४ वैशाख २०८१ मंगलबार
अर्थ

सबा दुई खर्ब निक्षेप

जनता बैंक ग्लोबल आइएमईसँग मर्ज भएपछि शुक्रबारदेखि एकीकृत कारोबारको सुरु गर्दै अर्थमन्त्री युवराज खतिखडा। तस्बिर : नागरिक

काठमाडौं – जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। यसको निक्षेप दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ। अन्य कुनै पनि वाणिज्य बैंकसँग यति ठूलो निक्षेप र पुँजी छैन।

जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहकका हिसाबले सबैभन्दा ठूलो बैंक भएको हो। नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार यी दुई बैंकले मर्ज भई ग्लोबल आइएई नामबाट एकीकृत कारोबार सुरु गरेका छन्। चालु आव ०७६/७७ को बजेटबाट सरकारले वाणिज्य बैंकलाई मर्जरमा जान प्रोत्साहित गरेपछि यी दुई वाणिज्य बैंक मर्ज भएका हुन्। ग्लोबलले अहिलेसम्म तीनवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनी मर्ज तथा प्राप्ति गरेको छ।

बैंक मर्ज भएर ठूलो हुँदा सेयर धनी, निक्षेपकर्ता, नियमनकारी निकाय र समग्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बैंकर बताउँछन्। ठूलो बैंक हुँदा लगानीकर्ता, बचतकर्ता र नियमनकारी निकायलाई फाइदा पुगेको पूर्वबैंकर शशिन जोशी बताउँछन्। अब ग्लोबल लगानीकर्ताका लागि पहिलाभन्दा धेरै मुनाफा दिन सक्षम हुने जोशीको धारणा छ। ‘बैंकको ठूलो जोखिम व्यवस्थापन गर्ने क्षमता बढ्छ,’ उनले भने, ‘यसले प्रतिफल बढाउँछ।’ धेरै बैंकलाई नियमन गर्नभन्दा मजबुत बैंकको नियमन गर्न राष्ट्र बैंकलाई पनि सहज हुने उनले बताए। बैंक मर्ज हुँदा प्रशासनिक खर्च कम हुने र पुँजी ठूलो हुँदा लगानीको दायरा फराकिलो पार्न सहज हुन्छ। अहिलेसम्म ठूला परियोजनामा धेरै बैंक मिलेर लगानी गर्नुपर्ने अवस्था थियो। पुँजी धेरै भएपछि ठूला परियोजनामा एउटा बैंक पनि लगानी गर्न सक्षम हुन्छ। मर्जरले बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि घट्ने विश्वास गरिएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै बैंकको सट्टा थोरै हुँदा अस्वस्थ प्रतिस्पर्धा घट्ने बताए। ‘अहिले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै छ,’ ढुंगानाले भने, ‘१८ वटा संस्था मर्ज भएर एउटा हुनु सुखद पक्ष हो।

जनता बैंक मर्ज भएपछि ग्लोबल आइएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहक संख्याका हिसाबले मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ।

दुई वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजी २४ अर्ब (चुक्ता पुँजी र सञ्चित कोष) , निक्षेप दुई सय १३ अर्ब, कर्जा लगानी एक सय ९४ अर्ब रुपैयाँ पुगेको छ। बैंकका शाखा तथा सेवा केन्द्र आठ सय ४० पुगेको छ। एटिएम सेवा दुई सय ५९ शाखामा पुगेको छ। ग्राहक संख्या पनि २० लाख बढी पुगेको छ। मुलुकमा २८ वटा वाणिज्य बैंक थिए। ग्लोबल र जनता मर्जसँगै वाणिज्य बैंकको संख्या २७ मा झरेको छ।

मर्जर हुँदा प्रतिस्पर्धी बजारमा समय अनुकूल छिटोछरितो सेवा दिन पनि बैंक सक्षम हुने सञ्चालक बताउँछन्। एकीकृत कारोबारले ग्लोबल थप गुणस्तरीय र भरपर्दो सेवा दिन सक्षम भएको अध्यक्ष चन्द्र ढकालले बताए। ‘मर्जरबाट मुुलुककै ठूलो बैंक भएपछि उत्साह थपिएको छ,’ उनले भने, ‘यसले मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पु-याउँछ।’ मर्जरपछि प्रतिस्पर्धात्मक क्षमताको विकास भएको उनले बताए। ‘सरकारको नीतिलाई सघाउन मर्जरमा गएका हौं’ ढकालले भने, ‘भरपर्दो बैंकिङ सेवाका लागि सक्षम, कुशल, सुरक्षित र सुशासित बैंक निर्माण गरेका छौं।’

