७ वैशाख २०८१ शुक्रबार
खेल

कबाडी पेस्तोलले खेलाडीलाई धोका

खेल्दाखेल्दै बीचमा पेस्तोलले धोका दिएपछि टोलाउँदै सुटिङ खेलाडी श्रेया केसी। तस्बरिःनागरिक

ललितपुर – निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन। बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो। तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यति बेलासम्म ढिलो भइसकेको थियो। फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भयो। अनि उनको मनमा पनि सन्नाटा छायो। खेललाई नै जीवन अर्पण गरेकी श्रेया यसबारेमा बोल्न चाहिनन्। उनी हतियारबाट छोका पाएपछि खेलस्थलमा नै छटपटाइरहिन्। अन्य देशका खेलाडी सुट गरिहेका थिए। उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन्।

वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बेइज्जती नगरौं बरु खेल्न नै छाडौुं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे। फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारण उनले खेल छाड्नुप-यो।

बीचमै हतियारले काम गर्न छाडेपछि बाँकी १४ गोली प्रहार गर्न नपाई समय सकियो। निकै अनुनयपछि मुख्य जुरी इस्लामले श्रेयालाई ३ मिनेट परीक्षणकाल र ७ मिनेटमा बाँकी १४ गोली प्रहार गर्न निर्देशन दिए। तर उनीसँग हतियार भएन। सहभागी अन्य राष्ट्रका खेलाडीले पेस्तोल त दिए तर जुरीले त्यस पेस्तोलको विवरण नपुगेको भन्दै प्रयोग गर्न नपाउने जनाए। यसपछि नेपालकै २५ मिटर -यापिड फायर पेस्तोलमा भिड्ने विपेशले आफ्नो पेस्तोलको विवरण बुझाएपछि जुरीले श्रेयाको समय सुरु गरे। अब श्रेयाले ७ मिनेटमा १४ गोली प्रहार गर्नुपर्ने भयो, त्यो पनि २५ मिटरमा खेल्ने पेस्तोलले १० मिटरमा खेल्नुपर्ने चुनौतीबीच।

उनले हतारहतार प्रहार गरिन् तर टार्गेटमा लागेन। तनाबबीच लागोस् पनि कसरी। उनी थप अंक ल्याउन असफल भइन्। सोही चरण पार गर्न उनलाई अंक पर्याप्त भएन। ४० गोली हान्दासम्म चौथो स्थानमा भएकी श्रेया अन्तिममा ५ सय ३३ अंकका साथ सातौं स्थानमा रहिन्।

जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई काम नलाग्ने सेकेन्ड ह्यान्ड सामग्री दिएकाले यस्तो अवस्था आएको आरोप सुटिङ संघले लगाएको छ। श्रेयालाई हतियारले धोका दिएपछि सुटिङ संघका क्रुद्ध एक पदाधिकारीले भने, ‘यसअघि पनि हामीलाई धोका भएको थियो। आज पनि यस्तै भयो। अब यो पेस्तोल प्रतियोगितापछि फालिदिन्छु।’

जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले एउटै इभेन्टमा एकै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ। खेललाई नै जीवन समर्पण गरेका खेलाडीको सपना जिम्मेवार निकायको गल्तीले यसरी टुंगिनु दुःखदायी भएको सुटिङ संघका अधिकारीको गुनासो छ।

१०, २५ र ५० मिटरको रेन्जमा प्रतिस्पर्धा हुने यो खेलका लागि नेपाली खेलाडीसँग कुनै हतियार नै छैनन्। नेपाल सुटिङ संघसँग चारवटा मात्र पेस्तोल छन्, ती पनि करिब १० वर्ष अगाडिका। हतियार नभएको जानकारीसहित उपलब्ध गराउन आग्रह गर्दा खेलकुद परिषद्ले चासो नदेखाएको संघका अध्यक्ष पुुष्पदास श्रेष्ठले बताए।

सागमा सहभागिताका लागि राखेपले हामीलाई ३ लाख ५० हजार रुपैयाँ दिएको छ। चीन सरकारको सहयोगमा खेलस्थल निर्माण भइरहेको छ,ु अध्यक्ष श्रेष्ठले भने, ुनयाँ भवनमा बिजुलीको भोल्टेज पटकपटक तलमाथि भइरहेको छ। त्यसो हुँदा खेलाडीले खेलिरहेको अवस्थामा डिस्प्लेमा अंक झर्छ। खेलाडीलाई मर्का पर्ने भएकाले हामीले प्रतियोगिता सञ्चालन अवधिभर ब्याकअपबाट बिजुली आपूर्ति गरिरहेका छौं। दिनमा २ सय ५० लिटर डिजेल चाहिन्छ तर बजेट थोरै छ।

बैठकमा खेलकुद परिषद्का सदस्यसचिवले सामानबिना रोकिनुनपर्ने आश्वासन दिएको बताउँदै श्रेष्ठले भने, खेल सञ्चालन भएको दिन मात्र खेलाडीको पोसाक र हतियार चेक गर्ने सामान आए। ती पनि राम्रो अवस्थामा थिएनन्। नयाँ भनिए पनि केहीमा दाग थियो त केहीमा ब्याट्री नै थिएन। मर्मत गरेर काम चलाउने कोसिस गरेका छौं।

सुटिङतर्फ २५ मिटर स्पोर्टस पेस्तोल, सेन्टर फायर पेस्तोल र ५० मिटरको थ्री पोजिसन राइफल गरी तीन विधामा नेपालले दुई दशकपछि प्रतिस्पर्धा गरेको हो। नेपालमा सन् १९९९ मा आयोजित सागपछि कुनै पनि संस्करणमा यी तीनै विधामा नेपाली खेलाडीले भाग लिएका थिएनन्।

२० वर्ष पुरानो पेस्तोलको भरमा प्रतिस्पर्धा गर्नुपर्दा समस्या भइरहेको खेलाडी बताउँछन्। चीनले सुटिङ रेन्ज नयाँ बनाइदिएको छ। तर हतियार र गोली भने पुरानै छन्। पेस्तोल हान्दा बीचैमा गोली बिग्रने र जाम हुने गरेको खेलाडीको गुनासो छ।

जारी सागमा स्पर्धा गरिरहेका खेलाडी बदरुद्दिन अन्सारीले सरकारले सुटिङमा प्रयोग हुने सामग्रीलाई पनि हतियारकै रुपमा सूचीकृत गरेका कारण समस्या भएको बताए। खेल सामग्रीलाई पनि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत समेटेका कारण नयाँ पेस्तोल र राइफल खरिद गर्न समस्या हुँदा पुरानो बन्दुक प्रयोग गर्नुपरेको उनको भनाइ छ। ‘सागको मिति निश्चित नै थियो। तर सम्बन्धित निकायले यसबारे कुनै चासो दिएनन्,’ अन्सारीले भने।

प्रकाशित: २१ मंसिर २०७६ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App