६ वैशाख २०८१ बिहीबार
अन्य

साकेला सौन्दर्य

चन्द्रकुमार राई ‘हतुवाली’
किरात राई जातिमा मौसम अनुसार प्र्रकृति र पितृको पूजा गरिन्छ र यसलाई एक अवसरका रूपमा लिइन्छ। साकेला किरात राईको महान् चाड अर्थात् अवसर हो। एक वर्षमा साकेला दुईपटक पर्छ। मंसिरमा मनाइने उधौली साकेला हो भने, वैशाखमा मनाइने उभौली साकेला।

उधौली साकेला
उधौली साकेलाले जाडो याम सुरु भएको संकेत गर्छ। यो याममा जमिनको उच्च भागबाट तल्लो भागतिर बिस्तारै चिसो फैलन्छ, चराचुरुंगी जाडो छल्न गर्मी ठाउँतिर जाने गर्छन्। त्यस्तै, लेकतिरका नदीखोलाका माछा जाडो छल्न उँधो वा मधेसतिर झर्ने, रूख–बिरुवाका पात खस्ने भएकाले साकेलाको मंसिरे अवसरलाई उधौली साकेला भनिएको हो। यो सेवालाई दोङदावा सेवा, माक्लाबाक सेवा र छिरिनाम सेवा पनि भनिन्छ। जसको शाब्दिक अर्थ हुन्छ– वर्षको अन्त्य हुन लाग्यो, भोर्लाको पात छिप्पियो र उधौली सेवा। भोर्लाको पात छिप्पिनु वर्षको अन्त्य हुन लागेको संकेत हो। यो मंसिरमा किरात राई गाउँ साकेलामय हुँदै छन्।

उभौली साकेला
वैशाखमा मनाइने साकेलालाई उभौली सेवा, दोङवाङा सेवा, छोङबालाक सेवा तथा धिरिनाम भनिन्छ, जसको शाब्दिक अर्थ हुन्छ– नयाँ वर्ष सुरु भयो, भोर्लाको नयाँ पात पलायो र वर्षा लाग्यो। भोर्लाको फक्रन लागेको पात, नयाँ वर्ष सुरु हुन लागेको संकेत हो। वैशाखमा भूगोलको तल्लो भागबाट गर्मी बढ्दै उँभो लेकतिर लाग्छ। यो समय जाडो छल्न गएका चराचुरुंगी फर्केर आउँछन्, माछा लेक चढ्छन्, अथवा उँभो लाग्छन्। यसर्थ, यसलाई उभौली साकेला नाम दिइएको हो। उभौली र उधौली दुवै शब्दले मौसम वा ऋतु जनाउँछन्। अर्थात् किरात राई जातिमा दुई प्रकारका मात्रै ऋतु हुन्छन्।

किराती पुर्खा हेन्कुमबुङले सिकारका क्रममा ढुकुर मारे। त्यसलाई घरमा ल्याएर मासुका रूपमा तयार गर्दा गाँडबाट गेडागुडी (कोदो, कागुनी, मकै लगायत) निस्कियो, जसलाई घरछेउ कतै फालिदिए। जुन गर्मीको समय लागेपछि उम्रियो र हुर्कंदै गएर फल दियो। चराले खाएको चीज मान्छेले खान हुन्छ भनेर उनले ती अन्न खान थाले।

साकेलाकोे नाम
साकेला संस्कृतिविना किरात राईको पहिचान स्थापित हुन सक्दैन। उनीहरूको जीवनमा साकेला संस्कृतिको विशेष प्रभाव र महत्व छ। विभिन्न राई भाषीमाझ साकेलाका विभिन्न नाम छन्। भाषागत विविधताका आधारमा राईभित्रका खालिङले वास वा तोष, चाम्लिङले साकेला, कुलुङले तोस्, दुमीले साकेल र साखेल, कोयुले साकेल भन्ने गरेको पाइन्छ। त्यस्तै, भूगोलका आधारमा भोजपुर जिल्लाको दक्षिणी भेक हतुवा र आमचोक तथा खोटाङ जिल्लाको पूर्वी तथा दक्षिण भेकतिर साकेन्वा भनिन्छ। भोजपुर जिल्लाको उत्तरी भेकतिर भने साक्खेवा÷साकेवा भनिन्छ। नाममा विविधता भए पनि साकेलाको मूल मर्म, दर्शन र मूल्य–मान्यता एउटै हो। त्यसैले किरात राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाले नाममा एक रूपता ल्याउन ‘साकेला’ भन्न थालेकाले यही स्थापित हुने क्रममा छ।

