७ वैशाख २०८१ शुक्रबार
समाज

किर्ते गरी करोडौंको औषधि बिक्री

धनगढी – हजारौं भारतीय बिरामीसमेत उपचार गर्न आउने गेटा आँखा अस्पताल सुदुरपश्चिमको एक धरोहर स्वास्थ्य संस्था हो। आँखाको सस्तो र गुणस्तरीय उपचार हुने सो अस्पतालले बर्सेनी करिब ३ करोड रुपैयाँको औषधि खरिद गर्छ। तर, अस्पतालमा कृते कर चुक्ता प्रमाणपत्र पेस गरी अमित मेडिसिन डिस्ट्रिब्युटर्स, धनगढीले ३ करोड ५० लाख रुपैयाँको औषधि बिक्री गरेको खुलेको छ। आन्तरिक राजस्व कार्यालय धनगढीले छानबिन गर्दा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गरी दुई वर्ष नै नक्कली करचुक्ता प्रमाणपत्र पेस गरेको पुष्टि भएको हो।

आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले सो डिस्ट्रिब्युटर्सले गेटा आँखा अस्पतालमा औषधि बिक्री गर्न पेस गरेको दुई आवको करचुक्ता प्रमाणपत्र नक्कली फेला परेको बताए। ‘कतैबाट सुन्न आएपछि हामीले छानबिन ग-यौं, छानबिन गर्दा उसले पेस गरेको करचुक्ता प्रमाणपत्र हाम्रो कार्यालयबाट जारी नभएको र नक्कली भएको थाहा भयो,’ उनले भने। नक्कली भएपछि अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको उनले जानकारी दिए। आव २०७५/७६ मा दरभाउ पत्रको आह्वानका आधारमा उनीबाट २ करोड ८९ लाख ४२ हजार रुपैयाँको र आव २०७६/७७ मा ६१ लाख ५६ हजार रुपैयाँको औषधि खरिद गरेको अस्पतालका प्रशासकीय अधिकृत गोविन्दराज जोशीले बताएका छन्। ‘करचुक्ता प्रमाणपत्र नक्कली भनेर आफूहरूलाई जानकारी नभएकाले औषधि किनेका हाैं,’ उनले भने, ‘यसमा अस्पतालका कर्मचारीको कुनै संलग्नता छैन।’

कर्मचारीको कुनै दोष र संलग्नता नभएको जिकिर गरे पनि एउटै व्यक्तिबाट दरभाउ पत्र (कोटेसन) का आधारमा ३ करोड रुपैयाँको औषधि बर्सेनी खरिद गर्न पनि उपयुक्त नहुने जानकार बताउँछन्। खरिद ऐनअनुसार यो गैरकानुनी मानिन्छ। तर सो अस्पताल नेत्र ज्योति संघबाट आफ्नै विधानअनुसार सञ्चालित भएकाले कानुनी रूपमा मापदण्ड मिलाइएको भए पनि खरिदबिक्रीमा मिलेमतो बढाउने देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका एक अधिकृतले बताए।

जिल्ला प्रहरी कार्यालयमा उजुरी परेसँगै जिल्ला अदालतले गत सोमबार अमित मेडिसिनका सञ्चालकलाई पक्राउ गर्न अनुमति दिएको छ। अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल फरार रहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए।

वर्षौंदेखि सुदूरपश्चिमका सेती अञ्चल अस्पताल, विभिन्न जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा एकलौटी जस्तै दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल सञ्चालक रहेका अमित मेडिसिन, ड्रग सेन्टर धनगढी र डिबी मेडिसिनले टेन्डर लिएर औषधि र उपकरण बिक्री गर्ने गरेका छन्।

अमित मेडिसिनले गेटा आँखा अस्पताल मात्र नभई सुदूरपश्चिमका प्रायः सबै स्वास्थ्य संस्थामा औषधि आपूर्ति गर्न टेन्डर लिने भएकाले अन्यमा पनि किर्ते करचुक्ता प्रमाणपत्र तथा कागजपत्र पेस गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरेको छ। राजस्व कार्यालय धनगढीका प्रमुख श्रेष्ठले अन्य संस्थामा बहाले औषधि बिक्री गरेको जानकारी भएमा किर्ते करचुक्ता भएकोबारे छानबिन गरिने बताएका छन्।

कानुन व्यवसायी गम्भीर ऐरका अनुसार सरकारी कागजपत्र र छाप किर्ते गरेकोमा ७ वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ भने उनले नक्कली करचुक्ता प्रमाणपत्र पेस गरेर बिक्री गरेको रकमबराबर जरिवाना तिर्नुपर्ने छ।