ग्लोबल आइएमई बैंक र जनता बैंकको एकीकृत कारोबार शुभारम्भ गरेपछि अर्थमन्त्री युवराज खतिवडाले बैंक मर्ज हुँदा लगानी क्षमता बढ्ने बताए। बैंकको पुँजी ठूलो भएपछि ठूला पूर्वाधार आयोजनामा लगानी गर्न सक्ने उनले बताए। ‘एउटै बैंकमा १०औं अर्ब पुँजी लगानी गर्न सक्ने क्षमता बढेको छ,’ उनले भने, ‘पुँजी परिचलान गरेर आर्थिक वृद्धिमा सघाउनु पर्छ।’ अर्थमन्त्री खतिवडाले सरकारले लिएको मर्जर नीतिलाई सघाउन अरु बैंकलाई पनि आग्रह गरे। उनले अरु बैंकलाई पनि जति सक्दो चाँडो मर्ज भएर ठूलो हुन सल्लाह दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले ग्लोबल र जनता दुई बैंकको मर्जरले अरु बैंकलाई पनि मर्जमा जान प्रेरित गरेको बताए। ‘केही बैंक मर्जर प्रक्रियामा छन्,’ उनले भने, ‘उत्साहित भएर मर्जर हुन हाम्रो आग्रह छ।’ उनले राष्ट्र बैंकले धेरै अध्ययन अनुसन्धान गरेर बैंकहरूलाई मर्जरमा जान प्रोत्साहित गरेकाले यसले सबैलाई फाइदा पुग्ने धारणा राखे। बैंकहरुले अब डिजिटलाइजेसनमा खर्च बढाउनुपर्ने पनि नेपालले बताए। उद्योगी व्यवसायीले बैंकको ब्याज चर्को भएको भन्दै आलोचना गरेका प्रति लक्षित गर्दै गर्भनर नेपाले भने, ‘उद्योगी व्यवसायी बैंकमा हुनुहुन्छ। बैंकरहरु व्यवसायमा पनि हुनुहुन्छ। राष्ट्र बैंकप्रति प्रश्न उठाउँदा आफ्नो भूमिका पनि सम्झनुहोस्।’

बैंक ठूलो भएपछि ठूला परियोजनामा लगानी गर्न सक्षम हुने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए। ‘पूर्वाधार परियोजनामा लगानी गर्ने बैंकको क्षमता बढेको छ,’ उनले भने, ‘मर्जरले व्यवसाय विस्तारमा पनि सघाउ पुग्छ।’ बैंकले साना, मझौला र कृषि उद्यमीलाई पनि लगानी गर्नुपर्ने उनले बताए। ‘उत्पादन र उत्पादकत्व बढाउन बैंकले सघाउनु पर्छ,’ उनले भने। बजारमा तरलताको अभाव देखिने गरेकाले यो विषयमा राष्ट्र बैंक र बैंकहरु गम्भीर हुनुपर्ने उनले बताए।

निजी क्षेत्रका उद्योगी व्यवसायीले बैंक ठूलो हुनु सकरात्मक भएको औंल्याउँदै बैंकको ब्याजदर स्थिर हुनुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकको पुँजी बढ्दा लगानीका लागि सहज हुने बताए। उनले बैंकहरुलाई फोर्स मर्जरमा लैजान नहुने धारणा पनि राखे। बैंकहरुको ब्याज धेरै भएकाले कटौती गर्नुपर्ने उनको सुझाव थियो।

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले मर्जरले ठूला उद्योगमा लगानी गर्ने क्षमता बढेको बताए। बैंक ठूलो भएपछि जोखिम बढ्ने भएकाले व्यवस्थापनमा ध्यान दिन उनले सुझाए। यसले अरु वित्तीय संस्थालाई पनि मर्जरमा जान प्रेरणा मिल्ने उनले बताए।

प्रकाशित: २१ मंसिर २०७६ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App