साकेलाको उत्पत्ति स्थान
साकेलाको सर्वप्रथम उत्पत्ति र स्थापना भोजपुरको छोङखा र तुवाचुङमा भएको विश्वास गरिन्छ। राईका प्रारम्भिक बस्तीको रूपमा पनि यिनै ठाउँलाई लिइन्छ। त्यसैले राईहरू र साकेला पनि यी ठाउँबाटै बिस्तारै भोजपुर, खोटाङ, सोलु र ओखलढुंगाका अन्यतिर विस्तार हुँदै गएको भनिन्छ। यीबाहेक अन्य ठाउँका साकेला भने किरात राईहरूको बसाइँसराइका क्रममा विस्तार हुँदै गएको पाइन्छ।

साकेलाको अर्थ
साकेलालाई बुझ्न विद्वानहरूले शाब्दिक अर्थ तथा परिभाषा दिएका छन्। स्वामी प्रपन्नचार्यका अनुसार, साल या वर्षमा एकफेर सबै बुढाबुढी, अधबैंसे, तरुना–तन्नेरी र बिजुवा (धामी) सबैले मुन्धुम गाउँदै कोम्बि अर्थात् सानो खुर्पाले अदुवा अथवा नपाएको खण्डमा कचुरको चाना हान्दै/काट्दै, नाच्दै खुसी मनाउने परम्परा नै सहकाल शब्दको भावार्थ हो। यही सहकाल शब्द अपभ्रंश भई साकेला बन्न पुगेको बुझिन्छ।

यो पंक्तिकारको खोज–अनुसन्धानले पनि साकेन्वाको ‘सा’ को अर्थ साप्तेन अर्थात् प्राणीजगत्, दुनियाँ, संसार र केन्वाको अर्थ पालक भन्ने निष्कर्ष निकालेको छ। किरात राईहरूले आकाशलाई पारुहाङ (सृष्टिपिता) र धर्तीलाई सुम्निमा (सृष्टिमाता) र वर्षालाई जीवन उत्पत्ति हुने तत्व मानेको पाइन्छ। प्राप्त शाब्दिक अर्थ केलाउँदा साकेला भनेको प्राणीको हरतरहले पालना गर्ने निनाम्मा वा पारुहाङ (आकाशदेव, सूर्य, सृष्टिपिता), हेन्खामा वा सुम्निमा (पृथ्वी वा सृष्टिमाता) र पानीको पूजा नै साकेला हो। यसको अवसर पारी दाजुभाइ, छरछिमेकी, नातागोता र दिदीबहिनी, आमाबुबा भेटघाट गर्छन्, मीठोमसिनो खान्छन् र धुमधामसँग साकेलानाच नाच्छन्। यो अवसरमा जुन गाउँको साकेला मनाउन लागेको हो, त्यो गाउँका मानिसलाई काम गर्न निषेध हुन्छ, यसले साकेला चाड मनाउने समय मिल्छ।

पछिल्लो समय अवसर र सुविधाको खोजीमा जहाँजहाँ राईहरू पुगे, त्यहाँ–त्यहाँ साकेला पनि पुगेको अवस्था छ। साकेला अहिले पूर्वी नेपालमा मात्र होइन, बिस्तारै काठमाडौं पोखरा, भारतको सिक्किम, दार्जिलिङ, झारखण्ड हुँदै अरबको दुबई, कतार, हङकङ, बेलायत र अमेरिकासम्म पुगेको छ। त्यसैले त्यहाँ बस्ने किरात राई समाजमा पनि नेपालमा जस्तै साकेलाको माहोल सुरु भइसकेको छ।

साकेला मनाउने समय
साकेला मनाउने समय ठाउँअनुसार फरक छ। भोजपुरको दक्षिणी क्षेत्र हतुवा र आम्चोकतिर र खोटाङको पूर्वी दक्षिणतिर वैशाखे र मंसिरे पूर्णिमालाई छेक पार्नुपर्दैन। उभौली साकेला सेवा चैते दशैं पूर्णिमाको आउने सोमबारबाट सुरु भएर वैशाखदेखि जेठसम्म फरक गाउँमा फरक समयमा मनाइन्छ। उधौली सेवा बडा दशैं पूर्णिमाको आउने सोमबारबाट सुरु हुन्छ। साकेला मनाउने दिन सोमबार नै हुनुपर्छ।

