८ वैशाख २०८१ शनिबार
समाज

उदयपुर अस्पताल अस्तव्यस्त, ‘अस्पताल बचाऊ’ अभियान चलाउदै युवा

अव्यवस्थित भएको जनगुनासोपछि निरीक्षण गर्न पुगेको युवा जमात अस्पतालको औषधि बिक्रीकक्षमा सोधपुछ गर्दै। तस्बिरःमहेश्वर

उदयपुर- आधा दशकअघि ५० शैय्यामा स्तरोन्नति गरिएको भौतिक पूर्वाधारयुक्त उदयपुर जिल्ला अस्पताल पछिल्लो समय अस्तव्यस्त भएर ‘रिफर सेन्टर’ मा परिणत भएको भन्दै जिल्लावासीबाट व्यापक जनगुनासो आएपछि युवाहरुले ‘अस्पताल बचाऊ’ अभियान थाल्ने भएका छन्। दरबन्दी अनुसार चिकित्सक अभाव, प्रशासनिक लापरवाही र सेवा प्रवाह प्रभावकारी नभएको तथा व्यवस्थापकीय कमजोरीप्रति चरम असन्तुष्टि बढेपछि जिल्लाका सरोकारवाला युवाहरुको समूह अस्पतालको साख फर्काउँदै स्तरोन्नतिका लागि अभियान चलाउने निश्कर्षमा पुगेका हुन्।

५० शैय्याको अस्पताललाई सेवाग्राहीमैत्री बनाउँदै आउदो वर्ष दिनभित्र १ सय शैय्याको बनाउने उदेश्यले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन अभियान चलाउन लागेको गाईघाटका स्थानीय युवा तथा नेकपाका नेता किरण राईले बताए। अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय प्रवक्तासमेत रहेका राई अघिल्लो दिन दर्जन खेलाडी तथा स्थानीय युवा सम्मिलित सर्वपक्षीय टोलीको अगुवाई गर्दै अस्पतालको स्थलगत अवलोकन गर्न पुगेका थिए। अवलोकनको क्रममा अस्पताल व्यवस्थापनमा चरम लापरवाही भएको भन्दै सरोकारवाला व्यक्ति र निकायको ध्यान खिच्न अस्पताल बचाऊ अभियान थाल्न लागेको उनले बताए।

जिल्लावासीले अस्पतालको बारेमा धेरै गुनासो र असन्तुष्टि जनाएको सुनेपछि बुझ्न भनेर युवाहरुसहित अस्पताल पुग्दा जताततै चरम लापरवाही देखिएको उनले बताए। अस्पतालका बेड, शौचालय, अस्पताल परिसर, वार्डहरु र औषधि कक्षसमेत फोहोरले भरिएको र अस्तव्यस्त पाइएको उनले बताए। अस्पताल जस्तो बिरामीलाई संजिवनी दिने उपचार स्थलको यस्तो हालत कसरी भयो भन्ने विषयमा सरोकारवाला निकाय र व्यक्ति जिम्मेवार हुनुपर्ने निश्कर्ष आफुले निकालेको राईले बताए। ५० शैय्यामा स्तरोन्नति गर्ने योजनासँगै सुविधासम्पन्न भवन, डिजिटल एक्स–रे मेसिनलगायत आधुनिक यन्त्र तथा उपकरणहरुले सुसज्जित अस्पतालमा व्यवस्थापकीय कमजोरीकै कारण चरम लापरवाही देखिएको उनले बताए।

