coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आक्रमण मुद्दा दर्ता नभएको आरोप

वीरगन्ज – वीरगन्जको नगरसभागृह ‘लिज’ प्रकरणमा अनियमितता भएको आवाज उठाएपछि भौतिक आक्रमणमा परेका नेपाली कांग्रेस प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले सो घटनाको मुद्दा प्रहरीले अहिलेसम्म दर्ता नगरेको आरोप लगाएका छन्। कांग्रेसकै वीरगन्ज महानगरपालिका समिति सभापति भोला कलवारले आफूमाथि आक्रमण गरेर घाइते बनाएपछि आफूले घाउँजाँचको कागजसमेत प्रहरीलाई बुझाइसकेको उनले बताए। यता घटनामा आफूलाई समेत सांसद शर्माले कुटपिट गरेको सभापति कलवारले बताएका थिए।

सभापति कलवार सम्पर्कमा आउन नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले आफ्ना व्यावसायिक साझेदारसँग मिली वीरगन्ज महानगरपालिका स्वामित्वको नगरसभागृह २२ वर्षका लागि लिजमा लिई सञ्चालन गर्दै आएका छन्। वीरगन्जको आदर्श नगरको चिया पसलमा मंसिर ४ गते बिहान प्रदेश सांसद शर्मा र कलवारबिच नगर सभागृह विषयमा विवाद सुरु भएको थियो। विवाद चर्किएर हानाहान भएको थियो। सांसद शर्मा र नगर सभापति कलवार दुवैजनाको नारायणी अस्पतालमा उपचार भएको थियो।

महानगरले नगर सभागृह निजी तबरमा सञ्चालनका लागि दिएको ठेक्कामा अनियमितता भएको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। महानगरसँग अख्तियारले सोसम्बन्धी कागजात र फाइलसमेत मागेको छ। सांसद शर्माले नगर सभागृह नगरवासीको साझा धरोहर भएकाले त्यसलाई व्यक्तिलाई सञ्चालनका लागि दिनु अनुपयुक्त भएको टिप्पणी गरेपछि कलवार उनीप्रति रुष्ट भएका थिए। ‘नगर सभागृह नगरवासीको साझा धरोहर हो, त्यहाँ सामुदायिक विद्यालयका विद्यार्थीले कार्यक्रम गर्थे, सांगीतिक र नाट्य समूहले अभ्यास गर्थे। सभासमारोह र गोष्ठी हुन्थे,’ सांसद शर्माले भने, ‘अहिले मात्र ७ लाख रुपैयाँ वार्षिक शुल्कमा २२ वर्षका लागि व्यक्तिको स्वामित्वमा दिइएको छ, सहरको एक मात्र रंगमञ्चसहितको सभागृह अहिले ‘होटेल तथा पार्टी प्यालेस’भनेर सञ्चालन गरिएको छ, यो गलत हो।’

अहिले मात्र ७ लाख रुपैयाँ वार्षिक शुल्कमा २२ वर्षका लागि व्यक्तिको स्वामित्वमा दिइएको छ। सहरको एक मात्र रंगमञ्चसहितको सो सभागृह अहिले ‘होटेल तथा पार्टी प्यालेस’भनेर सञ्चालन गरिएको छ।

आफूले पहिलेदेखि उठाएको यहीँ विषय अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा समेत राखेपछि अख्तियारले छानबिन थालेको उनले बताए। त्यसै रिसिइबीमा आक्रमण भएको उनको दाबी छ। ‘सांसदमाथि आक्रमण हुँदा सुनुवाइ छैन, आममानिसले गलत कार्यविरुद्ध बोल्न कसरी आँट गर्लान् ?’ यस प्रकरणलाई उनले सहरको शान्ति सुरक्षासँग जोड्दै भने, ‘प्रहरी उपरीक्षक (एसपी) मुद्दा दर्ता भएको भन्छन् तर दर्ता नम्बर माग्दा दिँदैनन्।’

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मुद्दा दर्ता गरिसको दाबी गरे। ‘त्यस विषयमा मुद्दा दर्ता भइसकेको छ,’ प्रहरी उपरीक्षक राठौरले नागरिकसित भने, ‘उहाँ (शर्मा)ले फोन गर्दा कहिले म बाहिर हुने। म यहाँ अफिसमा हुँदा उहाँसँग सम्पर्क नहुने भएकाले दर्ता नम्बर दिन सकिएको छैन।’ प्रदेशसभा सांसद शर्मा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।

केही वर्षअगाडि घडिअर्वा पोखरीनजिक गोली लागेर कलवार घाइते भएका थिए। आफैले बोकेको बन्दुक पड्केर उनी घाइते भएको भनी हल्ला चले पनि आपराधिक समूहले निसाना बनाएको उनले आरोप लगाएका थिए। सो घटनादेखि चर्चामा आएका कलवार पछिल्लो समय कांग्रेसका पर्सा सभापति अजयकुमार द्विवेदीको खास व्यक्तिको रूपमा चिनिँदै आएका छन्। राजनीतिमा द्विवेदी र शर्मा दुवै एउटै खेमामा गनिन्छन्। अहिले द्विवेदीले यस विषयलाई छलफलबाट टुंग्याउन प्रस्ताव गरे पनि आफूले त्यो सम्भव नभएको बताएको सांसद शर्माले जनाए। ‘दुवैजना पार्टीका जिम्मेवार व्यक्ति हुन्। त्यसकारण यसलाई छलफल गराएर टुंग्याउने प्रयास गरिँदै छ,’ नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेलले भने।

प्रकाशित: २० मंसिर २०७६ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App