त्यसैले यी ठाउँमा यो वर्षको साकेला उधौली सेवा अन्त्य हुने अवस्था छ। तर, यी ठाउँबाहेक अन्य ठाउँतिर भने उभौली सेवाका लागि वैशाख पूर्णिमा र उधौली सेवाका लागि मंसिर पूर्णिमालाई नै आधार मान्ने परम्परा छ। पूर्णिमाको दिन सुरु भएर ठाउँ वा गाउँअनुसार फरक दिन पारेर १५ दिनसम्म साकेला नाच्ने चलन छ। यी ठाउँमा मंसिर पूर्णिमाको पर्खाइमा साकेला मान्ने तयारीमा छन्। साकेला विस्तारित ठाउँहरूमा पनि वैशाख पूर्णिमा र मंसिर पूर्णिमालाई नै आधार मानेको पाइन्छ। त्यसैले काठमाडौंलगायत भारत, हङकङ, अरब, बेलायत र अमेरिकामा बस्ने किरात राईहरू अहिले मंसिरे सेवा अर्थात् उभौली मनाउने तयारीमा छन्।

साकेला उत्पत्ति मिथक
किरात राई जातिका हरेक संस्कृतिको उत्पत्ति कथा अर्थात् मिथक छन्। ती मिथकले संस्कृतिको उत्पत्ति र प्रचलनको कारण बताउँछन्। राईभित्रका विविध भाषी र भूगोलका आधारमा साकेलाबारे विभिन्न मिथक छन्। साकेलाका मिथक फरक रहे पनि यसको विश्व दृष्टिकोण, दर्शन, मूल्य–मान्यता र मर्म एउटै पाइन्छ।

एक मिथक भन्छ–
पारुहाङ र सुम्निमाका सन्तानमध्ये जेठा छोरा बाघ र माहिला छोरा भालु (जनावर) भएकाले हुर्केपछि जंगलतिर पठाइए। कान्छा छोरा मानव हेन्कुमबुङलाई भने मानव समाजको निर्माण गरी रीतिथिति बनाई सञ्चालनका लागि शिलाढुंगा चिनो राखेर जिम्मेवारी दिएका थिए। यही शिलाढुंगा नै साकेलाको शिला हो। यसै समयबाट साकेलाकोे प्रारम्भ भएको हो।

अर्को मिथक भन्छ–

किराती पुर्खा हेत्छाकुप्पाको विवाहका अवसरमा पहिले छुट्टिएका दिदीहरू आइपुग्छन्। यही खुसीमा ढोल, झ्याम्टा बजाउँदै दिदीहरूसँगै माइती, समाज मिलेर साकेला स्थापना गरी विधि–विधान गरेर साकेला नाचेका थिए। त्यसपछि किरात राईहरूले नियमित रूपमा साकेला पूजा गर्दै नाच्न थालेका हुन्।

अर्को मिथक भन्छ–
किराती पुर्खा हेन्कुमबुङले सिकारका क्रममा ढुकुर मारे। त्यसलाई घरमा ल्याएर मासुका रूपमा तयार गर्दा गाँडबाट गेडागुडी (कोदो, कागुनी, मकै लगायत) निस्कियो, जसलाई घरछेउ कतै फालिदिए। जुन गर्मीको समय लागेपछि उम्रियो र हुर्कंदै गएर फल दियो। चराले खाएको चीज मान्छेले खान हुन्छ भनेर उनले ती अन्न खान थाले। तर, त्यसले उनलाई राम्रो गरेन। उनले सपना देखे– त्यो फल साकेला तथा पितृलाई चढाएर मात्र खान मिल्छ। त्यसपछि उनले साकेला र पितृलाई चढाएर खाँदा राम्रो भयो, त्यसपछि साकेला पुज्न थालिएको हो। यही समयबाट किरात राईले कृषि जीवनमा प्रवेश गर्दै प्रकृति र पितृ पुज्न थालेको संकेत पाइन्छ। पुरातात्विक अध्ययनअनुसार मानिसले अन्न चिन्न र खेती गर्न थालेको ई.पू. ९००० वर्ष अगाडिदेखि हो। यही समयमा इजिप्टमा गहुँ र जौको अवशेष फेला पारेको पाइन्छ। त्यही समयमा किरात पुर्खा हेन्कुमबुङले खेती गर्न र साकेलाको प्रारम्भ गरेको अनुमान गर्न सकिन्छ।

