७ वैशाख २०८१ शुक्रबार
समाज

लागूऔषधमा बालबालिका भरिया

वीरेन्द्रनगर – प्रतिबन्धित चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनी भरियाका रूपमा प्रयोग भएका थिए। उनीजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लाने) गर्दैगर्दा अर्का बालक पक्राउ परे। यसरी कर्णालीमा लागूऔषध कारोबार गर्ने गिरोहले बालबालिकालाई प्रयोग गर्दै आएको छ। चरेस, लागूऔषधि सहजै ओसारपसार गर्न सकिने हुँदा कारोबारीहरूले बालबालिकालाई प्रयोग गर्ने गरेका हुन्।

यस आर्थिक वर्षमा सुर्खेत, सल्यान र मुगुबाट एक÷एक जना बालक पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा २९ जना बालबालिका पक्राउ परेका थिए। त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा तीनजना बालक पक्राउ परेका थिए। प्रहरीका अनुसार १० देखि १६ वर्षसम्मका बालबालिकालाई लागूऔषध कारोबारीले भरियाका रूपमा प्रयोग गर्दै आएका छन्।

शंका र जाँच कम हुने हुँदा लागूऔषध कारोबारीले बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्दै आएका छन्। ‘पहिला कारोबारी आफैं लागूऔषध ओसारपसार गर्दै आउँथे,’ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिमिल्सेनाले भने, ‘प्रहरीको सक्रियतामा उनीहरू धमाधम पक्राउ पर्न थालेपछि बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्ने गरेका हुन्।’ क्रियाकलापका आधारमा अहिले बालबालिकालाई पनि जाँच गर्न थालेको उनको भनाइ छ।

चालू आर्थिक वर्षमा लागूऔषध ओसारपसारमा संलग्न भएको भन्दै ५४ जना पक्राउ गरेका छन्, जसमा महिला एक, बालबालिका तीन र पुरुष ५० जना छन्। आर्थिक वर्ष २०७५/०७६ मा एक सय ६६ जना र २०७४/०७५ मा ७२ जना पक्राउ परेका थिए। कर्णाली प्रदेशमा लागूऔषध नियन्त्रण गर्न प्रहरी विशेष अभियानका साथ लागेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिल्ले समय लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ।

सुर्खेतमा सबैभन्दा बढी लागूऔषध कारोबारी पक्राउ परेका छन्। सुर्खेतमा ३३, दैलेखमा चार, सल्यानमा तीन, रुकुम पश्चिममा पाँच र मुगुमा सातजना पक्राउ परेका छन्। जाजरकोट, डोल्पा, हुम्ला, कालीकोटमा लागूऔषध कारोबार हुने भए पनि प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सकेको छैन। ५४ जनामध्ये ३७ जनाविरुद्ध मुद्दा दर्ता गराएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लागूऔषध सेवन तथा कारोबारमा संलग्न हुने १० वर्षमुनिकालाई सजाय दिन मिल्दैन। १० देखि १६ वर्षसम्मका बालबालिकालाई सजाय तोकेर सुधारगृहमा राख्ने गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तिमिल्सेनाले जानकारी दिए।

‘नचिनेको मान्छेले बच्चालाई एक ठाउँबाट अर्काे ठाउँमा समान लिन पठाउँछन्,’ उनले भने, ‘पहिचान नगरी समान उठाउँदा त्यो लागूऔषध भएको देखिन्छ।’ यसरी पनि बालबालिका र महिलालाई लागूऔषध कारोबारीले प्रयोग गर्ने गरेका छन्। केहीलाई भने पैसाको लोभमा फसाएर भरिया बनाउने गरेका छन्।

भैरव युवा सशक्तीकरण केन्द्रका अध्यक्ष ललित भट्टराईले पछिल्लो समय बालबालिका लागूऔषध ओसारप्रसारप्रति आकर्षित हुँदै गएको बताए। ‘केही बालक आफैं सेवन गर्ने र भरियाका रूपमा काम गरेको देखिन्छ,’ उनले भने, ‘केही भने पैसा कमाउने उद्देश्य राखेर या दलदलमा फसेको देखिन्छ।’ स्थानीय सरकार र प्रशासन जवाफदेही भएर काम गर्नुपर्ने उनको भनाइ छ।

लागूऔषध कारोबारसम्बन्धी विद्यालयस्तरदेखि अभिभावसम्म अभियान सञ्चालन गर्नुपर्ने विद्यार्थी नेत्री तिर्सना हमालले बताइन्। उनका अनुसार लागूऔषध कारोबारमा बालबालिका प्रयोग गर्नु दुर्भाग्यपूर्ण हो। आर्थिक रूपले विपन्न, आबाबुबा नभएका बालबालिका यसमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ।

महिला तथा बालबालिकामा यसको चेतना फैलाउनुपर्ने अधिकारकर्मीहरू बताउँछन्। नचिनेको मान्छेले दिएको समानको पहिचान गर्नुपर्ने, यात्रा गर्दा आफ्नो समानको सुरक्षा गर्नु, अर्काले देखाएका लोभलालचमा नपर्नेजस्ता काम गर्दा पनि लागूऔषध कारोबारीबाट बच्न सकिने महिला अधिकारकर्मी मधुराणि ढकालले बताइन्। कानुनी ज्ञान नहुँदा पनि महिला तथा बालबालिका लागूऔषध कारोबारमा संलग्न भएको उनको भनाइ छ। यसका लागि जनचेतना फैलाउनुपर्ने उनले बताइन्।

बालबालिका पछि लागूऔषध कारोबारीले महिलालाई पनि प्रयोग गर्ने गरेका छन्। महिलामा हुने इमान्दारिताको फाइदा उठाउँदै उनीहरूले महिलालाई प्रयोग गर्ने गरेका छन्। चालू आर्थिक वर्षमा सुर्खेतकी एक महिला पक्राउ परेकी छिन्। गत आर्थिक वर्षमा २९ जना महिला पक्राउ परेका थिए।

प्रकाशित: २१ मंसिर २०७६ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App