‘जिल्ला अस्पतालबाट उपचार सेवा नपाएको भन्ने जनगुनासो व्यापक आएको धेरै भयो’ राईले भने ‘धेरै पटक गुनासो आएपछि हेरुँ न त भनेर केही युवा साथीहरुलाई लिएर अस्पताल पुग्दा कहाली लाग्दो अवस्था देखेर छक्क परियो।’ राईले अस्पतालका शैय्याहरु फोहोर र माकुराको जालीले भरिएको, जताभावी फोहोर फालेको, सरसफाई कर्मचारी भए पनि जताततै फोहोर फालिएको, शौचालयहरु महिनौदेखि सफा नगरिएको, धारा खुल्ला राखेर पानी बग्दै गरेकोजस्ता समस्या देखिएको बताए। सरकारी सम्पत्तिको चरम दुरुपयोग र लापरवाही गरेको उदाहरण जिल्ला अस्पतालमा देखेको भन्दै नेता राईले यस्तो अव्यवस्था तत्काल हटाएर अस्पताल सुधार गर्ने अभियानमा लामबद्ध हुन जिल्लवासीलाई आग्रह गरेका छन्।

युवाहरुको टोलीले सरकारले बिभिन्न ७२ प्रकारका औषधि नि:शूल्क वितरण गर्ने गरेको घोषणा अनुसार औषधि नपाइएको पनि पत्ता लगाएको छ। निरीक्षणका क्रममा नि:शूल्क पाइने औषधि २६ प्रकारका मात्र अस्पतालमा मौज्दा रहेको पाएको जनाइएको छ। अस्पताको अनुगमनपछि टोलीले प्रशासन प्रमुख बृखबहादुर खत्री, मेडिकल सुपरिटेण्डेन्ट र डाक्टर तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुसँग अस्पतालको हालतको विषयमा जिज्ञाशा राखेको थियो।

उनीहरुले स्थानीय तह पुनर्संरचनापछि अस्पताललाई केही समय स्थानीय सरकार मातहत राखिएको र केही समयपछि प्रदेश मातहतमा ल्याइएपछि यस्तो समस्या निम्तिएको जवाफ दिएका थिए। अस्पतालमा छिटोछिटो प्रमुख चिकित्सकहरु सरुवा हुने तथा व्यवस्थापकीय नेतृत्व हेरफेरले पनि कमजोरी भएर पछिल्लो समय अस्पताल बेथितिको भुमरीमा पर्न गएको अस्पतालका जिम्मेवारहरुले बताएको टोलीमा सहभागी युवाहरुले बताएका छन्।

जिल्लाका ४ नगर र ४ गाउँपालिकामध्ये सदरमुकाम त्रियुगा नगरपालिकामा रहेको जिल्ला अस्पतालजस्तो संवेदनसिल स्वास्थ्य संस्थाको यस्तो हविगत हुनुमा अस्पताल विकास समिति, स्थानीय सरकार र सरोकारवाला निकाय सबैको उत्तिकै गैरजिम्मेवारीपन रहेको निश्कर्ष युवा टोलीले निकालेको छ। सदरमुकाम गाईघाटमा नीजि लगानीका अस्पतालहरु जताततै खुल्ने क्रमसँगै ओजेलिदै गएको ५० शैय्याको अस्पताललाई पूर्ण रुपमा सेवामैत्री बनाउँ अस्पताल व्यवस्थापन समिति र स्थानीय सरकार त्रियुगा नगरपालिकाको ध्यानाकर्षण गराइएको नेता राईले बताए।

उनले अस्पताललाई तत्काल सेवामैत्री बनाउँदै पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा छिट्टै १ सय शैय्यामा स्तरोन्नति गर्नेगरी अभियान थाल्न सशक्त टोली बनाएर लागी पर्ने अठोट लिएको बताएका छन्। त्यसका लागि अस्पताल विकास समिति अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख खड्ग परियार र स्थानीय सरकार त्रियुगा नगरप्रमुख बलदेव चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउने तथा अस्पतालको पुनर्संचालन र विकासका लागि सरोकारवाला व्यक्ति र निकाय प्रमुखहरुसँग सर्वपक्षीय व्यापक अन्तरक्रिया गर्ने उनको भनाइ छ।


    

प्रकाशित: २० मंसिर २०७६ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App