लेखक निर्दोष बालाखाम्छाले उल्लेख गरेको मिथकअनुसार, सोमवंशीले उपत्यकाबाट धपाएका किराती राजाका सन्तान दोलखामा बस्थे। आफ्नो गुमेको भाग फर्काउन उनले पारुहाङ, सुम्निमा साथै हेन्कुमबुङको पूजाबाट शक्ति आर्जन गर्न चाहन्थे। तर, पूजाका क्रममा बहिनी सोइसोइलाको मासिक धर्म हुन पुग्यो र पूजा रोकियो। यस घटनाले किरात राजाको योजना पूरा हुन सकेन। त्यसपछि भने हेन्कुमबुङलाई सायाताली, ढोलझ्याम्टा र सोलोन्वा राखी पुजिन थालियो र साकेला भन्न थालियो। उल्लिखित मिथकहरूमा साकेला उत्पत्तिबारे भिन्न अभिमत देखिन्छन्।

साकेला थानको वास्तु अवस्था
यो चाड मनाउने क्रममा सर्वप्रथम साकेलाको पूजा गरिन्छ। पूजा गरिने साकेलाको निश्चित ठाउँ र वास्तु अवस्था रहेको हुन्छ। साकेलाको प्रतीकको रूपमा कतै सामान्य खालको ढुंगा त कतै अण्डा आकारको शिला स्थापित गरिएको हुन्छ। साकेला शिला पुजारी नाक्छोङले पत्ता लगाएको हुन्छ। शिला पत्ता लागेपछि सम्पूर्ण गाउँले मिलेर सुरक्षाका लागि ढंगैढुंगाको गोलो वा चौघेरा लगाएर राख्छन्। प्रायः साकेला थानहरू पानीको मुहानसँगै रूख–बिरुवाले ढाकेको हुन्छ। साकेला थानमा पूजाका अवसरमा बाहेक अरु बेला प्रवेश गर्न मिल्दैन भने बाख्राले समेत छुन मिल्दैन। साकेलामा अन्य जातिले भाकल गर्न मिले पनि थानभित्र प्रवेश निषेध हुन्छ। त्यस्तै, साकेला थानभित्रका रूख–बिरुवा काट्न मिल्दैन।

साकेलाको सृष्टि र पितृ सम्बन्ध
संसारका अन्य धर्मशास्त्र वा दर्शनले पनि पदार्थको रहस्य खोज्दै अग्नि वा जललाई पुजेको पाइन्छ। त्यस्तै, किरात राई जातिको साकेलामा पनि प्रकृतिका अवयव आकाश अर्थात् घामपानी र धर्तीको पूजा गरिन्छ। उनीहरूको विश्वासमा आकाश, धर्ती र वर्षा जीवन उत्पत्ति गर्नेे तत्व हुन्। त्यसरी नै पारुहाङ र सुम्निमालाई सृष्टिकर्ता मानेको पाइन्छ। पारुहाङको प्रतीक आकाश, सुम्निमाको प्रतीक धर्ती र पारुहाङको वीर्यकोे प्रतीकका रूपमा वर्षा भएको विश्वास छ।

मानव, जीवजन्तु र वनस्पति पारुहाङ र सुम्निमाको सन्तान भएको मुन्दुमी सृष्टि मिथकमा पाइन्छ। सृष्टिकार्य यौन सौन्दर्यतासँग सम्बन्धित हुन्छ। यस सन्दर्भमा आकाशको वीर्यको रूपमा वर्षा भई धर्तीले धारण गरेर सृष्टि हुन सकेको र जीवन–जगत् नियमित चलेको विश्वास छ। यसर्थ, साकेलामा आकाश, धर्ती र जल साथै जीवजन्तु र वनस्पतिको पूजा गरिएको हो। साकेलामा महत्वका साथ पूजा गरिनेमा पितृ पनि हुन्। सृष्टिमा आकाश र धर्तीको महत्व भएजस्तै सृष्टि निरन्तरतामा पितृ/पुर्खाको पनि उत्तिकै भूमिका हुन्छ। यिनीहरूले जन्म दिने, हुर्काउने र कुनै पनि रूपमा संरक्षण गर्ने भूमिका निर्वाह गरेकाले सृष्टिले निरन्तरता पाउन सकेको सन्दर्भमा पनि साकेन्वा पूजाले महत्व राख्छ।