सुदूरका सबै स्वास्थ्य संस्थामा एकाधिकार
वर्षौंदेखि सुदूरपश्चिमका सेती अञ्चल अस्पताल, विभिन्न जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा एकलौटी जस्तै दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल सञ्चालक रहेका अमित मेडिसिन, ड्रग सेन्टर धनगढी र डिबी मेडिसिनले टेन्डर लिएर औषधि र उपकरण बिक्री गर्ने गरेका छन्। साम, दाम, दण्ड, भेद सबै उपाय अपनाएर टेन्डर हत्याई कर्मचारीको मिलेमतोमा गुणस्तरहीन औषधि, सम्झौताभन्दा कम परिमाणमा औषधि दिने गरेको भनेर विवादित हुँदै आएका छन्। ‘कर्मचारीको मिलेमतोमै सेती अञ्चल अस्पताल, जिल्ला अस्पताललगायत सबैतिर औषधि र उपकरण खरिदबिक्रीमा ब्रह्म लुट भएको छ,’ एक औषधि व्यवसायीले भने, ‘हाम्रो देशमा सक्नेले जे गर्दा पनि हुँदोरहेछ, केही पनि हुँदैन,’ सरकारी छाप दस्तखत किर्ते मुद्दामा जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति दिँदा पनि सञ्चालकलाई पक्राउ नपरी फरार हुन दिएको भनेर स्थानीयले विरोध गरेका छन्।

गत आवमा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गर्न टेन्डर आह्वान ग¥यो। यो टेन्डर डिबी मेडिसिनले आर्थिक चलखेल गरेर हत्याउन खोजेको भन्दै आपूर्तिकर्ता विज्ञान अर्यालले सर्वोच्च अदालतमा उजुरी हाले। अक्सिजन प्लान्ट खरिदको प्रक्रिया रोकिएर गत आवको झन्डै २ करोड बजेट फ्रिज गयो। अहिलेसम्म अक्सिजन प्लान्ट सञ्चालनमा आएको छैन। साउन २ गते सर्वोच्चले उजुरीकर्ताले माग गरेअनुसार अन्तरिम आदेश नदिएपछि फेरि सोही टेन्डर प्रक्रियालाई अगाडि बढाएर पुनः डिबी मेडिसिनलाई खरिदको जिम्मा दिइयो। अहिले पनि प्रक्रियाविपरीत ठेक्का सम्झौता गरेको भन्दै विरोध भइरहेको छ।

पछिल्लो केही समययता स्वास्थ्य निर्देशनालय र विभिन्न अस्पतालले औषधि र उपकरण खरिदका लागि खोलेका अधिकांश टेन्डर विवादमा तानिँदै आएका छन्। ‘औषधि र उपकरणका विभिन्न टेन्डरमा फरकफरक प्रावधान राखी खरिद प्रक्रिया अगाडि बढाएर अनियमितता गर्ने गरिएको छ,’ तिवारी मेडिसिनका सञ्चालक दीपेन्द्र तिवारीले भने, ‘आफूले इच्छाएको व्यक्तिलाई टेन्डर दिने गरी विभिन्न बुँदा राखेर टेन्डर आह्वान गर्ने गरिन्छ।’

प्रदेशमा अधिकांश औषधि र उपकरण खरिदको टेन्डर तीनवटा आपूर्तिकर्ताले पाउँदै आएका छन्। डिबी मेडिसिन, अमित मेडिसिन र ड्रग सेन्टरले वर्षांैदेखि टेन्डर पाउँदै आएका हुन्। मन्त्रालय, निर्देशनालय र अस्पतालका स्टोर तथा लेखाका कर्मचारीले आपूर्तिकर्तासँग मिलोमतो गर्दै आर्थिक चलखेलका आधारमा टेन्डर स्वीकृत गर्ने र औषधि खरिदमा पनि विभिन्न चलखेल भई गुणस्तरहीन र परिमाणसमेत कम उपलब्ध गराएर बिलमा मिलाउने औषधि व्यवसायी नै बताउँछन्।

प्याकेजमा भन्दा वस्तुअनुसार टेन्डर आह्वान गरेमा सरकारी रकम बचत हुने आपूर्तिकर्ता बताउँछन्। वस्तुअनुसार खरिद गर्ने गरी टेन्डर आह्वान गर्न लिखित रूपमै आग्रह गरे पनि मन्त्रालय, स्वास्थ्य निर्देशनालय र अस्पतालबाट सुनुवाइ नभएको आपूर्तिकर्ताको गुनासो छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले आर्थिक चलखेलमा औषधि खरिद हुने गरेको आरोप गलत भएको बताएका छन्।

प्रकाशित: २१ मंसिर २०७६ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App