो। मान्छे भएर जन्मेपछि उसले राम्रा र नराम्रा अनेक कर्म गरेका हुन्छन् र त्यसको कर्मभोग गर्न कहिले ब्रह्मा भएर जन्मेका हुन्छन् भने कहिले उही प्राणी इन्द्र वा अन्य देवता। तर ती सधैँका लागि देवता हुँदैनन्। राम्रो काम गरेर कमाएको पुण्य हुन्जेल मात्रै देवता भएर बस्ने हो, त्यो क्षीण हुँदै जान्छ र अन्नतः च्युत हुनैपर्छ। च्युत भएपछि अर्कै गतिमा उत्पन्न हुन जाने हो र त्यहाँबाट पनि त्यसरी नै च्युत हुने हो। कर्म सिद्धान्तको यो नियम बुद्धद्वारा प्रकाश पारिएको हो, तर यो सिद्धान्तलाई स्वयं बुद्धले पनि बदल्न नसकिने रहेछ भन्ने कुराको दृष्टान्त स्वयं गौतम बुद्धले पनि कैयौं पूर्वजन्मअघिको कर्मफल भोग्नुपरेको घटनाबाट थाहा हुन्छ।

बौद्ध धर्ममा स्वर्गको लोभ देखाउने तथा नर्कको कुरा ल्याएर तर्साउने गरिँदैन। राम्रो गतिको रूपमा लिइने स्वर्गकै पनि कामना नगर्न भनिन्छ। अझ भनुँ, बौद्धहरूका लागि स्वर्ग र नर्क आफ्नो गन्तव्य होइनन्। सबै फसादको कारक तŒवको रूपमा रहेको तृष्णालाई क्षय गरेर चाँडो दुःखबाट मुक्त हुनु यो धर्मको मुख्य उद्देश्य हो। यसरी तृष्णालाई क्षय गरेर प्राप्त गर्ने ज्ञानलाई श्रावक बोधि, प्रत्येक बोधि र सम्येक्सम्बोधि भनी तीनवटा वर्गमा बाँडिएको पाइन्छ। बौद्ध धर्मदर्शनको अध्ययन तथा साधना गरी प्राप्त गरिने ज्ञानलाई श्रावक बोधि भनिन्छ भने पूर्वजन्मको कुनै पुण्यले प्राप्त गर्ने प्रत्येक बोधि हो। आफू मात्र दुःखबाट मुुक्त हुनुभन्दा अरु प्राणीलाई पनि मुक्त गर्नुपर्छ भनेर करुणाले ओतप्रोत भई श्रावक बोधि प्राप्त गर्न सक्ने अवस्थालाई स्वेच्छा स्थगन गरेर बोधिचर्या गर्नेलाई बोधिसत्व भनिन्छ। बोधिसत्वहरू अरुको भलाइका लागि बारम्बार जन्मिरहेका हुन्छन् र अन्नतः स्वयं सम्यक्सम्बुद्ध हुन्छन्। गौतम बुद्ध पनि बोधिसत्व भई अन्ततः सम्यक्सम्बुद्ध बन्न आएका हुन्। यसर्थ बौद्ध मान्यतामा स्वर्ग र नर्क कुनै गन्तव्य नै होइनन्।

पुराणमा उल्लिखित बलिराजलाई वामन अवतार विष्णुले नर्कमा पठाएको सन्दर्भमा विवाद गर्न सक्ने कुरा थुप्रै छन्। यसलाई एउटा आख्यानका रूपमा मात्रै लिने हो भने पनि बौद्धहरूले यस आख्यानलाई राम्रैसँग उपयोग गरेको पाइन्छ। नर्कमा राखिएको भए पनि बलिराज एक प्राणी हुन् नै। एक बोधिसत्व नर्कमा गएर बलिराजलाई धर्म उपदेश दिई धर्मलाभ गराई उद्धार गरेको बौद्ध आख्यान पाइन्छ। यसरी नै नर्कमा रहेका रामायणका अर्का चरित्र रावणलाई दिइएको धर्म उपदेश नै ‘लंकावतारसूत्र’ हो र महायान बौद्ध धर्ममा यो ग्रन्थमध्ये एक महत्वपूर्ण ग्रन्थ मानिन्छ।

गौतम बुद्धका प्रमुख भिक्षुहरूमा एक मौद्गल्यायन पनि हुन्। ऋद्धिशक्तिमा निपुण उनलाई स्वर्ग र नर्कको भ्रमण गर्न पठाइएको र फर्केर आएपछि आफूले जे देख्यौ त्यसलाई सबैले देख्ने र बुझ्ने गरी चित्रकारिता गर्न बुद्धले भनेपछि विहारको भित्तामा सिर्जना गरेको चित्रकला नै भवचक्रको चित्र हो भनिन्छ, जसले प्रतीत्यसमुत्पाद दर्शनलाई जनाउँछ।
अध्यात्मवादीहरूले भन्ने स्वर्ग र नर्कलाई भौतिकवादीहरूले भिन्नै पाराले परिभाषा गरेको पनि पाइन्छ। उनीहरूका अनुसार स्वर्ग र नर्क अन्यत्र होइन, यहीँ देख्न पाइन्छ। राम्रो काम गरे राम्रो र नराम्रो काम गरे नराम्रो स्थिति वा उक्त स्थितिबोध नै स्वर्ग र नर्क हो भन्ने परिभाषाले भने बौद्धधर्मदर्शनसँग तादात्म्य राख्छ। बौद्धदर्शनले स्वर्ग वा नर्कको निर्धारण कुनै दोस्रो व्यक्ति वा पात्रको इच्छा वा श्रापमा आधारित हुँदैन, आफ्नै कर्ममा आधारित हुने बताउँछ। यसअनुसार भौतिकवादीको भाष्यलाई स्वर्ग र नर्कको प्रतिरूप भन्न सकिन्छ।

प्रकाशित: २१ मंसिर २०७६ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App