साकेला र कृषि
साकेला, किरात राईहरूले कृषि प्रारम्भ गरेर निश्चित ठाउँमा बस्न थाल्नुका साथै सिकारी जीवनबाट कृषि जीवनमा प्रवेश गरेको जानकारी पनि हो। यो उनीहरूको कृषिसँगै पारिवारिक जीवनको पनि सुरुआत हो। यही समयबाट राई समाज र संस्कृतिको क्रमबद्ध विकास र बिस्तार हुँदै गएको कुरा साकेलाको पूजा सन्दर्भ मिथकले पुष्टि गर्छन्।

किरात राज्य र साकेला
किरातकालीन राज्य व्यवस्थाको स्रोतका रूपमा साकेला रहेको पाइन्छ। मिथकमा एक समय काठमाडौं उपत्यका किरातको अधीन रहेको, पछि आक्रमणमा परेर गुमाउनुपरेको, गुमेको उपत्यका फिर्ता ल्याउन पटकपटक प्रयास गरेको पाइन्छ। यस्तो प्रयास गर्ने राजा बुढाहाङ थिए। उनले साकेलाको पूजा गरेर शक्ति आर्जन गरी आक्रमण गर्न चाहन्थे। तर, सफल हुन सकेनन्। काठमाडौं फिर्ता लिने योजना अधुरै रह्यो। साकेला मिथकले काठमाडौंमा किरातहरूले शासन गरेको, शासन राजतन्त्रात्मक रहेको, शक्तिमा विश्वास राख्ने र कुनै नयाँ काम गर्नुपरे आस्थागत पूजा गर्ने परम्परा भएको संकेत गरेको छ। अहिले पनि बान्तवा राईहरूमा वर्षमा एकपटक बुढाहाङ पूजा गर्ने चलन छ। बुढाहाङलाई ढिसाम्खा, बुङ्वा बक्मा वा फूलको पूजा र वढाङ्मी नामले पनि पुज्ने गरेको पाइन्छ।

सामाजिक संरचना र साकेला
साकेला पूजा समाप्त गर्न सामाजिक सोपानहरू हुन्छन्। पूजाका समयमा मुख्य पुजारी नाक्छोङ÷नछुङ, नाक्छोङको सहयोगी केन्छरवा÷केन्छारी, नाइकुमसङ र समाजको प्रतिनिधि सालुम्सङहरू साथै सम्पूर्ण गाउँलेहरू रहने गर्छन्। नाक्छोङले पूजा गर्ने, केन्छरवाले नाक्छोङलाई पूजास्थल तयार गर्न र पूजा सामग्री जुटाउन मद्दत गर्ने, नाइकुमसङले नाक्छोङलाई डो¥याउने, सालुम्सङहरूले नाक्छोङले कुनै गल्ती–कमजोरी नगरोस् भनेर चनाखो भई हेर्ने र मुन्दुम भन्न सहयोग गर्छन् भने समाजले साकेन्वा समापन गर्न प्रयोग हुने ढोल, भाला, तरवार, खुँडा र धनु नाक्छोङ घरबाट साकेला थानसम्म पु-याउने र ल्याउने गर्छन्। यसले किरात राई समाज सामूहिकतामा विश्वास राख्ने प्रस्ट पार्छ।

साकेला नाच ‘लाक’ र ‘सिलि’
साकेला पूजाको समयमा विशाल नाच हुन्छ, जसलाई लाक भनिन्छ। यो नाचमा उमेर, लिंग, पदीय हैसियत र आर्थिक अवस्थाको छेकबार हुँदैन। तथापि राई जातिले बाहेक अन्य जातिलाई भने नाच्न निषेध हुन्छ। यो नाच किराती राई समाजको अभिन्न कला हो। साकेला नाच सिलिमा आधारित हुन्छ। सिलिले साकेला नाचको शब्द, संगीत, गायन र नृत्य (चाल र ताल) विधाको सामूहिक प्रस्तुति बुझाउँछ। हतुवा र आम्चोक लगायत खोटाङ दक्षिणपूर्वका क्षेत्रमा २० प्रकारका साकेला सिलि पाइन्छन्। अन्य ठाउँतिर लगभग दुई सयभन्दा बढी प्रकारका सिलि नाचिने गरिए पनि हाल लोप हुँदै गएको पाइन्छ।

सिलिमार्फत मानवीय जीवनपद्धति, मानव र प्रकृतिको साथै मानव र आत्मासँगका विश्वास र सम्बन्ध प्रस्तुत गरिएको हुन्छ। जस्तोः चासुम सिलिमा अन्नको बीउ छर्ने, बीउ सार्नेदेखि पाकेपछि थन्क्याउने क्रियाकलापसँग सम्बन्धित छ। त्यस्तै, वापा (भाले) सिलि र किवा (बाघ) सिलिमा जीवजन्तुका क्रियाकलाप अभिनय गरिन्छ। जस्तोः वापा सिलिमा भाले बासेको देखाइन्छ भने किवा सिलिमा बाघले कराउँदै माटो कोतरेको देखाइन्छ।

मृतात्मालाई पनि सिलिमार्फत सम्झिने गरिन्छ। किरात राई जीवनमा मृतात्माको पनि महत्वपूर्ण भूमिका हुन्छ। कुनै घाउचोट नलागी भएको मृत्युलाई सहज मृत्यु र घाउचोट लागी वा महिलाको हकमा महिनावारी बन्द नहुँदै मृत्यु भए असहज मृत्यु मानिन्छ। यस्ता मृतात्मा दुई प्रकारका हुने मानिन्छ। सहज मृत्यु भएकाको आत्मा माङ (देवता) र असहज मृत्यु भएकाको आत्मा सियाँ (भूतप्रेत) हुने विश्वास गरिन्छ। साकेला सिलि पूजासँगै प्रारम्भ हुन्छ। सिलिको प्रारम्भ तथा समापन माङ सिलिबाट हुन्छ। शक्ति प्राप्त गर्न र शक्ति दिएकामा धन्यवाद दिन माङसिलि नाचिन्छ। सिलि नाच्ने क्रममा घरीघरी पछाडि फर्कंदै नाच्नुलाई देङस्वा सिलि वा सियाँ आत्माहरूलाई चित्त बुझाउन र भगाउनका लागि सिलि नाचिन्छ।

सिलि शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम र सामाजिक सम्बन्धको मेसो पनि हो। सिलि गीतको शब्द साहित्य रचना, नाचबाट व्यायाम, बाजागाजाबाट धुन तथा स्वरबाट माधुर्यता सिर्जना हुने हुँदा मानिसलाई आनन्द प्राप्त हुन्छ। साकेला नाच सामूहिक रूपमा नाचिने हुँदा सामाजिक सद्भाव सिर्जना हुन्छ। सबै राईले साकेलाको पूजा गरी मीठो खाने, नाच्ने र गाउने भएकाले यसलाई किरातीको महान् चाड भनिएको हो।

साकेला र समाज सम्बन्ध
साकेला, अविवाहितका लागि वैवाहिक जोडी छान्ने अवसर पनि हो। छिमेकी गाउँका केटाकेटीहरू तथा टाढा–टाढाका नाता आफन्त भेटघाट गर्न आउने क्रममा नाचमा सहभागी हुन्छन्। यही समयमा आफू सुहाउने अविवाहित केटाकेटीहरू जोडी छनोट गर्छन्। यसले जोडी छान्ने स्वतन्त्रतालाई पनि संकेत गर्छ। यसरी नै साकेलाको अवसर पारेर आफन्त तथा दाजुभाइ दिदीबहिनीबीच धेरै समयपछि भेटघाट हुने हुँदा कुनै नयाँ योजना बनाउने, दुःख–समस्या साटासाट गर्दै समाधान गर्ने, सम्धिसम्धिनी पहिलोपटक भेटघाट गर्ने र मीत लगाउने गरिन्छ। यसर्थ, सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने सेतुका रूपमा पनि साकेलाको महत्व पाइन्छ।

निष्कर्ष
साकेला किरात राई जातिको जीवन विकास र जीवन पद्धतिको ऐना हो। यसका माध्यमबाट किरात राई जातिको जीवन विकास, सामाजिक तथा सांस्कृतिक पद्धति र उनीहरूको प्रकृति साथै मृतात्मासँगको सम्बन्ध चियाउन सकिन्छ। त्यसरी नै जीवन विकास जथाभावी होइन, सिलसिलाबद्ध, सामाजिक र सांस्कृतिक क्रियाकलापहरू नियमबद्ध र सद्भावपूर्ण रहेको कुरा साकेलामा पाइन्छ।

मानव बाँच्नका लागि प्रकृतिका अवयव (घाम, पानी र पृथ्वी) साथै जीवजन्तु र वनस्पतिको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रस्ट पाइन्छ। यसबाहेक उनीहरूको विश्वास अदृश्य शक्ति आत्माप्रति पनि रहेको कुरा साकेलामार्फत थाहा लाग्छ। यसर्थ, किरात राईको जीवनमा साकेला सौन्दर्यको गहन अर्थ र महत्व छ।

प्रकाशित: २१ मंसिर २०७६ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App